नेतृत्व तहमा महिलालाई अवसर दिन कांग्रेस नेताहरूको जोड-Sutra News

नेतृत्व तहमा महिलालाई अवसर दिन कांग्रेस नेताहरूको जोड

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं– कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमा व्यवस्था भए अनुसार महिलालाई दिइएको अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन्। नेतृ मंगलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा मंगलबार आयोजित भर्चुअल साप्ताहिक कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन्।



नेता सिंहले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ्नुपर्ने धारणा राखे। मंगलादेवी अनुकूल वातावरणकाबीच पनि महिला अधिकारका लागि आवाज उठाउने तथा उनीहरूको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला भएको भनाइ राखे। पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशील बनाउनु पर्नेमा उनले जोड दिए।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको धारणा राखिन्।

नेतृ डा.डिला संग्रौला पन्तले मंगलादेवीको उद्देश्य महिलाको मुक्तिका लागि मात्रै नभएको बताउँदै अधिकारको पनि परिकल्पना गरिएको बताइन्। सुरुको आन्दोलन प्रजातन्त्र प्राप्तिका लागि भएपनि उपलब्धि संस्थागत गर्ने सवालमा महिलाको सहभागितामा पनि उनले जोड दिएको उल्लेख गरिन् । यसैगरी अहिले राजनीतिमा महिलाको संख्या बढेपनि निर्णायक तहमा पुग्नका लागि भने संघर्ष गर्नुपर्ने बाध्यता रहनु दुःखद् रहेको उनको भनाइ छ।

उनले अहिले पनि महिलालाई आरक्षण तथा समानुपातिकका नाममा पद दिए पनि भूमिका भने गौण हुने गरेको बताउँदै पार्टीको आगामी महाधिवेशनमा महिला प्रतिनिधिको संख्या पनि बढ्ने भएकाले निर्णायक तहमा पुग्ने गरि महिलाहरूले तयारी गर्ने पनि बताइन्। 

नेतृ सुजाता कोइरालाले मंगलादेवीले महिला अधिकार र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको बताइन्।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले महिला समानता, सामाजिक न्याय र राजनीतिक अधिकार निर्माणमा सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । त्यसैगरी केन्द्रीय सदस्य कमला पन्तले संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भए पनि महिलाले केही अधिकार स्थापित गर्न नसकेको धारणा राखिन्।

कार्यक्रमा पार्टीका पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ, मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले महिलाका कारण कांग्रेस बलियो भएको बताउँदै नेतृत्व तहमै महिलालाई ३३ प्रतिशत अधिकार दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट