महिला संघका संस्थापक सभापति सिंहको २४ औं स्मृति दिवस मनाइँदै-Sutra News

महिला संघका संस्थापक सभापति सिंहको २४ औं स्मृति दिवस मनाइँदै

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

काठमाडौं–नेपाल महिला संघकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले गरेको योगदानको स्मरण गरेर समृति दिवस मनाउन लागिएको हो।



कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने नराखिएको पार्टी कार्यालयले जनाएको छ। संस्थापक सभापति सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा पुर्याएको योगदानबारे भर्चुअल रूपमा विचार विमर्श गरिदैछ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितमा भर्चुअल विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए।अघिल्ला वर्षहरूमा कांग्रेसले काठमाडौंको टेकुस्थित सिंहको शालिक रहेको स्थानमा औपचारिक कार्यक्रम गरेर स्मृति दिवस मनाउने गरेको थियो।

लौहपुरूष गणेशमान सिंहकी धर्मपत्नीसमेत रहेकी मङ्गलादेवीलाई नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धाको रूपमा लिने गरिन्छ। महिलाको हक, हित र अधिकारका लागि सङ्घर्ष गरेकी उनको २०५३ साल भदौ १० गते निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट