संग्रहालय जस्ता सुनिल-Sutra News

संग्रहालय जस्ता सुनिल

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

स्वदेश र विदेशका नेपालीले फेसबुकमा सबैभन्दा धेरै पछ्याउने पात्रमा पर्छन् पोखराका सुनिल उलक । उनलाई पछ्याउनुको एउटै कारण छ, उनको पुराना फोटो संग्रह र त्यससँगै जोडिएर आउने अनेक रोचक जानकारी । दैनिक करिब १० हजारले उनको पोष्ट हेर्ने अनुमान गरिन्छ । भ्यूज, सेयर, कमेण्ट, लाइक आदिका आधारमा यो अनुमान गर्न सकिन्छ ।



आफूले संग्रह गरेका पुराना फोटोमा सुनिल यथेष्ट जानकारी राखिदिन्छन्, जसले गर्दा उनलाई फलो गर्नेले निशुल्क ज्ञान पाउन सक्छन् ।
क) ३० जुलाई २०१८ मा पोष्ट गरिएको फोटोमा घर, घर अगाडि गाडा र जाँगे (हाफ प्यान्ट) लगाएका केही सुरक्षाकर्मी देखिन्छन् । एकजना मान्छे थैलो बोकेर गाडातिर लम्कदै गरेको पनि देखिन्छ । झट्ट हेर्दा फोटोले बोल्ने कुरा यत्ति हो । तर सुनिलले फोटोको मुन्तिर यस्तो लेखिदिए–
Surkhet1.jpg
यो तस्वीर वीरेन्द्रनगर (सुर्खेत) को हो । मुख्य सडक छेउमा बैंक देखिन्छ । बैंकको रकम गाडामा राखेर अन्यत्र लगिदै छ । सिक्काको भारी बोकेर भरिया गाडातर्फ आउँदैछन् भने सैनिकहरू पहरा दिँदैछन् । वीरेन्द्रनगरमा सडक पनि राम्ररी बनिसकेको छैन । २०२२ सालमा विमानस्थल बनेपछि वीरेन्द्रनगरमा विकासको ढोका खोलिएको हो, तर पनि यहाँ बस्ती बस्न निकै कठिन भयो । औलोको अत्याधिक प्रकोपले गर्दा सदरमुकामबाटै सबै प्रमुख काम हुन्थ्यो । चौर भएको ठाउँलाई राजा वीरेन्द्रको नामबाट वीरेन्द्रनगर नाम दिइयो । । बिस्तारै औलो उन्मुलन भएपछि त्यहाँ बस्ती विकास भएको थियो । फ्रान्सको पेरिस शहर जस्तो सुन्दर शहर बनाउने उद्देश्य लिई २०२९ माघ १६ गते राजा वीरेन्द्रले वीरेन्द्रनगर नगर योजनाको शुरूवात गरेका थिए ।
(ख) १५ अगस्ट २०२० मा सुनिलले पहेलो र रातो रंगको हवाई जहाजको फोटो राखेका छन् । जहाजमा लेखिएका कुरा हेर्दा जहाज नेपालसँग सम्बन्धित जस्तो पनि देखिदैन । तर, जहाजको मुनि राखिएको क्याप्सनले रोचक तथ्य खोल्छ । क्याप्सनमा लेखिएको छ– पोखरा विमानस्थलमा पिलाटस पोर्टरको विमान ‘यती’ ।
Plne1.jpg
क्याप्सनमा लेखिए अनुसार, सन् १९३९ मा स्वीट्जरल्याण्डमा स्थापना भएको पिलाटस कम्पनीले पि–१ देखि पि–५ मोडलका साना विमानहरु बनाइसकेको थियो । सन् १९५९ को मे महिनामा पि–६ डिजाइनको प्रयोग भयो । छोटो दुरीमा उडाउन र उतार्न सकिने प्रविधिको विमान तयार भयो । तर विस्तृत अध्ययन गर्न बाँकी नै थियो ।

यही समय स्वीस पर्वतारोही तथा शौखिन पाइलट म्याक्स इज्लिनले धौलागिरी आरोहणको तैयारी गर्दै थिए । अचानक उनको दिमागमा पिलाटस कम्पनीको विमान भाडामा लिएर आरोहणका लागि आवश्यक सामग्री तथा आरोहण दलका सदस्यलाई धौलागिरि आधार शिविरसम्म लैजान सहज हुने तथा समयको पनि बचत हुने विचार आयो । तुरुन्तै उनले विमान कम्पनीलाई सम्पर्क गरे । कम्पनीले विमान निशुल्क उपलब्ध गराइदिने भयो । विमान कम्पनीले आफ्नो पि–६ मोडलमा सामान्य सुधार गर्यो । विमानको पाङ्ग्राको तल हिउँमा अवतरण गर्न सजिलो होस् भनेर इस्कवोर्ड जडान भयो । विमानमा स्वीस धौगागिरि एक्पेडिसन १९६०–हिमालय लेखियो र विमानको नाम ‘यती’ राखियो ।

‘यती’ स्विटजरल्याण्डबाट एक हप्ता लगाएर पोखरा आइपुगेको थियो । यसले धौलागिरि आधार शिविरसम्म सामान ढुवानी तथा आरोहण टोलीलाई आधार शिविरसम्म पुग्न धेरै सहज बनायो । समुद्री सतहदेबाट ५ हजार ७ सय मीटर उचाइमा रहेको धम्पुस पासमा अवतरणको विश्व रेकर्ड पनि राख्यो । यसको पाइलट एन्स्ट साक्सर र एमिल थिए ।

अचानक पोखरामा ‘यती’ दुर्घटनामा पर्यो । उडान शुरु गरेको एकैछिनमा विमानको इञ्जिन उछिट्टिएर खस्यो । साथै विमान पनि खस्यो । उता आरोहण टोली सामाग्रीको प्रतीक्षामा थियो । यता विमान कामै नलाग्ने भएको थियो । यसपछि म्याक्स पोखरा आए । विमान कम्पनीसँग सम्पर्क गरी नयाँ इञ्जिन लिएर बिशेष विमानमा पिलाटस कम्पनीका इञ्जिनियर हान्स रेजर पोखरा आइपुगे ।

२०१७ बैशाख २३ गते ‘यती’ ले फेरि धौलागिरी आधार शिविरमा उडान गर्यो । तर दुर्भाग्य…. ‘यती’ ले लामो समय उड्न पाएन । मर्मत गरेर उडान थालेको दुइ दिनपछि धम्पुस पासमा अवतरण गरेको ‘यती’ उडानको क्रममा अत्यधिक हावाले गर्दा दुर्घटनाग्रस्त भयो । तर पाइलट बाँचे । विमान पूर्णरुपमा ध्वस्त भयो । दुबै पाइलट स्वीट्जरल्याण्ड फर्किए । पछि एक पाइलट एमिल विक नेपालमा पिलाटस उडाउन तथा प्रशिक्षण दिन फर्केर नेपाल आए । उनी नेपालमा धेरै समय रहे ।

आरोहणको सहजताले गर्दा ३१ बैशाख २०१७ मा धौलागिरी हिमालको आरोहण सफल भयो । स्वीस पर्वतारोही म्याक्स इज्लिनको नेतृत्वमा बनेको आरोहण टोलीका अस्ट्रियन पर्वतारोही कुर्ट डियमवर्गर, पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट र दुइ शेर्पा निमा दोर्जे र नवाङ दोर्जे गरी ६ जना धौलागिरीको शिखरमा पुग्न सफल भए ।
धम्पुस पासमा दुर्घटनाग्रस्त ‘यती’को अवशेष करिव ३५ वर्ष पछि स्वीट्जरल्याण्ड लगिएको थियो । अहिले सो विमान त्यहाँको संग्रहालयमा राखिएको छ ।
०००
फेसबुकमा यस्ता फोटो र जानकारी दिने सुनिल उलकले कसरी गर्छन् फोटो संग्रह ? कसरी जुटाउँछन सामग्री ? यसबारे उनले सुत्रन्यूजलाई आफ्ना कुरा यसरी बताए :
पुराना वस्तु संकलन गर्ने साख ममा बुबा जगन्नाथ उलकबाट आएको जस्तो लाग्छ । बुबाले हामी बच्चै हुँदादेखि नै पुरानो सामानहरु ‘पछि काम लाग्छ’ भन्दै राख्नुहुन्थ्यो । दुई दाजु नवीन र उत्तमले पनि चुरोटको खाली डब्बा तथा बोटलका बिर्कोहरु समेत जम्मा गरेको देखेको थिएँ । दाजुहरुले संग्रह गरेका हुलाक टिकट पनि घरमा थिए । बुबाको फोटो स्टुडियोका नेगेटिभ तथा फोटोहरु पनि घरमा नै थियो । यी सबै कुरा आफ्नै आँखा अगाडि देखेर पनि ममा पुराना कुरा जम्मा गर्ने सौख शुरु भएको होला ।

स्कूले जीवनमा नै दाजुहरुको हुलाक टिकटमा थपथाप गर्दै संग्रह थालेको हुँ । स्कूल जीवनको समाप्तिपछि चाहिँ टिकट जम्मा गर्ने कामलाई त्यति अघि बढाइनँ । त्यो नितान्त व्यक्तिगत जोश त्यत्तिकै रह्यो ।

नेपाली सिक्का र कागजी नोट भने आफैले कमाउन थालेपछि मात्र जम्मा गर्न थालेको हुँ । संग्रह राजा त्रिभुवन देखिको छ । राजाको समयको नोटहरुमा मात्रै मेरो चाहना छ । सिक्काहरुमा भने रेगुलर प्रयोगमा आएका सबै छन् । तर विशेष अवसरमा निकालिने सिक्काहरु भने संकलनमा खासै छैनन् ।

सफा र नयाँ नोट भनेर खोज्दिनँ, जस्तो भए पनि हुन्छ । नोट र सिक्का संकलन गर्ने काम पनि पछि यत्तिकै भयो । संकलन बन्द गर्नुका दुइ कारण छन् । एकपटक घरमा चोरी हुँदा प्रचलनमा रहेका नयाँ नोट तथा ठूलो मूल्य अंकित भएका (जस्तो हजारका) नोटहरु चोरिए । तर, केही पुराना नोटहरु चोरले भुइँमा नै फ्याँकेर गएको थियो । हराएका पुराना केही नोट फेरि किन्न खोज्दा महङ्गो मूल्य भनेपछि जम्मा गर्न छोडेँ। दोश्रो कारण भनेको महङ्गो मूल्यमा किनेर सौखको नाममा ठूलो धनराशी खर्च गर्न नचाहनु हो ।

केही समय अगाडि नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको रु ५ सय को नोट बजारमा देखियो । मैले खोज्न थालेँ । ५ वटा संकलन पनि गरेँ । तर मैले राखेको ठाउँबाट निकालेर श्रीमतीले चलाइदिइछन् । यसपछि झन् निराश भएँ । भएकोलाई सुरक्षित त राख्ने, तर नयाँ किनेर जम्मा नगर्ने अठोटमा पुगेको छु ।

बुबा जगन्नाथ पोखराको पहिलो र प्रख्यात फोटोग्राफर हुनुहुन्थ्यो । उहाँको नाममा ‘जगन्नाथ उलक स्मृति प्रतिष्ठान’ खोलिएको छ । मैले जे जति फोटो संकलन गर्छु, यही प्रतिष्ठानका लागि गर्छु ।

बुबा जगन्नाथ उलक १९८० सालमा भक्तपुरमा जन्मनु भएको हो । १६ वर्षको उमेरमा नै बिबाह भएपछि पारिवारिक बोझ बोक्न थाल्नुभयो । घरको जेठो छोरो भएको हुँदा पढाइलाई निरन्तरता दिन पाउनु भएन । मेट्रिक (एसएलसी) पास गर्नुभएपछि घरको लागि नै समय बिताउनु भयो । पाटनमा तहसिलदारको छोरी हुनुभएको हुँदा भक्तपुरको जीवन अलि अभाव र असहज जस्तो लागेपछि आमाले बुबासँग पाटनमा नै बस्न अनुरोध गर्नुहुन्थ्यो । तर बुबालाई ससुराली बस्न मन भएन । भक्तपुरका पुराना बडाहाकिम धनशम्शेर राणा पछि बडाहाकिम भएर पोखरा आउनु भयो । बडाहाकिम राणाले बुबालाई पोखरामा माष्टरी गर्न बोलाएर ल्याउनु भयो । २००६ सालमा पोखरा आउनु भएपछि बुबाले माष्टरी पेशा थाल्नुभयो । यसै बीच पोखराका कपडा व्यवसायी जगदिश गौचनले बेच्न ल्याएका कितावहरु बुबालाई बेच्न दिनु भयो । बुबा अब पोखराको पुस्तक व्यवसायी पनि बन्नुभयो । यो बिसं २००९ सालको कुरा हो ।

यसको केही समय पछि नै बाग्लुङका कृष्णकुमार बैद्य पोखरामा व्यवसायका लागि आउनुभयो । उहाँको चिरपरिचित पाल्पाका गंगाप्रसाद बैजू हुनुहुन्थ्यो । उहाँ घुमन्ते फोटोग्राफर हुनुहुन्थ्यो । उहाँ पोखरा आउनु हुँदा बुबा तथा कृष्णकुमार बैद्यलाई फोटोग्राफी सिकाउनु भयो । उहाँसँग नै पुरानो क्यामेरा तथा फोटो धुलाउन चाहिने सामग्री तथा केमिकलहरु किनेर बुबाले २०१२ मा ‘नविन फोटो स्टुडियो’ शुरु गर्नुभयो । यो नै पोखराको पहिलो व्यावसायिक फोटो स्टुडियो थियो । उहाँले निरन्तर २०१७ सम्म फोटो स्टुडियो चलाउनु भयो । अहिले पोखरामा पहिलो पिँढीको फोटोग्राफरहरु उहाँको शिष्य हुनुहुन्छ ।

sangrahalay1.jpg

बुबाको स्ुटडियोमा हजारौँ तस्वीर थिए । शुरुमा वास्तै भएन, यसको महत्व पछि होला भनेर । २०३८ मा हामी जन्मे–हुर्केको ठाउँ भैरव टोलबाट बगाले टोलमा सर्ने समयमा हामीले धेरै वस्तु या त जलायौँ, या त कवाडमा फ्याँकिदियौँ । त्यो समय धेरै नेगेटिभ र फोटोहरु जलायौँ । तर ती फोटा भन्दा पनि दुइ चिजको मलाई एकदम याद आउँछ ।
हामीकहाँ पुरानो ग्रामोफोन र फिल्म प्रोजेक्टर थियो । ती दुई चिज पनि हामीले गुमायौँ । स्व. धर्मराज थापाको ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ लगायत अन्य थुप्रै गीतका डिस्क थिए । ती पनि हामीले फुटालेर फाल्यौँ । यो सम्झँदा अहिले निकै पछुतो लागेर आउँछ ।
पछिल्लो पटक म फोटो संकलनमा नै केन्द्रित छु । अहिले करिव १ लाख जति फोटोहरु संकलनमा पुग्न लागे होलान । यसमा आफैले खिचेका फोटाहरु र पारिवारिक फोटोको गणना गरेको छैन । आफैले खिचेका र पारिवारिक फोटाहरु चाहिँ २० हजार भन्दा बढी छन् ।

मैले संकलन गरेका फोटोको प्रमख श्रोत अमेरिका पिसकोर भोलेण्टियर र योहान रेयनहर्ड हुन् । पिसकोर भोलेण्टियरका २१ हजार भन्दा बढी र योहान रेयनहर्डका ४ हजार ६ सय जति फोटा मसँग छन् । योहान रेयनहर्ड अमेरिकी मानवशास्त्री तथा पुरातत्वविद हुन । उनी नेशनल जियोग्राफीको लागि काम गर्थे । खासगरी दक्षिण अमेरिकी मानव सभ्यताको खोजीमा उनले धेरै काम गरेका छन् ।

उनको अन्वेषणपछि पेरु, बोलिभिया तथा अर्जेन्टिनामा संग्रहालय नै बनेको छ । नेपालमा पनि बिलुप्त हुन लागेका राउटे, राजी तथा कुसुन्डा प्रजातीहरुका बारेमा गहिरो उनले गहिरो अध्ययन गरेका छन् । केही वर्ष अगाडि पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ‘सर एडमण्ड हिलारी माउन्टेन लिगेसी मेडल’ पाउँदा उनीसँग मेरो भेट भएको थियो । त्यसयता पनि विभिन्न माध्यमबाट मेरो उहाँसँग भेट भइरहेको छ ।

नेशनल एथ्नोलोजी म्यूजियम ओसाका –जापान) बाट प्राप्त ३ हजार ६ सय फोटोहरु छन् । यस बाहेक अन्य थुप्रै फोटोग्राफरले सार्वजनिक प्रदर्शन गर्न पाउने, तर ब्यापारिक प्रयोजन गर्न नपाउने शर्तमा फोटोहरु मलाई उपलब्ध गराएका छन् ।

संकलनकै लागि भनेर थुप्रै डकुमेन्ट्री फिल्महरु विभिन्न देशमा रहेका विश्वविद्यालयहरुले उपलब्ध गरिदिएका छन् । सार्वजनिक प्रदर्शन गर्ने अनुमति भए पनि यूट्यूवमा राखेर पैसा कमाउने छुट दिएका छैनन् । तसर्थ यूट्यूवलाई मैले प्राथमिकता दिने गरेको छैन ।

मेरा लागि सबैभन्दा रमाइलो र खुशीको क्षण अमेरिकी पिसकोर भोलेन्टियहरुको फोटाहरुकोसंग्रह गर्दै आएका डगलस हलसँगको सम्पर्क हो । डगलसले नेपाल फोटो प्रोजेक्टमा संग्रह गरेका सम्पूर्ण फोटोहरु मेरो संग्रहका लागि पेनड्राइभमा हालेर मलाई दिएका थिए । त्यो समय म औधी खुशी भएको थिएँ ।
मेरो संकलनमा भएका पुराना फोटोहरु कुनै पनि खरिद गरेको होइन । नेपालीले आफ्नो विगत तथा इतिहास हेर्न पाउन् भन्ने उद्देश्यले नै मलाई उपलब्ध गराइएको हो । संग्रहका लागि इन्टरनेटबाट डाउनलोड पनि गर्छु । सामाजिक सञ्जालमा आएका फोटाहरु पनि संकलन गर्छु ।

मैले संकलन गरेका फोटाहरु कास्कीको पोखरास्थित अन्तराष्ट्रिय पर्वतिय संग्रहालय बाहेक घान्द्रुक र सिकलेसमा पनि प्रदर्शन गरेको छु । नेपाल आर्ट काउन्सिल (काठमाडौं), पाटन संग्रहालय, धुलिखेल तथा पनौतीमा पनि प्रदर्शन गरेको छु । अन्यत्र पनि कसैले चाहना राखेमा प्रदर्शन गर्ने धोको छ । फोटो र भिडियोहरु प्रदर्शन गर्ने क्रममा मलाई धेरै साथीहरुको सहयोग रहेको छ । जस्तो ः तनहुँका सुदर्शन गोदार । उनी र अरुको सहयोगले मलाई प्रोजेक्टर किन्न सजिलो भयो ।

मसँग पुस्तकहरुको पनि संग्रह छ । पुस्तकमा हाम्रो परिवारका सबैको रुचि रहेको हुँदा धेरै वर्ष अगाडिदेखि नै सानो पुस्तकालय घरमा नै थियो । अहिले मैले केही बढी थपेको हुँ । साहित्यिक पुस्तकहरु, पुराना पत्रपत्रिका तथा इतिहासका पुस्तकहरुको राम्रो संग्रह छ । केही दुर्लभ पुस्तकहरु पनि छन् । श्रीमतीमा पढ्ने रुचि नहुँदा पुस्तकहरुले गर्दा फोहर भएको वा अनावश्यक ठाउँ खाएको गुनासो सुन्नु पर्छ । यसर्थ अचेल इ–बुक संग्रह गर्न थालेको छु । इ–बुक व्यवस्थापन गर्न सहज र सजिलो पनि छ ।
मसँग भएका सबैजसो पुस्तकहरु मैले पढिसकेको छु । कुनै पनि प्रसंगमा ती पुस्तकहरुबाट केही लेख्नुपर्यो भने कुन पुस्तकमा के लेखिएको छ भन्ने याद गर्न सक्छु । धार्मिक ग्रन्थहरु पनि अध्ययन गर्छु । रामायण, महाभारत, गीता, कुरान, बाइबल, श्रीमद्धभागवत पुराण आदिको अध्ययन गरेको छु । धर्म भन्ने केवल आस्था हो । धर्मले सही र गलत बाटो छुट्याउन मद्दत गर्दछ । हिन्दु धार्मिक ग्रन्थका पात्रहरु अधिकांश काल्पनिक हुन् । तर धर्मप्रति कट्टर आस्था राख्नेहरु यी पात्रहरुको जन्म भएको जिकिर गर्छन् ।
मसँग रहेका किताबहरु संकलन गर्न शुरु–शुरुमा धेरै पैसा खर्च भयो । दिल्ली–बनारस जाँदा प्राय दुर्लभ कितावहरु म आइतबारे बजारमा खोजेर किन्थेँ । नेपाली बजारमा साहित्यिक भनिने र जीवनी भनिने पुस्तक मैले खासै किन्ने गरेको छैन । यसको उत्तर पाठकले आफै बुझ्छन् । पछिल्लो समय मैले किनेको आत्मकथामध्ये सन्दुक रुइत, हरिवंश र मदनकृष्णको मात्र हो । केही समय अगाडि आफूले प्रकाशन गरेका सबै पुस्तकहरु राष्ट्रिय अभिलेखालयले मलाई उपहारस्वरुप दिएको थियो । यो पनि संग्रहमा थपियो ।

फोटो तथा भिडियोहरुको संग्रह ब्यक्तिगत रुपमा मसंग धेरै छ कि जस्तो लाग्छ । यहाँ संग्रह देखाएर डलर कमाउने धेरै छन् । तर म भने कुनै नौलो फोटो पाएँ भने फेसबुकमा राखेर सबैलाई देखाउन चाहन्छु ।

समय–समयमा थेसिसको लागि भन्दै विभिन्न मानिसहरुले सम्पर्क गर्ने गरेका छन् । कतिलाई सहयोग गरेको छु, कतिलाई भने सहयोग गर्न असमर्थ भएको पनि छु । ‘फोटो चाहियो, पठाइदिनुस् न’ भन्ने पनि भेटिन्छन् । कसको विश्वास गर्ने, कसको नगर्ने, निकै मुश्किल हुन्छ । फोटो पठाउने काम खासै गर्दिन ।

तर, पुरानो फोटोमा भएका मानिसहरु भेटिएमा चाहिँ फोटो उपहार दिने गर्दछु । तर मृत्यु भइसकेको अवस्थामा परिवारले सम्झनाको लागि फोटो मागेमा भने ‘निशुल्क दिन सक्दिनँ’ भन्ने गरेको छु । सहयोगको रुपमा निश्चित रकम दिनुपर्दछ भन्ने गर्दछु । जसले गर्दा प्रायले मेरो फेसबुकमा भएको फोटो नै डाउलोड गरेर प्रिन्ट गर्ने गरेका छन् । सित्तैमा पाए मात्र लिने दाउ धेरैको हुन्छ ।

संकलनका लागि समय व्यवस्थापन गर्न निकै गाह्रो हुन्छ । तर म आम मानिस भन्दा निकै कम सुत्छु । राति १ बजे सुतेर बिहान ५ बजे उठ्ने बानी भएको हुँदा मेरो फुर्सदिलो समय भनेको मध्य रात नै हो । पोखरामा मेरो कुर्ता सलवारको दोकान छ । त्यसैले, बिहान ९ बजे देखि साँझ ८ बजेसम्म व्यापारमै लाग्नु पर्ने हुन्छ । राति ९ बजेदेखि मध्य रातको १ बजेसम्म म काम गरिरहेको हुन्छु ।

मैले कुनै पनि पुरस्कार पाएको छैन । ‘कर्म गर, फलको आशा नगर’ भनेझैँ म केवल कर्ममा बिश्वास गर्दछु ।

पोखरामा पुरानो फोटोहरुको संग्रहालय स्थापना गर्ने सपना थियो, निकै कष्टका साथ ‘जगन्नाथ उलक स्मृति प्रतिष्ठान’ मार्फत् त्यो सपना पुरा भयो । प्रतिष्ठान अन्तर्गत पोखराका पुराना फोटोहरुको संग्रह राखेर स्थायी प्रदर्शनी पनि गरियो । तर स्पष्ट योजना नभएकाले बन्द हुन पुग्यो । यसको दोष म अरुलाई दिन चाहन्नँ । शायद मैले नै अलिक हतार गरेँ कि भन्ने सोच्दैछु । तर मेरा सपना र योजनाहरु हराएका भने छैनन् । म यसलाई फेरि जगाउन प्रयासरत छु । बुबाको नाममा एकदिन अवस्य संग्रहालय बनाउने छु ।
‘जगन्नाथ उलक स्मृति प्रतिष्ठान’ लाई बलियो बनाएर त्यस अन्तर्गत जे जति गरिन्छ, त्यो सार्वजनिक हितका निम्ति हुनेछ । यी सबै कुराहरु पछि नेपाल सरकारलाई नै हस्तान्तरण गर्ने सोचाइ छ । किनकी म पछि यसको संरक्षण गर्न सक्ने परिवारमा कोही देखेको छैन । नेपाल सरकारलाई हस्तान्तरण गर्नु अगाडि एउटा ऐतिहासिक दस्तावेजको रुपमा संग्रहबाट छानेर राम्रो संग्रहयोग्य पुस्तक निकाल्ने विचार पनि गरेको छु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट