कोभिड–१९ नियन्त्रण गर्न सरकारसँग कांग्रेसका १३ माग-Sutra News

कोभिड–१९ नियन्त्रण गर्न सरकारसँग कांग्रेसका १३ माग

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकरासँग १३ बुँदामा माग राखेको छ। बुधबार कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै सो माग राखेका हुन्।



कांग्रेसले कोरोना संक्रमण रोक्ने उपाय र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले चाल्नु पर्ने कदमहरूका बारेमा निरन्तर खबरदारी गर्दै आएको छ। कांग्रेसद्वारा गठित कोभिड-१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको निरन्तर अनुगमनका आधारमा प्राप्त निष्कर्ष सार्वजनिक गर्ने र सरकारको ध्यानाकर्षण गर्ने काम निरन्तर रूपमा गर्दै आएको छ।

यसका बावजुद सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको कांग्रेसले बताएको छ।

‘सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जादैछ र नागरिक जीवन अत्यन्त संकटमा छ। यस अवस्थामा फेरि पनि हामी तत्कालै गर्नु पर्ने केही कामहरूका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’ पत्रकार सम्मेलनमा डा.महतले भने।

कांग्रेसका १३ माघ

१.अहिलेसम्म सरकार दिशाविहिन र योजनाविहिन छ। यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गरियोस्।

२. कोरोना संक्रमण फैलदै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरूलाई कोरोना अस्पताल घोषणा गरियोस्।

३. अस्पतालहरूमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गरियोस्।

४. स्वास्थ्यकर्मीहरूलाई विमाको व्यवस्था तत्काल कार्यान्वयन गर्नुको साथै कोरोना जोखिम भत्ताको व्यवस्था गरियोस्।

५. चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि हुने गरेको दुव्र्यवहार र भौतिक आक्रमण रोक्ने समुचित व्यवस्था तत्काल सुनिश्चित गरियोस् । साथै संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरूको उद्धार र उपचारको व्यवस्था सरकारले गरोस्।

६. संक्रमणको सर्भिलेन्स र टे«सिङको आधारमा संक्रमणको सम्भावना ज्यादा भएका स्थानहरूमा पिसिआर परिक्षणलाई व्यापक बनाइयोस्।

७. उपचारको क्रममा उपयोगी औषधिलाई सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गरियोस्।

८. स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरूको कोरोना संक्रमण व्यवस्थापकीय तालिमलाई विस्तार गरियोस्।

९. विदेशमा अलपत्र श्रमिकलाई तत्काल नियमित उडानमा स्वदेश फिर्ता ल्याउने व्यवस्था सरकारले गरोस्।

१०. हवाई मार्ग तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीलाई व्यवस्थित आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाइयोस्।

११. देशभर आवश्यक मात्रामा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरु स्थानीय सरकारको सहकार्यमा तत्काल व्यवस्था मिलाइयोस्।

१२. कोरोना संक्रमण भएकाहरूलाई लक्षणको स्वरूप हेरी आइसोलेसनमा राख्ने वा उपचारमा राख्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने केन्द्रीकृत र अव्यवहारिक निर्णय तत्काल फिर्ता गरी सम्बन्धित अस्पतालहरूले निर्णय गर्ने व्यवस्था गरियोस्।

१३. शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परिक्षा वैकल्पिक विधि अपनाएर भए पनि संचालन गरियोस्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट