काम नपाइने डरले अब बोल्न डराउनुहुँदैन : सुरक्षा पन्त (अन्तर्वार्ता)-Sutra News

काम नपाइने डरले अब बोल्न डराउनुहुँदैन : सुरक्षा पन्त (अन्तर्वार्ता)

शनिबार, ३१ साउन २०७७

शनिबार, ३१ साउन २०७७

जतिबेला ‘आमा’ फिल्मका लागि अभिनेत्री सुरक्षा पन्तले आफ्नो लामो कपाल खौरिन तयार भइन्, त्यसले अभिनयप्रतिको उनको समर्पण र त्याग कति बलियो छ भन्ने बुझ्न मद्दत गर्‍यो । सिभिल इन्जिनियरिङ पढेकी उनी यतिबेला फिल्मको अभिनयमा सक्रिय छन् । ‘अझै पनि’बाट अभिनय यात्रा सुरु गरेकी उनले ‘गोपी’, ‘धनपती’, ‘आमा’ आदि फिल्ममा अभिनय गरेकी छन् । बौद्धिक अभिनेत्रीको छबि बनाएकी उनी महिलाका मुद्दामा सशक्त सुनिन्छिन् । उनीसँग सूत्रन्युजका लागि निशा बजगाईले गरेको कुराकानीको सम्पादीत अंश।



‘लकडाउन लाइफ’ कसरी बित्यो ?

एकजना मान्छेले घरमै बसेर आफ्नो समयलाई कसरी सिर्जनशिल बनाउन सक्छ भन्नेमा कहिल्यै ध्यान गएको थिएन। त्यसैले पनि मेरो लकडाउन समय अनुत्पादक भयो । अर्को पाटोबाट हेर्दा भागदौडपूर्ण जीवनबाट कताकता विदा पाएकोजस्तो महसुस पनि भयो ।

तीनचार महिना काम नगरी बस्नुपर्दा छटपटी व्यापक भयो ? 

‘ग्याप’ भनेको कलाकारको लागि एकप्रकारको काम नै हो । कलाकारिता १०–५ को जागिर होइन । कुनै समय एक्कासी फिल्म आउन पनि सक्छ, कुनै समय लामो समयसम्म नहुन पनि सक्छ । लकडाउनको समयमा कामको ‘ग्याप’ भयो भनेर मलाई त्यस्तो चिन्ता भएन । म खुसी नै थिएँ । कामको सिलसिलामा आफूलाई समय दिन पनि पाएको थिइनँ । काम गर्दागर्दै कहिलेकाँही यस्तो भइदन्छ कि एकछिन बसेर कामको मूल्याकंन गर्ने समय हुँदैन । फिल्म गरिरहेको बेला गरेको गरेकै मात्रै हुन्थ्यो । तर, गुणस्तरीय कामचाहिँ नआउने भएको थियो ।

यो बेला घरमा बसेर आफ्नो कामलाई हेर्ने मौका पाएजस्तो लाग्यो । धेरै छटपटिचाँहि भएन। तर, यो बेला जुन किसिमको ऊर्जा आइरहेको छ, सिनेमालाई हेर्ने दृष्टिकोणमा बदलाव आइरहेको छ । यसले फेरि काम गर्ने हुटहुटी जागिरहेको छ ।

भिडियो हेर्नुस्:

लकडाउन खुलेपछि धेरैजसो कलाकार म्युजिक भिडियो, वेवसिरिजलगायतमा व्यस्त हुनुहुन्छ । तपाईँचाहिँ केमा व्यस्त हुनुहुन्छ?

एउटा विद्यार्थी भएकाले मेरो अर्को विडम्बना छ । मास्टर्स सकिएपछि मेरो थेसिसको समयमा लकडाउन भएको थियो । मैले मेरो थेसिस गर्नुपर्ने थियो । लकडाउनको कारण फिल्ड जान पाएको छैन ।

अहिले मैले आफ्नो समय थेसिसकै रिसर्चको काममा खर्चिरहेको छु । सँगसँगै सिनेमा पनि हेरिरहेको छु । म्युजिक भिडियोमा म पहिलेदेखि खासै सक्रिय छैन । वेवसिरिजचाहिँ मनपर्छ । प्रस्ताव पनि आइरहेका छन् । स्क्रिप्ट पढिरहेको छु । कहिल्यै नसोचेको टिमहरुबाट चाहिँ काम पाइरहेको छु । हेरौँ, के हुन्छ ।

महामारीका कारण सिनेमा हलहरु अझै बन्द छन् । यसले सिनेमाको डिजिटल बजार बढाउने सम्भावना कत्तिको देख्नुभएको छ ?

कलाकार भएरमात्रै होइन, दर्शकको नाताले हेर्ने हो भने पनि मलाई हल एकदमै मन पर्छ । सिनेमा भन्ने वित्तिकै म सिनेमा हललाई नै सम्झिन्छु । सिनेमा किन हुन्छ भन्दा सिनेमा हल भएकाले होजस्तो लाग्छ ।

त्यसैले म यो बेला सिनेमा हललाई ‘मिस’ गरिरहेको छु । सिनेमा हल खुल्छ खुल्दैन्, कहिलेबाट चलायमान हुन्छ, दर्शक कति आउँछन् भन्ने कुरामा मलाई चिन्ता लागिरहेको छ । सरकारले पनि सिनेमा हललाई अन्तिममा राखेको छ । खुलिसकेपछि पनि मानिसहरु जाने हुन कि होइनन् भन्नेमा मलाई चिन्ता लागिरहेको छ ।

एक किसिमले सिनेमा क्षेत्रलाई मारमा पार्छजस्तो लागिरहेको छ । तर, यो समयमा डिजिटल माध्यमप्रतिको चासोले केही आशा पनि देखाएको छ । अहिले मान्छेले घरमा बसेर विभिन्न माध्यमबाट हेर्दै नहेरेको फिल्म पनि हेरिरहनु भएको छ । विश्वका विभिन्न भाषाका सिनेमाहरु हेरिरहनुभएको छ । ग्लोबल सिनेमाहरु बुझिरहनुभएको छ । यसले गर्दा पनि डिजिटल माध्यमको सम्भावना छजस्तो लागेको छ ।

तर, यसको बजारलाई कसरी व्यवस्थापन र प्रयोगमा कसरी काम होला भन्नेमा म निश्चित छैन । माध्यम त छ, तर, नेपालमा यसलाई उत्पादक बनाएर प्रयोग गर्न सक्छौं वा सक्दैनौं भन्ने कुरामा म निश्चित छैन ।

अहिले मिटु वा शोषणकै कुरामा नीतिनियम अनुसार पीडितले न्याय र पीडकले सजाय पाउँदैमा पीडकले यो कुरा ‘रियलाइज’ गर्छ वा गर्दैन भन्ने कुरा बुझ्नुपर्छ । भोलिका दिनमा उसले आफ्नो गल्ती बुझ्ने मौका नपाउन सक्छ । त्यसैले दुवै पक्षलाई ‘रियलाइज’ गराउने काम गर्न आवश्यक छ ।

यो पाटोबाट हेर्दा त चलचित्र क्षेत्रको आर्थिक पक्षमा त निकै मार पर्ने देखिन्छ नि ?

एकदमै पर्छ । यो कुरालाई नकार्न मिल्दैन । तर, यसले के नयाँ कुरा निकाल्छ भन्ने कुरामा हामीले सोच्नुपर्छ । कम्तीमा यसले हामीलाई क्रियटिभ हुनुपर्छ पो भनिरहेको छ कि ? वा, हाम्रो लगानीलाई अर्कै तरिकाले गर्ने हो कि? स्क्रिप्टमा अलि बढी ध्यान दिने हो कि? नयाँ कन्सेप्ट ल्याउने हो कि? लो बजेटमा अलि ध्यान दिने हो कि ? सुटिङ गर्ने स्टाइललाई केही परिवर्तन गर्ने हो कि ? अथवा हाम्रो काम गर्ने शैलीलाई अलिकति सिर्जनसिल बनाउने हो कि? भन्नेजस्ता कुराहरुमा चलचित्रकर्मीहरुले ध्यान पुर्‍याउनुहोला भन्ने लाग्छ ।

लकडाउन अवधिमा नेपाली फिल्म क्षेत्रमा थुप्रै आवाजहरु उठ्यो, थुप्रै विवादहरु भए। कतिपयले यसलाई फुर्सदिलो हुँदाको परिणाम पनि भनिरहेका छन् । तपाईँ के भन्नुहुन्छ ?

यो कुरामा लकडाउन कारण हो भन्ने मन छैन । मान्छेहरु पहिलाबाटै यस्तो अवस्थाबाट गुज्रिसकेका थिए, गुज्रिरहेका छन् । कतिपयले भन्नु पनि भएको छ, आफ्नो दुःख सामाजिक सञ्जालमार्फत् देखाइपनि रहनुभएको छ । तर, मानिसहरुको ध्यान किन गएन भन्ने कुरा हो ।

अहिले मानिसहरु एकै कुरामा कन्द्रित हुनुहुन्छ । भन्नुको मतलब मानिसहरु धेरै जना डिजिटल प्लेटफर्ममा हुनुहुन्छ । मान्छेहरुको विचारलाई हेरिरहनुभएको छ । फुर्सदमा हुनुहुन्छ कताकता । त्यसले गर्दा कुनै पनि विषय आउँदा मान्छेलाई धेरै चासो हुने भइरहेको छ । अर्कातिर, यो कुरा यो समयमा भन्दा मानिसले बढि बुझ्लान भन्ने भएर लकडाउनको समयमा यस्तो कुरा बढी आएको देखिन्छ ।

तर, अहिले मात्रै समस्या सुनाइएको हो र अहिले मात्रै यो कुरा बाहिर आएको भन्न मिल्दैन । ध्यानचाहिँ अहिलेको समयमा उनीहरुमा गएको भन्न सकिन्छ ।

लकडाउनको समयमा घरमा बसिरहँदा तपाईँलाई अचम्मित बनाउने त्यस्तो कुनै खबर थियो ?

मलाई त्यस्तो आश्चर्य कुनै समाचारले बनाएको थिएन ।  कला क्षेत्रकै कुरा गर्नुहुन्छ भने कला क्षेत्रमा आएका कतिपय समस्याहरु आश्चर्यजनक लागेनन् । किनभने यी समस्या छन् । यो क्षेत्रमा सानो ठूलो मात्रामा यी कुराहरु हामीले देखिरहेकै हो, भोगिरहेकै हो । काम गर्दा यी कुराहरु भोगिरहेकै छौं ।

आश्चर्यभन्दा पनि यी कुराहरु अलि बाहिर आउँदा अलिकति खुसी लागिरहेको छ । कुनै पनि मुद्दाहरुलाई मानिसले महत्वका साथ हेर्न पाइरहनुभएको समयमा यी कुराहरु आउनु सुखद पक्ष हो । सबैलाई थाहा हुनुपर्छ यी कुरा । अरु बेला मान्छेहरु आफ्नै तनावमा हुन्थे । तर, अहिले सबै समस्याबारे थाहा पाउन सक्नुभएको छ उहाँहरुले । त्यसैले पनि यो समयमा यी आवाज आउँदा म खुसी छु । यसलाई सकरात्मकरुपमा नै लिनुपर्छ जस्तो लाग्छ ।

अभिनेत्रीहरुले यौन दुर्व्यवहारसम्म कुरा उठाउँदा पनि कलाकारहरु मौन देखिन्छन् । तपाईँ पनि खासै खुला भएर प्रस्तुत हुनुभएन । कलाकारहरु किन यस्तो विषयमा मौन देखिएका हुन् ?

योचाहिँ सिरियस मुद्दा हो । यसका आयामहरु विभिन्न छन् । यो मुद्दा पहिलाबाटै भए पनि यो लडाईँ भर्खर सुरु भएको हो । किनभने कानुन बनेको पनि धेरै भएको छैन । त्यसैले पनि यो मुद्दा ताजा हो ।

त्यसैले पनि धेरैसँग बोल्नलाई कन्फिडेन्स नभएको जस्तो लाग्छ मलाई । अरुमात्रै होइन, म पनि कन्फिडेन्ट छैन । यो लडाईँ हाम्रो लागि नयाँ हो । यसलाई कानुनको दायरामा के कस्ता किसिमले लैजानुपर्छ भन्ने थाहा नपाउँदा अरु कलाकारहरु खुलिरहनुभएको छैनजस्तो लाग्छ । खुल्दिनँ नै भनेर कसैले पनि व्यक्तिगतरुपमा लिनुभएको जस्तो लाग्दैन ।

यो मुद्दा आएपछि कुनै व्यक्तिले नबोल्नुभएको कारणचाहिँ यो लडाईँलाई उहाँहरुले चुपचाप हेरिरहनुभएकाले जस्तो लाग्छ । मैले पनि चुपचाप नै हेरिरहेको थिएँ । किनभने एउटा व्यक्तिले भोगेको कुरा, उसको लडाईँ हो । त्यो पीडा उसले मात्रै भोग्न सकेको हुन्छ । अरु कसैले पनि त्यो पीडा बुझ्न सक्दैन ।

त्यसैले पनि केही समय त्यो व्यक्तिलाई आफ्नो कुरा राख्न दिनुपर्छ । मलाई लाग्छ, केही समय हामी बोल्नु पनि हुँदैन । तर, एउटा बिन्दुमा यो मुद्दा कसरी बढ्दै गयो भने महिला कलाकार बोल्दै नबोलेको कुरालाई प्रयोग गर्न थालियो । त्यो मानसिकता हाबी हुन थाल्यो । कुनै पनि मान्छेले कुनै पनि विषयमा त्यो बेला बोल्छ, जब ऊ त्यो विषयसँग नजिक हुन्छ ।

एउटा महिलाको, मिटुको वा यौन शोषणको कुरा एकदम व्यक्तिगत हुन्छ । उसले भोगेको कुराहरु अरुसँग सम्बन्धित हुन सक्दैन । अरुले त्यो विषयमा प्याच्च बोल्न सक्दैनन् । नबोल्ने नै निर्णय गर्लान् ।

तर, नबोलेकै कारण जब त्यही कुरालाई घुमाउरो पाराले महिलाको इज्जतमा प्रश्न गर्न थालिन्छ, महिलाहरुलाई काम गर्ने, कपडा लगाउने, बस्ने शैलीलाई लिएर टीकाटिप्पणी गर्ने हुन थाल्यो भने त्यो समस्या हुन्छ । त्यसमा सबै महिला सम्बन्धित हुन थाल्छन् । यो समयमा कलाकारहरुले बोल्नुभएको छ । मैले पनि बोल्ने प्रयास गरेको छु । यद्यपि यो लडाईँ नयाँ भएकाले सबै जनाले खुलेर बोल्न नसक्नु भएको होजस्तो लाग्छ ।

केही दिनअघिमात्रै अभिनेत्री केकी अधिकारीले यस्ता मुद्दामा बोल्दा रोजीरोटी गुम्ने या काम नपाइने डरले पनि धेरैजसोले नबोलेको हुनसक्ने बताउनुभयो ।  यसमा सहमत हुनुहुन्छ ?

कोही कोही मान्छेको हकमा त्यस्तो डर पनि हुन सक्छ । तर, सबै जनामा यो लागू हुँदैन । सबै जना काम नपाइएला भन्ने डरले चुप बस्नुहुन्छ भन्ने मलाई लाग्दैन । मान्छेको सोचमा भएको यो विविधतालाई सम्मान गर्नुपर्छ। तपाईँले कसैलाई पनि यो तरिकाले लड्नु न भन्न मिल्दैन । एउटा व्यक्तिले मन भित्रैबाट लडोस् न । त्यतिबेला मज्जाले लड्छ । तर, जब तपाईँले यो विषयमा त लडाईँ गर भन्नुहुन्छ, जबरजस्ती माहोल बनाइदिँदा त्यो व्यक्ति बोल्नकै लागिमात्रै बोलिदिन्छ । र, त्यो मुद्दा पनि सेलाएर जान्छ ।

अर्को कोही बोल्नदेखि डराइरहनु सही होइन ।  अहिलेको समयमा डरले गर्दा बोल्नुभएन भन्दा मैले माने । त्यो कुरालाई सम्मान गर्न सकिन्छ । तर, अबको दिनमा यत्ति ठूलो बहस चलिसकेपछि पनि चुप लाग्नु भनेको मान्य हुँदैन ।

हामी आफैँले पनि काम सिर्जना गर्न सक्छौं । चलचित्र क्षेत्र भनेको कसैको पनि पेवा होइन । स्वतन्त्र क्षेत्र हो । समूहमा काम गर्नुपर्छ । कसैको चित्त दुखाउन मिल्दैन । यो एक किसिमको बुझाई भयो । तर, भोलि पनि यस्ता मुद्दा आउँछ भने काम नपाइएला भन्ने डरले हाम्रो आवाजलाई दबिन दिनु हुँदैन । एउटी महिलाले आफ्नो लडाईँ लड्न खोज्दा अरु १० जनाले आएर उसलाई यो गर, त्यो गर भन्नु हुँदैन । उसलाई आफैँ लड्न दिनुपर्छ । उसको आफ्नै मस्तिष्कले लड्न दिनुपर्छ ।

अभिनेत्री पूजा शर्मामाथि ‘बडी सेमिङ’ हुँदा धेरैजसो कलाकार बोले तर साम्राज्ञीले आफूमाथि भएको ‘ह्यारेस्मेन्ट’को कुरा बाहिर ल्याएँदा प्रायः चुपचाप देखिए । समीक्षकदेखि प्रशंसकले यो विषयमा प्रश्न गरिरहेका छन् । यहाँ अनुहार हेरेरमात्रै किन बोलिँदैछ ?

यो एकदम सही कुरा हो । यहाँ आफ्नो मान्छेका लागि मात्रै बोल्दिने किसिमको प्रवृत्ति देखिएकै हो । यसमा हामीले मनन् गर्नैपर्छ । जब शारीरिक टिप्पणीको कुरा आयो, मैले त्यो भिडियो हेरेँ । त्यो अन्तर्वार्ताको भिडियो हेर्दा प्रस्तोताको बोलीमा दादागिरीको झल्को आइरहेको छ । त्यो निकै नकरात्मक कुरा हो । समस्या हो, त्यो मान्छेले बोलेको कुरा । उहाँले पुस्ताहरुको कुरा गरेको गलत हो ।

यो देखेपछि मलाई लाग्यो, अब हामीले फर्किएर फेरि ‘मिटु’को कुरा उठाउनुपर्छ । नयाँ लडाईँ छ भनेर चुप बस्नेभन्दा पनि अब झन् चर्को आवाज उठाउनुपर्ने देखिएको छ । दादागिरीविरुद्ध हामीले आवाज उठाउनुपर्छ । सत्यको पक्षमा लड्दा ग्रुपिजम हुनु हुँदैन । डराउनु भएन । बोल्न रोक्ने डरलाई हटाउन आवश्यक छ ।

ग्रुपिज्मको प्रभावका कारण पनि साम्राज्ञीको मुद्दामा धेरै मौन बसेको टिप्पणी पनि भइरहेको छ । तपाईँले कहिल्यै यस्तो गुटबन्दीको सिकार भएको महसुस गर्नुभएको छ ? 

मलाई आभासचाहिँ हुन्छ । कतिपय कुराहरुमा मलाई महत्व नदिएको महसुस हुन्छ । कतिपय अन्तर्वार्तामा निरन्तर एकै व्यक्ति बोलाएजस्तो लाग्ने, कुनै प्रोजेक्टमा एउटै मान्छे आबद्ध भएको देख्दा आफूमा ‘के मलाई महत्व नदिएको हो कि?’ भन्ने प्रश्नचाहिँ चलिरहन्छ । मेरो दिमागमा महत्व नदिएकै सत्य हो वा मैले धेरै सोचेको हो भन्ने प्रश्न उब्जिरहन्छ । त्यही भएर यसलाई ग्रुपिजम भन्न चाहन्न् । म अझै बुझिरहेको छु ।

मलाई आफूमा विश्वास छ । म राम्रै काम गर्छु र मेरो ध्येय राम्रैको लागि हुन्छ भन्नेमा मलाई विश्वास छ । त्यसैले पनि मलाई यो कुराले खासै असर गर्दैनजस्तो लाग्छ । केही भएमा म यसलाई चिर्न पनि सक्छुजस्तो लाग्छ । समस्याभन्दा पनि समाधान हेर्ने भएकाले मलाई यसले धेरै असर गर्लाजस्तो लाग्दैन ।

यद्यपि फिल्म क्षेत्रमा ग्रुपिज्म छ भन्ने कुरामा मचाहिँ सहमत छु । त्यसैले आफूसँग नजिक नभएकै कारण मलाई महत्व नदिइएको हो भने म त्यसमा पनि खुसी नै छु । मलाई त्यस्तो किसिमको महत्व पनि चाहिँदैन ।

कामको लागि यो क्षेत्रको कुनै व्यक्तिसँग नजिक हुनुपर्छ भने त्यो म चाहँदिन । प्रोफेसनल रुपमा सम्बन्ध छ । कामका लागि भेट हुन्छ । तर, कसैलाई महत्व दिएर काम पाउने, धेरै काम पाउने होस् भन्ने म चाहदिनँ।

तपाईँको विचारमा नेपाली फिल्म क्षेत्रमा देखिएका दुर्व्यवहार आदि समस्याको दिर्घकालीन समाधान के हुनसक्छ ?

हामीले यो सिस्टमलाई प्रश्न गर्नुपर्छ । एकअर्कालाई प्रश्न गरेर, एकअर्कासँग लडेर केही समयको लागि यो समस्या हल होला । सधैंको लागि यी समस्या समाधान हुन सिस्टमलाई प्रश्न गर्नुपर्छ । यत्रा संघसंस्थाहरु छन्, कलाकार संघ छ, बोर्डहरु छन्, उहाँहरुले बनाउने नीति-नियमलाई अलि परिमार्जित गरेर लैजानुपर्छ । कला क्षेत्रमा कुनै महिलालाई केही भएमा उसले यी क्षेत्रमा जान सक्नुपर्छ । नीतिगत क्षेत्रमा आवाज उठाउनुपर्ने हुन्छ । म त्यो गरी नै रहन्छु । म एउटामात्रै घट्नालाई उठाएर अगाडि लैजान सक्दिनँ । बरु, त्यसको केन्द्रबिन्दु के हो भन्ने जानेर त्यसमाथि प्रश्न गर्न म रुचाउँछु ।

अहिले मिटु वा शोषणकै कुरामा नीतिनियम अनुसार पीडितले न्याय र पीडकले सजाय पाउँदैमा पीडकले यो कुरा ‘रियलाइज’ गर्छ वा गर्दैन भन्ने कुरा बुझ्नुपर्छ । भोलिका दिनमा उसले आफ्नो गल्ती बुझ्ने मौका नपाउन सक्छ । त्यसैले दुवै पक्षलाई ‘रियलाइज’ गराउने काम गर्न आवश्यक छ । अहिले प्रश्नमात्रै गर्ने काम भएको छ । तर, बुझाउने काम पनि हुन आवश्यक छ ।

अहिले भइरहेको कुराले घृणा उत्पन्न गराएको छ । कानुनी दायरालाई लिएर अगाडि जानुपर्छ । तर, योसँगै महिला र पुरुष कलाकार सँगै बसेर आफूलाई चित्त नबुझ्ने कुरा साट्ने बाटो हुनुपर्छ । मेरो योगदान यो रहन्छ ।

मलाई कतिपयले मेरो उचाई वा नाकको कुरा गर्नुहुन्छ । कतिपयले मेरो जातको कुरा गर्नुहुन्छ । शारीरिक टिप्पणीको कुरामात्रै नभएर जात र वर्णको कुराहरु पनि छन् ।

फिल्म क्षेत्रका यी मुद्दाहरु बाहिर आइरहँदा पछिल्लो समय कलाकारहरु मिडियासँग कुराकानी गर्नै डराइरहेको अवस्था छ । यसलाई कसरी लिनुहुन्छ ?

एउटा त काम नपाउने डर । पहिलाबाटै काम गर्दै आएको हुँदा काम नपाइने डर छ उहाँहरुलाई । तर, पैसा, चर्चा र पदले मान्छेलाई गलत बनाइरहेको हुन्छ । मलाई लाग्छ, पहिलाको व्यक्ति सम्झिएर यस्तो अन्तर्वार्तामा नआउनु भएको होला ।

र, सँगै यो नयाँ मुद्दा भएकाले आफू के बोल्ने भन्ने कुरामा कन्फिडेन्ट नभएर पनि बोल्न नआउनुभएको होला । यो मुद्दा पहिला पनि उठेको थियो । तर, यो मुद्दाले त्यो बेला अहिलेको जस्तो चर्चा पाएको थिएन । यी कुराहरुमा नकरात्मक र सकरात्मक दुवै पक्ष छन् । तर, ती कुराभन्दा पनि मुख्य, मुद्दालाई ध्यानमा राखेर हामी अगाडि बढ्नुपर्छ ।

तपाईँ दुर्व्यवहारमा परेको महसुस गर्नुपरेको छ ? 

व्यक्तिगतरुपमा मैले यो महसुस गरेको छैन । मेरो पनि कति धेरै साथीहरु हुनुहुन्छ, जसले मसँग अनौपचारिक नै व्यवहार गर्नुहुन्छ । हसिमजाक हुन्छ, अंगालो मारिन्छ । तर, मलाई त्यो गलत होजस्तो लाग्दैन । यो कुरा महिलाले थाहा पाउँछ । मैले त्यो किसिमको कुनै पनि गलत वा दुर्व्यवहार भोगेको छैन ।

‘बडी सेमिङ’ अर्थात् शारीरिक टिप्पणीको सिकार हुनुपरेको छ ?

मलाई कतिपयले मेरो उचाई वा नाकको कुरा गर्नुहुन्छ । कतिपयले मेरो जातको कुरा गर्नुहुन्छ । शारीरिक टिप्पणीको कुरामात्रै नभएर जात र वर्णको कुराहरु पनि छन् ।

मलाई यी सबै कुराहरुले असर गर्दैन । मजस्तो छु, सबै किसिमले ठीक छु। तर, कसैलाई सानो टिप्पणी गर्दा पनि त्यसले मानसिकरुपमा समस्या ल्याउन सक्छ । जुन एकदम नकरात्मक कुरा हो । त्यो अन्त्य हुनुपर्छ ।

मलाई के अच्चम लाग्छ भने वर्षौंदेखि अभिनय क्षेत्रमा काम गर्दै आउनुभएका कलाकार वा चलचित्रकर्मीहरुलाई ‘बडि सेमिङ’बारे केही पनि जानकारी छैन । कि उनीहरुले जानी जानी गरिरहनुभएको छ ? उहाँहरुलाई यो कुरा गैरकानुनी हो भन्ने पनि थाहा छैनजस्तो लाग्छ । यस्तो बेला उनीहरुलाई गाली गर्ने वा बुझाउने भन्ने कुरा आउँछ ।

अन्त्यमा, तपाईँको ‘फ्युचर प्रोजेक्ट’बारे केही सुनाउनुस् ?

अहिले त केही छैन । कुनै काम आएको छैन । राम्रो काम आयो, राम्रो प्रोजेक्ट छ भने र त्यो काममा मलाइ लिइयो भने म त्यो काम गर्छु । समाजलाई केही प्रभाव पार्ने प्रोजेक्ट आएमा म काम गर्न तयार नै छु । अहिले म नियमित गृहिणी किसिमको भूमिकामा मात्रै देखिएको छु । त्यसैले, यो भूमिकामा केही परिवर्तन ल्याउन पनि मन छ । पहिलेभन्दा केही फरक अभिनय हुने प्रोजेक्टमा काम गर्न मन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट