नेताहरु अझै नमिले उहाँहरुकै घरमा गएर धर्ना दिन्छौं : मेटमणि चौधरी (अन्तर्वार्ता)-Sutra News

नेताहरु अझै नमिले उहाँहरुकै घरमा गएर धर्ना दिन्छौं : मेटमणि चौधरी (अन्तर्वार्ता)

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- पार्टीको आन्तरिक विवाद फुटसम्म जान नदिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ सांसदहरूले हस्ताक्षर सार्वजनिक गरेका छन्। आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर सार्वजनिक गर्दै ती सांसदहरुले ३ बुँदे प्रतिबद्धता पनि जनाएका छन्।



हस्ताक्षरमा सहभागी हुनेहरुमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षका छन्। उनीहरुले पार्टी एकताविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न आफूहरु प्रतिबद्ध रहेको पनि बताएका छन्।

जारी विवादमाझ हस्ताक्षर सार्वजनिकीरणको अर्थ के हो? यस्तो अभियानले नेताहरुलाई कतिको दबाब पुर्‍याउला? यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित भएर सूत्रन्युजका रामकुमार डिसीले उक्त अभियानमा सहभागिमध्ये एक प्रतिनिधिसभा सांसद मेटमणि चौधरीसँग संक्षिप्त कुराकानी गरेका छन्। 

पार्टी फुट्नै लागेको हो? हस्ताक्षर नै गर्नुपर्ने अवस्था किन आयो?

पार्टी फुट्ने अवस्थामा नेताहरुले नै पुर्‍याउनु भएको छ। नेताहरुलाई नैतिक दबाब होस् भन्ने उद्देश्यका साथ हस्ताक्षर संकलन अभियान र हाम्रो दृष्टिकोण आज जनताबीच पुर्‍याएका हौं।

एकताको पक्षमा त ६१ सांसदले मात्रै हस्ताक्षर गरेको देखियो। बाँकी सबैको ‘पार्टी फुटे पनि फुटोस्’ भन्ने चाहना हो?

होइन, होइन। संसद स्थगित भएपछि धेरै माननीयजीहरु अहिले काठमाडौंमा हुनुहुन्न। हस्ताक्षर गर्नकै लागि काठमाडौं आउने कुरा पनि भएन। हस्ताक्षर गर्नेहरुमा मन्त्री र स्थायी कमिटी सदस्यहरु पनि हुनुहुन्न। त्यही कारणले कमि देखिएको मात्रै हो।

पार्टी अध्यक्ष होउन् या हामी सामान्य कार्यकर्ता स्थापित विधि निर्धारण गरेर त्यसलाई नै मार्गदर्शन मान्यौं भने यस्ता विभाजनहरु हुँदैन। त्यसैले पहिलो काम भनेको विधि निर्माण नै हो।

तपाईँहरुको दबाले काम गर्ला?

नैतिक दबाब त परिगयो। उहाँहरुलाई दबाब पनि परिसकेको छ। उहाँहरु अझै रोकिनुभएन भने नेताहरुकै घरमा गएर धर्ना बस्ने, पार्टी कार्यालयमा धर्ना बस्ने र देशैभरि पार्टी फुटविरुद्ध अभियान चलाउने काम पनि हुन्छ। आज आफ्ना दृष्टिकोण सार्वजनिक गर्दै भनेका छौं- यदि तपाईँहरुले आफ्नै चुलोचौको गर्न खोज्नु भयो भने हामी मान्दैनौं। हामीहरुले नमानेपछि तपाईँहरु नमिल्नुको विकल्प छैन। यसरी आफैँले पार्टी विभाजन गर्ने होइन भनेर भनेका छौं। यसलाई हामी बलियोसँग अगाडि बढाउँछौं।

यति गर्दा पनि उहाँहरु फुटैतिर जानुभयो भने तपाईँहरु के गर्नु हुन्छ?

उहाँहरु त्यो ‘पोजिसन’मा पुग्न सक्नुहुन्न। हामीहरुले भनेको मान्नुभएन भने हामीहरुचाहिँ उहाँहरुको पछि किन लाग्ने? पहिलेको जमाना थियो- नेताले भन्नेवित्तिकै मान्ने। अबको अवस्था भनेको विवेक प्रयोग गर्ने समय हो। विवेक भएका नेता, सांसदहरु पनि छन्। हाम्रै कारणले, हामीले लाइन दिएपछि उहाँहरु विभाजित हुने हो। हामीहरु नै उहाँहरुका पछि लामबद्ध नभएपछि नेता एक्लैले पार्टी फोडेर अर्को बनाउँदा त्यसको केही अर्थ हुँदैन। आज हामीले संकेत दिएका छौं- हामी तपाईँहरुका पछि लाग्दैनौं। हामी विभाजनतर्फ लाग्दैनौं। अनावश्यक काम र कुरामा तपाईँहरु लाग्दै नलाग्नुहोस्। पार्टी एकढिक्का बनाउने हो, एक ठाउँमा राख्ने हो। त्यसका लागि एउटा विधि स्थापित गर्नुहोस्, त्यसकै आधारमा अगाडि बढ्नुहोस् भनेका छौं। त्यसैले नेताहरुले त्यत्रो हिम्मत नर्गलान्।

अहिले भइरहेको विवादप्रति तपाईँहरुको दृष्टिकोण के हो?

हामीले व्यक्ति-व्यक्तिको विषयमा छलफल गर्नु हुँदैन। पार्टीलाई अगाडि बढाउनका लागि एउटा स्थापित विधि, दर्शन, आचार संहिताको जरुरी पर्छ। एकता हुँदा पार्टीको जुन भावना थियो, जुन दृष्टिकोण थियो त्यसलाई हामी सबैले कार्यान्वयन गर्नुपर्छ।

पार्टी अध्यक्ष होउन् या हामी सामान्य कार्यकर्ता स्थापित विधि निर्धारण गरेर त्यसलाई नै मार्गदर्शन मान्यौं भने यस्ता विभाजनहरु हुँदैन। त्यसैले पहिलो काम भनेको विधि निर्माण नै हो। त्यसो भयो भने अहिलेका कुराहरु व्यवस्थापन गर्न छलफल गर्नु पर्दैन। विधिभित्र जो अटाउनुहुन्छ, रहनुहुन्छ। त्यसमा जो अटाउनुहुन्न, जानुहुन्छ।

ओलीइतर समूहले ओलीले पार्टीको विधि नमानेर एकलौटी गरेको आरोप लगाइरहेको छ। ओली समूहले चाहिँ आफूलाई सहयोग नगरेको र सरकारविरोधी बाहिरभन्दा पार्टीभित्रै रहेको अरोप लगाइरहेको छ। यसको समाधान कहिले होला?

केही समय त अझै पनि लाग्नसक्छ। किनभने नेताहरुमा अझै पनि दम्भ छ। सत्तामा बसेका मान्छेहरुलाई विधि बनाउन नपाए हुन्थ्यो भन्ने लाग्छ। किनभने, मनपरी त्यसमै गर्न पाइन्छ, मस्ती त्यसमै छ। त्यसैले त्यसबाट उहाँहरु पछि हट्ने वा त्यसलाई ‘स्किप’ गर्ने कुरा गर्नुहुन्छ। तर, कति दिन भाग्ने? कहाँ भाग्ने? भाग्ने ठाउँ पनि त हुनुपर्‍यो नि। जसले जे-सुकै तर्क र छलफल गरोस्, मुख्य कुरा भनेको विधि नबनाउँदासम्म पार्टीमा यस्ता समस्याहरु आइराख्छन्।

एकातिर कोरोनाको महामारी छ। यहीबीचमा तपाईँको पार्टीभित्र यस्तो क्रियाकलाप भइरहेको छ। यो त लाजमर्दो भएन र?

अहिले जति पनि समस्या भएको छ, विधि निर्माण नगरेकै कारण भएको छ। ‘ट्रयाक’ नखोलेकै कारणले भएको छ। जसले जुन मन लाग्छ, त्यो बाटो अपनाइरहेका छन्। विधि भए त त्यही बाटोमा सबै हिँड्न बाध्य हुन्छन्।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट