म्युजिक भिडियोमा ‘स्टोरी टेलिङ’ : गीत ‘सुन्ने’बाट अब ‘हेर्ने’ जमाना-Sutra News

म्युजिक भिडियोमा ‘स्टोरी टेलिङ’ : गीत ‘सुन्ने’बाट अब ‘हेर्ने’ जमाना

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

काठमाडौं- पछिल्लो समय ‘स्टोरी टेलिङ’ शैलीमा गीतका भिडियोहरु थुप्रै उत्पादन भइरहेका छन् । चलचित्र क्षेत्रमा स्थापित भइसकेका कलाकारहरुले अहिले यस्ता ‘स्टोरी टेलिङ’का म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ।



‘सर्टमुभि’जस्तै कथाहरु म्युजिक भिडियोले समेटिरहेका देखिन्छन् । भिडियोमा मोडलको प्रयोग, नाचगानभन्दा पूर्णरुपमा भिन्न देखिन्छन्, अहिले निर्माण भइरहेका यी भिडियोहरु । ‘आर्टमान्डु’ का अंकित बाबु अधिकारी यसलाई कलात्मक बुझाइको रुपमा परिभाषित गर्छन् ।

त्यसो त, नेपालमा गीतसंगीत, सिनेमा लगायतका कुरालाई ‘बुझाइ’भन्दा पनि मनोरञ्जनका साधनको रुपमा बढी हेरिन्छ । तर, आफूहरुले भने गीतलाई त्योभन्दा केही माथि उठेर भिडियो निर्माण गरेको अधिकारी बताउँछन् ।

‘हाम्रो सुरुवातदेखिकै जोड कुनै न कुनै रुपमा कथा भन्ने थियो,’ उनी भन्छन्, ‘म्युजिक भिडियो भन्नेवित्तिकै एकदम हलुकासँग लिएर बनाउने चलन थियो । मोडलको अनुहार राखेर त्यसैको भरमा गीत चलिरहेको हुन्छ । हामीले त्योभन्दा केही फरक गर्ने कोसिस गरिरहेका छौं ।’

चर्चित मोडल वा चर्चित कलाकारलाई भिडियोमा राखेर गीत सार्वजनिक गर्दा गीतले एक्कासी चर्चा पाउँछ । तर, गीतको भिडियोमा निर्देशक वा गीत निर्माणमा सहकार्य गर्नेहरुको धेरै मिहेनत परिरहेको हुँदैन । यस्तो बेला चर्चामा आउने गीतको भिडियो राम्रो वा कलात्मक भएरभन्दा पनि मोडलको अनुहार भएर आएको हो किजस्तो पनि लाग्छ । अधिकारी ‘आर्टमाण्डु’को तर्फबाट बोल्दै गीतसंगीत र म्युजिक भिडियोमा नै केही फरकपन र मिहेनत देखिने काम आओस् भनेर चलिरहेको भन्दा अलग काम आफूहरुले गरेको बताउँछन् ।

भिडियो निर्माण गरिरहँदा गीतकारले गीत लेख्दा गरेको कल्पना,  गायकले गाउँदा गरेको कल्पना, संगीतकारले संगीत बनाउँदा गरेको कल्पनालाई समेटिनुपर्ने गीतकार अधिकारी बताउँछन् ।

‘आर्टमान्डु’ ले ६ दिनअघि ‘तीनपाते’ बोलको गीत सार्वजनिक गरेको छ, जहाँ ‘स्टोरी टेलिङ’ शैली नै अपनाइएको छ । सुजन चापागाईं र विद्या तिवारीको आवाजमा रहेको गीतमा एक युवकको व्यवसायी बन्ने सपनालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा छुर्पीको व्यापार गरिरहेका युवकले देख्ने सपना र उसको प्रेमलाई प्रस्तुत गरिएको छ ।

‘एउटा सिनेमामा जस्तै गीतको भिडियोमा नै कथा भन्ने गरिएको छ,’ उनी भन्छन्, ‘यस्तो गर्दा गीतको मर्मलाई ध्यानमा राखेर कथाअनुसारको भिडियो निर्माण गरिरहेका छौं ।’

अहिले नेपाली संगीत बजारमा ‘स्टोरी टेलिङ’ शैलीका साथ उल्लेख्य मात्रामा म्युजिक भिडियो निर्माण भइरहेका छन् । केही दिनअघि मात्रै लक्ष्मी बर्देवा र जीवन भट्टराई अभिनित तथा महेन्द्रराज बराल र अस्मिता अधिकारीको आवाजमा ‘रुमालै चिनो धोई धोई’ बोलको गीत सार्वजनिक भएको थियो । भिडियोमा दुई प्रेमी बीचको प्रेमलाई प्रस्तुत गरिएको उक्त गीतको म्युजिक भिडियोलाई लक्ष्मी र जीवनले नै निर्देशन गरेका छन् ।

लक्ष्मी आफ्नो ‘ब्याकग्राउण्ड’को कारणले यस्ता भिडियोहरुको निर्माणमा भूमिका खेलिरहेको बताउँछिन् । योसँगै उनको आफ्नो व्यक्तिगत बुझाई पनि छ । ‘जति बेला नाचगान हुने म्युजिक भिडियोहरु व्यापक बनिरहेका थिए, त्यो बेला म यो क्षेत्रमा नै थिइनँ’ उनी भन्छिन्, ‘अहिले पनि यस्ता गीतका भिडियोहरु बनिरहेका छन् । तर, म आफूलाई हिरोइन वा गीतको भिडियोमा नाच्ने मोडलको रुपमाभन्दा पनि कथा भन्नसक्ने मान्छेको रुपमा बुझ्छु । यसले पनि भिडियो निर्माणमा भूमिका खेलिरहेको हुन्छ ।’

आफ्नो ‘ब्याकग्राउण्ड’ रंगमञ्च भएकाले आफू म्युजिक भिडियोमा ‘स्टोरी टेलिङ’ गर्ने शैली अपनाउन पुगेको जस्तो लाग्ने बताउँछिन् लक्ष्मी । ‘गीत आफैँले एउटा भाव बोकिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘गीत आफैँले पनि केही न केही बोलिरहेको हुन्छ, हामीले त्यसैलाई भिडियोमा देखाउने हो ।’ उनका अनुसार गीत सुन्दा आफू कहाँ पुगिन्छ, त्यही कुरालाई म्युजिक भिडियोमो प्रस्तुत गर्ने गरिन्छ ।

‘स्टोरी टेलिङ’ शैली अपनाएर बनाइएका भिडियोहरुले दर्शक–स्रोता माझ पनि राम्रो चर्चा पाइरहेका छन् । प्रकाश सपुतको संगीत तथा शब्द र देवी घर्तीको आवाजमा रहेको पछिल्लो गीत ‘बदला बरीलै’ को भिडियोमा पनि स्टोरी टेलिङ शैलीलाई नै अपनाएर महिला हिंसा (बलात्कार) र त्यसपछिको घट्नालाई देखाइएको छ । उक्त गीतको युट्युब कमेन्टमा भिडियोलाई लिएर सकरात्मक प्रतिक्रिया आएका छन् । त्यस्तै, चार दिनअघि सन्तोष लामाको आवाज र हरि लम्सालको संगीतमा ‘डर छैन’ बोलको गीतको म्युजिक भिडियो, जहाँ अभिनेता विपिन कार्की र लोकमनि सापकोटा भरियाको रुपमा देखिएका छन्, त्यसमा पनि सकरात्मक प्रतिक्रिया आएका छन् ।

सन् २०१६ मा अंकितबाबु अधिकारीले गरिरहेको ‘म्युजिकल स्टोरी टेलिङ’बारे ‘द डिप्लोमेट’ले पनि फिचर गरेको थियो । उनका दुई गीत ‘राम नाम’ र ‘नौ फुटे भूत’को म्युजिक भिडियोलाई लिएर गरिएको उक्त फिचरमा उनलाई नेपालका ‘म्युजिक स्टोरी टेलर’को रुपमा परिचय दिइएको थियो । 

फरक शैली अपनाइरहेका संगीतकर्मी तथा म्युजिक भिडियो निर्देशकहरुको कामलाई चौतर्फी रुपमा सकरात्मक प्रतिक्रिया आएकाले पनि थपयस्तै प्रोजेक्टमा काम गर्न हौसला पाइरहेको अधिकारी बताउँछन् ।

चुनौती र मिहेनत धेरै

पहिलादेखि नै बनिरहेको शैलीमा बन्ने म्युजिक भिडियोमा प्रायः कलाकार नाचेको र एउटै ‘लोकेसन’ मा सुट भइरहेको देखिन्छ । तर, अहिले बन्न थालेका ‘स्टोरी टेलिङ’ का भिडियोहरुमा भने लोकेसन, कलाकारको छनोट तथा निर्देशकीय पक्षलाई बढी महत्व दिने गरिएको छ । 

लक्ष्मी गीत सुनेपछि त्यसको लोकेसन छान्ने कुरामा कत्ति पनि ‘कम्प्रोमाइज’ गर्दिनन् । उनलाई लाग्छ, भिडियोमा कथाभन्दा ‘लोकेसन’ले पनि ठूलो महत्व राखिरहेको हुन्छ । ‘गीत सुनेपछि जुन कथा गीतसँग मिल्ने हुन्छ, त्यसमा कुनै कम्प्रोमाइज हुँदैन,’ उनी भन्छिन्, ‘गीत सुनेपछि कस्ता पात्र चाहिन्छ, कस्तो लोकेसन चाहिन्छ, कस्तो कथा चाहिन्छ भन्ने कुरा बुझिन्छ । यी कुराहरुलाई लिएर भिडियो निर्माण गर्दा बढी मिहेनत परिनै हाल्छ ।’

‘स्टोरी टेलिङ’ भन्नासाथ सामान्य कथा शैलीमा भिडियो निर्माण गरिने कुरालाई बुझ्ने प्रवृत्ति रहेको अहिले चर्चामा रहेको गीत ‘के माया लाग्छ र ?’ का म्युजिक भिडियो निर्देशक नवीन चौहान बताउँछन् । यो गीतको भिडियोमा पनि कथा नै प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा कथा देखाउनु आफैँमा चुनौतिपूर्ण र बढी मेहनत पर्ने बताउँदै चौहान भन्छन्, ‘गीतको म्युजिक भिडियोमा ‘स्टोरी टेलिङ’ गरिँदा बढी मेहनत गर्नुपर्छ । तीन घण्टाको सिनेमामा कथा देखाउँदा ‘स्टोरी टेलिङ’मा समेत निर्देशकहरु चुकिरहेको बेला पाँच मिनेटको गीतको म्युजिक भिडियोमा कथा देखाउनु निकै चुनौतिपूर्ण रहेको बताउँछन् ।

‘अहिले देखिएका नाच्ने–नचाउने किसिमका भिडियो एउटै लोकेसनमा हुन्छ,’ अंकितबाबु अधिकारी भन्छन्, ‘तर, त्यसमा स्टोरी छिर्नेवित्तिकै मेहेनत बढी हुन्छ । एक त, गीत सुनेपछि भिडियोमा देखाउन कथा बनाउनु पर्‍यो । ‘लोकेसन’ फरक–फरक हुनसक्छ । मेहेनत पनि बढी लाग्छ ।’ कथा थपिनेवित्तिकै भिडियो निर्माणमा आर्थिक, मानसिक तथा शारीरिक सबैरुपमा मेहनत बढी लाग्ने अधिकारी बताउँछन् ।

‘मैले गीतमार्फत् भिडियो स्टोरी भनिरहँदा कतैकतै मनभित्र गीतको मर्म मरिरहेको छ किजस्तो लाग्छ। खासमा गीत हेर्नेभन्दा सुन्ने नै हो । त्यसैले पनि मलाई त्यस्तो लाग्छ ।’

 

कुनै पनि गीतको आफ्नै कथा हुन्छ । गीत सुन्दा दर्शक वा स्रोताले एक किसिमको दृश्य कल्पना गरिरहेका हुन्छन् । म्युजिक भिडियोको निर्माण नहुँदा गीत सुनेर दृश्यको कल्पना हुन्थ्यो । संगीतकार बिबि अनुरागी भन्छन्, ‘त्यो बेला आफूसँग गीतलाई जोडेर दर्शकले दृश्यको कल्पना गर्थे । मान्छे अनुसार गीतको दृश्य फरक फरक हुन्थ्यो ।’

तर, अहिलेको अवस्थामा गीत सुन्ने चीज नभएर हेर्ने चीज भइसकेको छ । गीतको भिडियो निर्माण गरिरहँदा आर्थिक पक्ष पनि बलियो चाहिन्छ । झन् ‘स्टोरी टेलिङ’को भिडियो निर्माण गरिरहँदा थप खर्च हुन्छ । संगीतकार अनुरागी भन्छन्, ‘अब गीत हेर्नै आर्थिकरुपमा बढी लगानी गर्नुपर्ने देखिएको छ । गीत राम्रो छ र त्यसले यस्तै ‘स्टोरी टेलिङ’को भिडियो निर्माण गर्न चाहँदा लगानी धेरै गर्नुपर्ने हुन्छ ।’

गीतको भिडियोमा देखाइएको कथा र दर्शकले कल्पना गरेको दृश्य मिल्ने–नमिल्ने भन्ने प्रश्न निकै गहन भएको अहिले चर्चामा रहेको गीत ‘के माया लाग्छ र ?’ का म्युजिक भिडियो निर्देशक नविन चौहान बताउँछन् । ‘म आफूले एकपटक गीत सुन्दा त्यो गीतको भिडियोमा कस्तो कथा बनाउने भन्ने सोच एकैपटक आउँदैन,’ उनी भन्छन्, ‘पछि गीतकार, संगीतकार, गायकसँग बसेर उनीहरुको कुरा सुनेपछि मात्रै भिडियोको ‘कन्सेप्ट’मा काम सुरु हुन्छ ।’ चौहान सकेसम्म फरक किसिमको ‘भिडियो स्टोरी’ बनाउने कुरामा रुचि राख्छन् । 

‘छलफलपछि मात्रै गीतको कथामा काम सुरु हुन्छ,’ उनी भन्छन्, विषयवस्तुलाई कसरी गीतले उठाइरहेको छ, त्यो बुझ्न आवश्यक छ । गीतले उठाइरहेको मुद्दालाई नै भिडियोमा प्रस्तुत गर्ने हो ।’

अर्कातिर, म्युजिक भिडियो बनाउने क्रममा गीतका शब्दलाई अवमूल्याङ्कन गरियो भने स्रोताले कल्पना गरेकोभन्दा फरक कथा भिडियोमा प्रस्तुत भइदिन्छ । ‘स्टोरी टेलिङ फर्म्याट’मा जाँदा पनि यो जोखिम हुनसक्ने देखिन्छ । सँगै गीतकारले गीत लेख्दा कल्पना गरेको दृश्य भिडियोमा फरक पर्न जाने जोखिम हुन्छ । वरिष्ठ गीतकार दिनेश अधिकारी भिडियो निर्माण हुँदा भिडियो निर्देशकले गीतकार, गायक, संगीतकार लगायत सबैसँग सहकार्य नगरेमा यस्तो जोखिम हुने बताउँछन् ।

गायक प्रकाश सपुत गीत सुन्नको लागि भएकाले ‘स्टोरी टेलिङ’ बनाइरहँदा मर्म मरेको जस्तो लाग्ने बताउँछन् । ‘मैले गीतमार्फत् भिडियो स्टोरी भनिरहँदा कतैकतै मनभित्र गीतको मर्म मरिरहेको छ किजस्तो लाग्छ,’ उनी भन्छन, ‘खासमा गीत हेर्नेभन्दा सुन्ने नै हो । त्यसैले पनि मलाई त्यस्तो लाग्छ ।’ तर, अहिलेको प्रविधि र ‘ट्रेण्ड’ अनुसार आफूले पनि यो शैली अपनाएको उनी बताउँछन् ।

भिडियो निर्माण गरिरहँदा गीतकारले गीत लेख्दा गरेको कल्पना,  गायकले गाउँदा गरेको कल्पना, संगीतकारले संगीत बनाउँदा गरेको कल्पनालाई समेटिनुपर्ने गीतकार अधिकारी बताउँछन् । ‘गीत बन्न आवश्यक पर्ने सबै मान्छेसँग सहकार्य हुनुपर्छ,’ उनी भन्छन्, ‘भिडियो बनाउँदा निर्देशकले साहित्य पनि बुझेको हुनुपर्छ । गीतको आशय अनुसार भिडियो निर्माण भएको छ भने त्यसले न्याय गर्छ ।’

भिडियोमा देखाइएको कथाले गीतले भनेकै कुरा भन्न नसकेपछि त्यो बाटोमा हिँडेमा न्याय हुने बताउँछन् गीतकार अधिकारी । भन्छन्, ‘गीतको आशय नै मारेर भिडियो बनाइयो भने त्यसले न्याय गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट