कोरोना बीमा फाइदाका लागि होइन, खर्चका लागि सहयोग गर्ने हो : सीइओ एसके तमोत-Sutra News

कोरोना बीमा फाइदाका लागि होइन, खर्चका लागि सहयोग गर्ने हो : सीइओ एसके तमोत

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काठमाडौं- कोरोना महामारीका कारण सम्पूर्ण आर्थिक क्षेत्र सुस्ताएको छ। तर त्यसका बावजुद पनि बीमा कम्पनीहरुको आर्थिक स्थिति सबल छ, उनीहरुले नाफा कमाइरहेकै छन्। 



यद्यपि, कोरोना बीमा गराउनेहरुले पाउनुपर्ने भुक्तानी सहजरुपमा नपाएको बीमितहरुले गुनासो गर्दै आएका छन्। महामारीले सिर्जना गरेको जटिल स्थिति, ग्राहकहरुको गुनासोलगायतका विषयमा जनरल इन्स्योरेन्सका कार्यकारी अधिकृत एसके अमोतसँग कुराकानी गरेका छौं।

निर्जीवन बीमा कम्पनीको अहिलेको अवस्था कस्तो छ? कोरोना महामारीका कारण बीमा कम्पनीहरुमा कस्तो प्रभाव परेको छ?

बीमा कम्पनीले जसरी काम गर्नुपर्ने हो, कोभिड-१९ का कारण त्यो गतिमा काम हुन सकेको छैन। तर, बीमा कम्पनीको हकमा कोभिड-१९ ले त्यति धेरै नकरात्मक असर पनि पारेको छैन।  

आर्थिक २०७६-७७ कै चौथो त्रैमासिकको रिपोर्ट हेर्ने हो भने यस क्षेत्रका सबै संस्थाहरुले सामान्य भए पनि मुनाफा आर्जन गरेका छन्। यसले पनि के देखाउँछ भने, कोभिड-१९ का बावजुद पनि कम्पनीहरुको आर्थिक कारोवारको स्थिति खस्केको छैन। 

कोरोना महामारीमा बीमा कम्पनीहरुले कसरी काम गरेका छन्?

सबै कम्पनीहरुले इन्टरनेटको माध्यमबाट काम गरिरहेका छन्। चैतदेखि हामीले पनि संस्था बन्द गरेको थियौं। वैशाखको पहिलो हप्ताबाट कम्पनीमा ३० प्रतिशत कर्मचारी बोलाएर संस्था सञ्चालनमा ल्यायौं। 

पछि फेरि बन्दजस्तो भएको थियो। कम्पनीमै काम गर्ने कतिपय साथीहरुलाई कोरोना संक्रमण देखियो। उहाँहरुमध्ये कोही कोरोनाबाट मुक्त भइसक्नुभएको छ भने कोही ‘होम आइसोलेसन’मा हुनुहुन्छ। यसका बावजुद पनि नेपालभरिका ब्रान्च सञ्चालनमा छन्। 

सरकारले बीमा कम्पनीहरुलाई ७७ जिल्लामा कार्यक्षेत्र तोकेर कृषि बीमा गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसअनुसार हाम्रो क्षेत्र तीनवटा जिल्लामा परेको छ। हामीले १ सय प्रतिसत नै रिजल्ट दिने योजना बनाएका थियौं। तर कोभिड-१९ का कारण केही अप्ठेरो परेको छ।

कोरोना महामारीमा पनि बीमा कम्पनीहरुले आफ्नो मुनाफा बढाउन सके। यो कसरी सम्भव भयो?

मुनाफा धेरै नै बढेको छ भन्न त मिल्दैन। तेस्रो त्रैमासिक (चैत)सम्म त कामहरु राम्रोसँग भएकै हो। त्यसपछि पनि बीचको समयमा काम हुनसक्यो, जसका कारण मुनाफा घटेन।

जुन किसिमले मुनाफा आर्जन गर्ने, कम्पनीलाई राम्रो बनाउने योजना थियो, लक्ष्यअनुसार गर्न नसके पनि बीमा कम्पनीहरु आर्थिक क्षेत्रको ‘सेफजोन’भित्र नै छन्। हाम्रो कम्पनीको हकमा पनि यही कुरा लागू हुन्छ।  

बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी दिन आनाकानी गरे भन्ने खालको कुरा आइरहेको छ नि? 

संक्रमितको संख्या बढ्ने क्रम जारी छ। कोरोना बीमा गर्ने पनि बढिरहेका छन्। यस्तो अवस्थामा कोरोना पोजेटिभ आएका व्यक्तिहरु आउनासाथ कोरोना बीमाको भुक्तानी लिन आउने भन्ने कुरा हुँदैन। त्यसको एउटा प्रक्रिया हुन्छ। बीमा कम्पनीहरुको रेखदेख गर्ने संस्थाको रुपमा राष्ट्रिय बीमा समिति छ। हामीले पनि समितिको नियमभित्र रहेर काम गर्नुपर्ने हुन्छ।

बीमा गर्नेहरुले पाउने रकममा आनाकानी गर्ने भन्ने कुरा छैन। प्रक्रियामा गएर काम गर्दा केही समय लाग्यो होला। तुरुन्तै आउनुभयो, तत्काल भुक्तानी पाउनुभएन होला। यसो भन्दैमा बीमा कम्पनी नै खत्तम भनेर भन्न मिल्दैन।

एक हजारको बीमा गराएर १ लाख दिने कुरामा सबै कुरा सही छ, त्योचाहिँ विचारणीय कुरा हो। साँच्चै कोरोना भएको हो कि होइन, नक्कली रिपोर्ट लिएर आएको पो हो कि? यी कुराको अनुसन्धान गर्न त पाइयो नि।

उदाहरणको लागि तपाईँले १५ वर्षको १ लाखको बीमा गर्नुभएको छ, बीमा गरेको १५ वर्ष पुग्यो र पैसा निकाल्न आउनुभयो भने हामीले दस्तखतदेखि लिएर तपाईँको ‘पर्सनल आइडी’ चेक गरेरमात्र भुक्तानी दिन्छौं। कोरोना बीमाको हकमा पनि हामीले गर्न खोजेको यत्तिमात्र हो।

बीमा समितिले कोरोना बीमाको विषयमा पटक-पटक निर्देशिका परिवर्तन गरेको छ। १ लाख र ५० हजार रहेको कोरोना बीमाको शुल्क घटाएर २५ प्रतिशत (२५ हजार)मात्र दिने भन्ने निर्णयमा बीमा कम्पनीहरुले किन यसरी निर्णय परिवर्तन गरिरहेका छन्?

तपाईँको फाइदाको लागि इन्स्योरेन्स दिने होइन, तपाईँको खर्चको लागि इन्स्योरेन्सले सहयोग गर्ने हो। यदि तपाईँ कोरोना चेक गराउन जानुभयो, ५-६ हजार खर्च भयो। के कति सहयोग गर्ने भन्ने कुरा तपाईँको अवस्था र खर्च हेरेर हुन्छ। 

बीमा समितिको कोरोना निर्देशिकामै भनिएको छ, ‘कोरोना लागेर हस्पिटलमा बस्नुपरेमा त्यहाँ भएको खर्च बीमा कम्पनीहरुले व्यहोर्नेछन्।’ त्यसकारण यस कुराले बीमितहरु मारमा परेका छन् जस्तो मलाई लाग्दैन।

तपाईँको बीमा कम्पनीले सर्वसाधारणको लागि सेयर निष्काशन गर्दैछ। तपाईँकै कम्पनीमा लगानीकर्ताले किन लगानी गर्ने? 

म यो क्षेत्रमा लगभग ५० वर्षदेखि काम गरिरहेको छु। मेरो व्यक्तिगत बुझाईमा, अहिले कुनै पनि बीमा कम्पनीको सेयर बजारमा लगानी गरेर घाटामा जाने स्थिति छैन। किनभने, सबैको कारोबार राम्रो भइरहेको छ। कम्पनीहरुको आर्थिक अवस्था पनि राम्रै छ। अहिलेकै सेयर बजारको स्थिति हेर्ने हो भने पनि बीमा कम्पनीहरु अग्रस्थानमा नै छन्।

कुनै पनि निर्जीवन कम्पनीको सेयरमा लगानी गर्दा पनि घाटा हुने सम्भावना कम छ। तर कुनै कम्पनीको बजार घट्छ, बजार घाटामा जान्छ भने त्यो स्थिति सिर्जना हुने कम्पनीको कारणले होइन, यो सेयर बजारको अवस्थाले त्यो स्थिति सिर्जना गर्ने हो।

हाम्रो कम्पनीको विषयमा केन्द्रित भएर भन्ने हो भने पनि कम्पनीले अहिलेसम्म राम्रो काम गरिरहेको छ। कम्पनीमा ४ वटा बैंक आबद्ध छन्। सेयर निष्कासनपछि अब हामी पनि सामाजिक कम्पनीको रुपमा स्थापित हुँदैछौं। हाम्रो कम्पनीलाई थप सबल बनाउने योजनाका साथ काम गरिरहेका छौं।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट