इच्छुकलाई इमेल-Sutra News

इच्छुकलाई इमेल

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

अरु त सबै उस्तैउस्तै छ यहाँ
कमरेड इच्छुक !
तर, एउटा कुरा अलिकति नयाँ छ–
पुलिसहरू फेरि
सुन्न थालेका छन् कविता !



भुइँचालोमा दरबार भत्केपछि
ज्यान जोगाउन भागेका एक हुल कविहरू
कर्पोरेट साहुजीसँग दर्शनभेट गर्न
पालो पर्खिरहेका छन्,
सिटी सेन्टरको मूलगेटमा

पत्रकारहरू ट्वीटर टाइमलाइनमा
कुरा काटिरहेका छन् निकटमित्रका
र, दूतावासमा पठाइरहेका छन्, नम्रनिवेदन
गोप्य इमेलमा
साहुजीकै संस्मरण पहिलो पानामा छापेर
पेशागत मर्यादा पालन गरिरहेका छन् सम्पादकहरू

कमरेड इच्छुक !
तर, एउटा कुरा अलिकति नयाँ छ–
साहुजीहरू आफै‌ं घुस्न थालेका छन्
कविता–प्रदेशमा !
¬¬
जंगलमा झुसिल्किराहरू पुतलीमा फेरिन्थे
तर, सहर पसेका पुतलीहरू
झुसिल्किरामा फेरिएका छन्
र, झुसिल्किराहरूले नै बोकेका छन् लोकतन्त्रको झण्डा
ठेकेदारले किनिदिएको मतपत्रको माला लगाएर
गीत गाउँदै सहर चहारिरहेका छन् मुर्ख शासकहरू
बिचौलियाको बुई चढेर उनीहरू
उक्लेका छन् चन्द्रागिरि डाँडामा
र, सहरतिरै फर्केर पिसाब फेरिरहेका छन् निर्लज्ज

कमरेड इच्छुक !
तर, एउटा कुरा अलिकति नयाँ छ–
नयाँ शासकहरू पनि
अघि सरेका छन् कविता लेख्न !

अरु सबै उस्तैउस्तै छ यहाँ
तिमी त छैनौ, कमरेड इच्छुक !
तर, एउटा कुरा अलिकति नयाँ छ–
पुलिसहरू फेरि
सुन्न थालेका छन् कविता !
०००

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट