स्थायी कमिटी बैठकमा उपस्थित हुन ‘फेस सेभिङ’ खोज्दै ओली-Sutra News

स्थायी कमिटी बैठकमा उपस्थित हुन ‘फेस सेभिङ’ खोज्दै ओली

मंगलबार, २३ मंसिर २०७७

मंगलबार, २३ मंसिर २०७७

सत्तासीन दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा उपस्थित हुन ‘फेस सेभिङ’को बाटो रोजेका छन् ।



आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पत्र पठाएर आफू उपस्थित नहुने जानकारी दिएका ओलीले आफूनिकट नेताहरूसँग ‘पार्टीमा देखिएको संकट’ विषयक कार्यसूचीका आधारमा २८ गतेका लागि तय गरिएको अर्को बैठकमा उपस्थित हुने संकेत दिएका हुन् ।

आइतबार ओलीले पत्र लेख्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘आरोपपत्र’का बारेमा छलफल हुने बैठकमा आफू उपस्थित नहुने जानकारी गराएका थिए । तर, बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमाथि छलफल गर्ने नभई पार्टीको संकट समाधानका निम्ति छलफल गरिने कार्यसूची तय गरेपछि ओलीले बैठकमा उपस्थित हुने संकेत गरेका हुन् ।

नेकपा संसदीय दलका उपनेता तथा ओलीनिकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले ओली बैठकमा उपस्थित हुने आधार तयार भएको प्रतिक्रिया दिए ।

सोमबार केही सञ्चारकर्मीहरूसँग संसदीय दलस्थित आफ्नो कार्यालयमा कुरा गर्दै नेम्वाङले ओली २८ गते बोलाइएको स्थायी कमिटी बैठकमा उपस्थित हुने संकेत गरेको जानकारी दिए । ‘दुई अध्यक्षबीच लामो समयसम्म संवादहीनता थियो, अहिले त्यो तोडिएको अवस्था छ,’ नेम्वाङले भने, ‘गत शुक्रबार दुई अध्यक्षबीच टेलिफोन भयो । ल न त भोलि सचिवालय बैठक हो । त्यसको पूर्वसन्ध्यामा अध्यक्षहरूबीच कुराकानी हुने हाम्रो पुरानो अभ्यास पनि हो भनेर दुवै अध्यक्षले हार्दिकतापूर्वक कुराकानी गर्नुभयो ।’

करीब एक महिनायता ओली र प्रचण्डबीच कुनै कुराकानी हुन सकेको थिएन । शुक्रबार साँझ भएको टेलिफोन वार्ता नै पार्टीको समस्या हल गर्न निर्णायक विषय बनेको आफूलाई लागेको नेम्वाङको कथन छ ।

छलफल गरौँ, बालुवाटार आउनुस् कमरेड !

टेलिफोन वार्तामा ओलीले सचिवालय बैठक बस्नुअघि एकाध घण्टा छलफल गरौँ न त भनेर प्रचण्डलाई बालुवाटार डाकेका थिए । शनिबार अपराह्न १ बजेका लागि सचिवालय बैठक डाकिएको थियो । त्यसअघि ११ बजे नै ओलीले प्रचण्डलाई बालुवाटार आउन आग्रह गरे ।

तर, प्रचण्ड शनिबार सवा १२ बजेतिर मात्र बालुवाटार छिरे । ‘प्रचण्डपत्नी सीता दाहाल लड्नुभएछ र निधारमा चोट लागेको रहेछ,’ प्रचण्ड बालुवाटार छिर्न ढिला हुनुको कारण बताउँदै स्रोतले सूत्रन्यूजसँग भन्यो, ‘उहाँलाई अस्पताल लगेर टाँका लगाउनुपर्ने भएकाले प्रचण्ड ढिला हुनुभएको हो । नत्र अध्यक्षद्वयबीच २ घण्टाजति कुराकानी हुने थियो ।’

शनिबारको सचिवालय बैठकअघि दुई अध्यक्षबीच आधा घण्टाजति कुराकानी भएको थियो । राजनीतिक वृत्तमा ओली र प्रचण्डबीच कुनै सहमति भइसकेको र सचिवालय बैठकमा उक्त सहमति प्रस्तुत गर्ने र विवाद समाधान हुने विषयमा चर्चा पनि चल्यो ।

तर, सधैंझैँ सचिवालयमा ओली र प्रचण्डबीच मतान्तर भने कायमै रह्यो । प्रचण्डले दुवै अध्यक्षद्वारा सचिवालयमा प्रस्तुत गरिएको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल हुने अडान लिए भने ओलीले स्थायी कमिटी बैठक आवश्यक नै नभएको टिप्पणी गरेका थिए । स्रोतहरूका अनुसार ओलीले स्थायी कमिटी बैठकलाई ‘रत्यौली’को संज्ञासमेत दिएका थिए ।

स्रोत भन्छ– ‘आइतबार स्थायी कमिटी बैठकअघि पनि ओली र प्रचण्डबीच फोनमा कुराकानी भएको थियो । ओलीले राजनीतिक कारणबाट आफू उपस्थित हुन नसक्ने जनाउ प्रचण्डलाई दिएका थिए ।’

‘बैठकबाट भाग्ने मेरो मनसाय होइन कमरेड,’ ओलीले प्रचण्डसँग गरेको कुरालाई उदृत गर्दै स्रोतले भन्यो , ‘तर तपाईंले प्रस्तुत गरेको प्रस्तावलाई मैले सार्वजनिक रूपमै आरोपपत्रको संज्ञा दिएको छु । त्यसमाथि हुने छलफलमा म राजनीतिक कारणले पनि उपस्थित हुन मिल्दैन । तपाईंहरू बैठक बस्नुस् र मलाई पनि बैठकमा उपस्थित हुन मिल्ने तरिकाले कार्यसूची तय गर्नुस् ।’

ओलीलाई बैठकमा उपस्थित गराउने प्रचण्डको ग्रीन सिग्नल !

ओलीसँगको सल्लाहकै आधारमा प्रचण्डले स्थायी कमिटीको बैठकमा कार्यसूचीका रूपमा ‘प्रतिवेदनमाथिको छलफल’लाई हटाएर ‘पार्टीको संकट समाधान’ भन्ने राखे । स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले ओलीनिकट मानिने महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग केही भलाकुसारी गरेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओलीनिकट मानिने स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘ओली बैठकमा उपस्थित हुने राजनीतिक आधार तयार भएको छ । स्थायी कमिटी बैठकमा पार्टीको संकट समाधान भन्ने कार्यसूची राखेपछि ओली अबको २८ गते बस्ने बैठकमा उपस्थित हुनुहुन्छ ।’

फेससेभिङको फण्डा !

प्रचण्ड–नेपाल समूहले ओली र प्रचण्ड दुवैद्वारा सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनमाथि छलफल गराएर बहुमतका आधारमा प्रचण्डको प्रतिवेदन पास गर्ने र ओलीको प्रतिवेदन गलत रहेको निष्कर्ष निकाल्ने तयारी रहेको बताउने गरेको छ ।

नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सूत्रन्यूजसँग भने, ‘ओली पार्टीभित्र कमजोर बनेको अवस्था रहेको छ । उनी बैठकमा आएनन् भनेपनि बैठकले एउटा निर्णय गरेर अघि बढ्छ । तर उनी आउनु उनकै लागि हीतकर छ । जसरी कार्यसूचीलाई मुख्य मुद्दा बनाएर उनी बैठकमा उपस्थित हुन्न भन्दै पत्र पठाए, त्यो पत्रमा पनि दम्भ नै देखिएको छ ।’
उनले बैठकले ओलीलाई कारवाही गर्ने संकेत गरे । ’पार्टीका निर्णय नमान्ने, अहं र दम्भका आधारमा पार्टी र सरकार चलाउन खोज्ने, मै राज्य हुँ र राज्य नै मै हो भन्ने खालको व्यवहार गर्ने जस्ता उनका जतिपनि अहंकार छन्, त्यसको उपचार स्थायी र केन्द्रीय कमिटी बैठकले त गर्छ नै ।’

पार्टीमा कमजोर बन्दै ओली !

ओली पक्षले पछिल्लो समय सहमतिको सम्भावना बढ्दै गएको बताउने गरे पनि प्रचण्ड–नेपाल पक्षका नेताहरू त्यसलाई मान्न तयार छैनन् । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने प्रचण्ड–नेपाल पक्षका नेताहरूको तयारी छ ।

ओलीले आइतबार स्थायी कमिटी बैठकका नेताहरूलाई सम्बोधन गर्दै लेखेको पत्रमा ‘स्थायी कमिटीले विवेकसम्मत निर्णय लिने’मा आफू आश्वस्त रहेको उल्लेख छ । ओलीकै शब्दमा ‘हुल्लडबाज’ र ‘रत्यौली’ मानिने स्थायी कमिटी बैठकले निर्णयमाथि ओली किन आश्वस्त हुन खोजे त ? यो प्रश्नको जवाफमा ओलीनिकट एक नेता भन्छन्, ‘ओली कमरेड विधि र पद्धतिको पक्षमा हुनुहुन्छ । उहाँको आफ्नो स्वभाव जे–जस्तो भएपनि कमिटीले गर्ने निर्णय सही हुनेछ भन्ने मान्यता राख्नुहुन्छ । हुल्लडबाज र रत्यौली भन्ने शब्द त उहाँले भनेको मैले सुनेको छैन । बाहिर मिडियाले हल्ला चलाइरहेका छन् ।’ ती नेताले घुमाउरो पारामा पार्टीमा ओली कमजोर बन्दै गएको स्वीकारे ।

‘बहुमत ओलीविरुद्ध छ र यो सबैले देखेको कुरा हो,’ उनले भने, ‘तर पनि ओलीले आँटेर नै एकता भएको हो । एकताअघि उहाँ ठूलो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन माओवादी केन्द्रको हैसियत के थियो, सबैले देखेको कुरा हो । अहिले समीकरण बनाएर उहाँविरुद्ध बहुमतको अस्त्र प्रयोग हुने स्थिति आएको छ । त्यसको सामना गर्न धेरै हतियार तयार छन् तर बैठकबाट भाग्नुहुन्न र सबै समाधान पार्टी कमिटीले नै गर्ला भन्नेमा उहाँ दृढ हुनुहुन्छ ।’

होला त ओलीमाथि कारवाही ?

130157059_707822583176298_1412189327377512998_n.jpg

गत शुक्रबार राजधानीस्थित थापाथली क्याम्पसमा प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरूको एउटा कार्यक्रम आयोजना गरियो । उक्त भेलामा प्रचण्डनिकट मानिने स्थायी कमिटी सदस्य पम्फा भुसाल र वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य उपस्थित भएका थिए ।

भेलामा बोल्दै शाक्यले ओलीमाथि केन्द्रीय कमिटीले कारवाही गर्नसक्ने बताएकी थिइन् । ‘बैठकमै उपस्थित नहुने, पार्टीलाई अपमान गर्ने, दम्भ र अहंकारले पार्टी र सरकार चलाउन खोज्नेमाथि कारवाही नभए कोमाथि कारवाही हुन्छ त ?’ आक्रोशपूर्ण मन्तव्यमा शाक्यले ओलीमाथि कारवाही हुने संकेत दिइन् ।

त्यस्तै, भुसालले सकेसम्म सहमति र कसै नभए बहुमतका आधारमा निर्णय गर्न पार्टी कमिटी स्वतन्त्र भएको प्रतिक्रिया दिएकी थिइन् ।

प्रचण्ड–नेपाल समूहका कतिपय नेताहरूले ओलीलाई कारवाही गरेर पार्टी अध्यक्षबाट हटाउन सकिने टिप्पणी गरेका छन् । नेपालनिकट मानिने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘पार्टी विधानको धारा ६० मा बहुमतले निर्णय गर्न सक्ने व्यवस्था उल्लेख छ । त्यही विधि र पद्धति हो । हामी त्यही अनुसार अघि बढ्छौं ।’

प्रचण्ड–नेपाल पक्षका नेताहरूले दिने यी र यस्तै अभिव्यक्तिका कारण यतिबेला बालुवाटार सशंकित देखिन्छ । आफूमाथि कारवाही हुने भय ओलीमा पनि देखिन्छ । उनले स्थायी कमिटी बैठकमा पठाएको पत्रमा ‘स्थायी कमिटी बैठकले विवेकपूर्ण निर्णय लिनेछ’ भन्दै गरेको याचनाले पनि ओली पार्टीमा कमजोर बन्दै गइरहेको यथार्थताको झल्को दिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट