‘कोरोना संक्रमित बढिरहे राजधानीमै भेन्टिलेटरको कमी हुनसक्छ’-Sutra News

‘कोरोना संक्रमित बढिरहे राजधानीमै भेन्टिलेटरको कमी हुनसक्छ’

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कूल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ।



बुधबारको तथ्यांकअनुसार कूल संक्रमित २८ हजार ९३८ जना रहेका थिए। यीमध्ये १७ हजार ७ सय कोरोनामुक्त भइसकेका छन्।

कोठमाडौं उपत्यकामा बिहीबार थप २ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्। बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो काठमाडौं उपत्यकामा मात्र २ हजार २ सय २५ जना कोरोना संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा १७८९, ललितपुरमा ३०३ र भक्तपुरमा १३३ जना रहेका छन्।

काठमाडौं उपत्यकामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वातै बढिरहेको छ। एक हप्ताअघि साउन २८ गते उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः १ हजार ४०, १ सय ४४ र ७३ कोरोना संक्रमित थिए। एकहप्तापछि बुधबार साँझको तथ्यांकमा यो संख्या निकै बढेको देखिन्छ।

बुधबारसम्मको तथ्यांकअनुसार काठमाडौंमा दैनिक १०७ जनाको दरले संक्रमित थपिरहेका छन्। ललितपुरमा भने २२ र भक्तपुरमा ८ जनाको दरले संक्रमित थपिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार काठमाडौं उपत्यकामा २ सय वटा भेन्टिलेटर तथा ४ सय वटा आइसियु रहेका छन्। यो संख्या उपत्यकाभित्र रहेका निजी तथा सरकारी अस्पतालमा रहेका भेन्टिलेटर तथा आइसियुको संख्या रहेको अघिकारीले बताए।

काठमाडौंमा उपत्यकामा यही दरले संक्रमितहरु बढ्नथाले भोलिका दिनमा स्वास्थ्यका पूर्वाधारहरुको कमी हुने बताए। त्यसका लागि सम्बन्धित पक्षहरुले अहिल्यैदेखि तयारी गर्न जरुरी देखिन्छ।

संक्रमितहरु बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा जारी गरिएको छ।

जनस्वास्थ्य विज्ञहरुले निषेधाज्ञा जारी गरिएको समयमा संक्रमणको दर नबढेपनि संक्रमितहरुमा गम्भीर लक्षण देखिए उपत्यकामा उपलब्ध स्वास्थ्य पूर्वाधारहरु अपुग हुने बताएका छन्।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बुधबारबाट जारी गरिएको निषेधाज्ञाले आगामी दुई हप्तामा भविष्यमा आउनसक्ने अवस्थाको पूर्वारुप देखिने बताए।

विश्वस्वास्थ्य संगठनका अनुसार संक्रमण पुष्टि भएकाहरुमध्ये ५ प्रतिशतलाई आइसियु वा भेन्टिलेटर आवश्यक हुन्छ। संक्रमण पुष्टि हुने सबैलाई आइसियु वा भेन्टिलेटर आवश्यक पर्ने अवस्था नआउने पुन बताउँछन्। ‘अहिलेको अवस्थालाई हेर्ने हो भने संक्रमित सबैलाई यसले गम्भीर अवस्थामा लैजान्छ भन्ने देखिँदैन,’ उनी भन्छन्, ‘तर, गम्भीर संक्रमितहरु धेरै भएमा अहिले काठमाडौंमा भएका पूर्वाधारहरु अपुग हुन्छन्।’

पुनका अनुसार कोरोना संक्रमितहरुमा गरिएका अध्ययन अनुसन्धानले लक्षण देखिने समयावधि (१४ दिन)सम्ममा उक्त व्यक्तिले दुईदेखि तीन जनालाई संक्रमण सार्न सकेको हुन्छ। बुधबारसम्म आवतजावत गरेका व्यक्तिहरुमा संक्रमण भएमा ‘कन्ट्याक्ट ट्रेर्सिङ’बाट उनीहरुलाई सम्पर्क गर्न पनि सम्भव नरहेको उनी बताउँछन्। ‘आगामी दुई हप्तासम्म काठमाडौंमा मानिसहरुको आवतजावतलाई बन्द गर्दा आउने परिणामले नै भविष्यमा कस्तो अवस्था आउँछ भनेर पूर्वानुमान गर्न सकिनछ,’ पुन भन्छन्।

त्यस्तै जनस्वास्थ्यविद् सुजन बाबु मरहठ्ठाले निषेधाज्ञा जारी भएसँगै संक्रमणको दर नबढेपनि उपत्यकामा संक्रमणको जोखिम भने कम नहुने बताए। ‘निषेधाज्ञा सकिएको एक हप्तापछि संक्रमण दर घट्नसक्ने सम्भावना छ,’ उनी भन्छन्, ‘तर, जोखिम भने कम हुँदैन। सरकारले यो समयमा आगामी दिनको लागि तयारी गर्नुपर्छ।’

मरहठ्ठाले पनि काठमाडौंमा उपत्यकामा यही दरले संक्रमितहरु बढ्नथाले भोलिका दिनमा स्वास्थ्यका पूर्वाधारहरुको कमी हुने बताए। त्यसका लागि सम्बन्धित पक्षहरुले अहिल्यैदेखि तयारी गर्न जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट