बाबुरामलाई रामनारायण बिडारीको चुनौती: नौ अर्बको आरोप प्रमाणित गर्नुहोस् [भिडियो वार्ता]-Sutra News

बाबुरामलाई रामनारायण बिडारीको चुनौती: नौ अर्बको आरोप प्रमाणित गर्नुहोस् [भिडियो वार्ता]

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

करिब एक दशकदेखि विवादको भुमरीमा रुमल्लिरहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाबारे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिएको पछिल्लो अभिव्यक्तिले मुलुकको राजनीतिक वृत्तमा ठूलै तरंग पैदा गरेको छ ।



आफ्नो गृहजिल्ला गोरखामा आयोजित एक सार्वजनिक कार्यक्रममा भट्टराईले नामै किटेर आरोप लगाएका छन्, ‘बुढीगण्डकी आयोजनामा केपी ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब कमिसन बाँडेर खानुभएको छ, यो कुरा प्रमाणित गर भने, त्यो पनि गर्न सक्छु ।’ मुलुकको बहालवाला प्रधानमन्त्री र दुई पूर्व प्रधानमन्त्रीमाथि यति ठूलो आर्थिक अनियमितता गरेको आरोप आफैंमा संगीन छ ।

आयोजनाअगाडि बढाउने निर्णय प्रक्रिया र स्थानीय स्तरको निर्माणलाई नजिकबाट नियालिरहेका एक पूर्वप्रधानमन्त्रीकै तहबाट आएको यस अभिव्यक्तिको वास्तविकता के हो त ? के साँच्चिकै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधनामन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले नौ अर्ब भ्रष्टाचार गरेकै हुन् त ? आरोप लागेका शीर्ष नेताहरूले त यसको जवाफ दिनुपर्छ कि पर्दैन ? यिनै विषयमा केन्द्रित रहेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीसँग सूत्रटिभीको कार्यक्रम साझा सरोकारका लागि ऋषि थपलियाले गरेको कुराकानीको सम्पादित अंशः

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वयमाथि बुढीगण्डकी जलविद्युत आयोजनाका नाममा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भन्ने आरोप लगाउनु भएको छ, के साँच्चिकै ओली, प्रचण्ड र देउवाले भ्रष्टाचार गरेकै हुन् ?

आरोप त जे लगाइदिए नि भो नि, कसैले बाबुराम भट्टराईलाई विदेशीको इशारामा पार्टी फुटाएर करोडौं रुपैयाँ खाएका छन् भनेर भन्दियो भने के गर्ने ? अरुलाई जे पायो त्यही आरोप लगाउन पाइन्छ ? प्रमाण र तथ्यको अधारमा बोल्नुपर्छ।

तर, उहाँले त जस्तोसुकै प्रमाण दिन पनि तयार छु भन्नुभएको छ नि ?

उहाँले यसको कुनै पनि प्रमाण दिन सक्नुहुन्न। यो त मात्रै राजनीतिक खपतका लागि बोलिएको अभिव्यक्ति हो। उहाँसँग कुनै प्रमाण नै छैन्, त्यो सस्तो लोकप्रियताको लागि बोलेको कुरा मात्रै हो।

कुनै शक्तिशाली आयोग गठन गरियोस् म प्रमाण दिन तयार छु भन्नुभा’छ, तपाईंहरू आयोग गठन गर्न तयार हुनुहुन्छ ?
त्यसो भए मैले बाबुरामजीले भारतबाट १० अर्ब रुपैयाँ ल्याएर पार्टी चलाए, नेकपा फुटाएर मधेशी दलहरूसँग मिले नेपाललाई अप्ठ्यारो पार्नलाई भनेर भनेँ भने के गर्ने ? त्यसका लागि पनि एउटा आयोग गठन गर्ने ? त्यसैले यस्ता तथ्यहीन आरोपको पछि लाग्नु हुँदैन।

डा. भट्टराईले मेरो आरोप निराधार भए म जस्तोसुकै कारबाही भोग्न पनि तयार छु, झुण्डिनु परे पनि झुण्डिन्छु भन्नुभा’छ नि ?
राज्यको सुविधा लिने, जे मन लाग्यो त्यही बोल्ने ? त्यसो भए सेना, पुलिस लिएर किन हिँड्या ? किन सरकारी पैसा खाएर बसिरहेको ? किन सरकारी घरमा बसिरहेको ? उनको पालामा भ्रष्टाचार भएन र ? उनी झन् भ्रष्टचारी हुन्। उनी काम चाहिँ केही काम पनि गर्दैनन्, अरुलाई मात्रै आरोप लगाउँछन् ।

त्यसो भए बाबुराम भट्टराई ‘गफाडी’ हुन् ? उनी फगत आरोपका लागि आरोप मात्र लगाउँछन् ?

उनी केही पनि काम गर्दैनन् । अरुलाई आरोप मात्र लगाउँछन् । उनले पढेको पिएचडी कागजको खोस्टो हो । राजनीतिमा त्यो काम लाग्दैन। उहाँलाई यो आरोप प्रमाणति गर भनेर हाम्रो पार्टीले चुनौती दिएको छ। बाबुरामले यो आरोप कुनै पनि हालतमा प्रमाणित गर्न सक्दैनन् ।

बाँकी भिडियोमा हेर्नुहोस्ः

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट