सेनाले ल्याउँदैछ कोरियाबाट ६ हजार थान राइफल-Sutra News

सेनाले ल्याउँदैछ कोरियाबाट ६ हजार थान राइफल

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- अमेरिकाबाट १० हजार थान एम–१६ राइफल खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको नेपाली सेनाले दक्षिण कोरियाबाट पनि झण्डै ६ हजार थान हतियार खरिद गरेको छ। दक्षिण कोरियाको ‘डेओ प्रिसिजन कम्पनी’ले उत्पादन गरेको ‘केटुसी’ र ‘केटुसीवान मोडेल’का राइफल सेनाले खरिद गरेको हो।



स्रोतका अनुसार, यसमध्ये केटुसीवान राइफल करिब ४ हजार थान खरिद गरिएको छ भने केटुसी राइफल साढे दुई हजार थान खरिद गरिएको छ। आर्थिक वर्ष २०७६-७७ का लागि विनियोजित बजेटबाट नेपाली सेनाले यी हतियार खरिद गरेको हो।

‘खरिद गरिएकामध्ये केही राइफल नेपाल आइसकेका छन्, केही आउन बाँकी छन्,’ जंगी अड्डाका एक उच्च अधिकारीले भने, ‘कोरियाबाट ल्याउने भनिएका राइफलमध्ये गतवर्ष आउनुपर्ने आइसकेका छन्, यसवर्षको चाहिँ आउन बाँकी छ।’

यस्तो छ कोरियन राइफल

सिपाहीहरुले ‘पर्सनल विपन’का रुपमा बोक्ने ५.५६ क्यालिवरका हतियार नेपाली सेनाले कोरियाबाट खरिद गरेको हो। आर्थिक वर्ष २०७५-०७६ का लागि अमेरिकाबाट खरिद गर्ने भनिएको एम-१६ राइफलको खरिद प्रक्रिया नमिल्दा नेपाली सेनाले कोरियाबाट हतियार खरिदको प्रक्रिया अघि बढेको थियो।

नेपाली सेनासँग सबैभन्दा बढी भारतमा निर्मिति इन्सास राइफल छन्। नेपाली सेनाले अन्यको तुलनामा कम गुणस्तरको मानेको यो राइफल करिब ३१ हजार थान रहेको छ।

नेपालको सार्वजनिक खरिद नियमावली र अमेरिकाको नियमावलीबीच तालमेल नमिल्दा २०७५ का लागि खरिद गर्ने भनिएका हतियार खरिद हुन नसकेपछि नेपाली सेनाले भुक्तानीको अर्कै प्रक्रियाद्वारा सोही बजेटबाट अमेरिकाबाट हतियार खरिद गर्दैछ। जसअनुसार आर्थिक वर्ष २०७५-०७६ को बजेटबाट १० हजार थान एम-१६ राइफल यसैवर्ष सेनाले ल्याउँदैछ।

अहिले नेपाली सेनाले खरिद गरेको कोरियन राइफल सन् १९८४ देखि त्यहाँको सेनाले प्रयोग गर्दै आएको हतियारको पछिल्लो मोडल हो। यसको डिजाइन १९७२-८३ को अवधिमा गरिएको थियो। त्यसपछि हतियार उत्पादन गरी प्रयोग गर्न थालिएको थियो।

जानकारी अनुसार ‘नेटो स्टाण्डर्ड’को मानिने यो राइफल खाडी युद्ध, अफगान युद्ध, इराक युद्ध, सिरियाली गृहयुद्ध लगायतमा सहभागी अमेरिकी गठबन्धनमा आबद्ध देशका सैनिकहरुले प्रयोग गरेका छन्।

के-के छन् सेनासँग?

‘पर्सनल विपन’का रुपमा नेपाली सेनाका जवानहरुले विभिन्न ५ मुलुकले उत्पादन गरेका राइफल बोक्दै आएका छन्। यसमध्ये दक्षिण कोरियाबाट समेत हतियार खरिद गरेपछि ६ राष्ट्रका हतियार ‘पर्सनल विपन’का रुपमा सैनिकसँग रहनेछन्।

नेपाली सेनासँग सबैभन्दा बढी भारतमा निर्मिति इन्सास राइफल छन्। नेपाली सेनाले अन्यको तुलनामा कम गुणस्तरको मानेको यो राइफल करिब ३१ हजार थान रहेको छ। कम गुणस्तर र धेरै पनि रहेका कारण नेपाली सेनाले यो राइफल सशस्त्र प्रहरीलाई दिन थालेको छ।

स्रोतका अनुसार, इन्सासपछि नेपाली सेनासँग रहेको राइफल हो, एसएलआर। ७.६२ क्यालिबरको यो राइफल नेपाली सेनासँग करिब ३० हजार थान रहेको छ। सशस्त्र प्रहरी बलको गठन भएपछि केही हजार थान यो राइफल सेनाले सशस्त्र प्रहरीलाई दिएको थियो। द्वन्द्वकालमा यो राइफल सेनाबाट प्रहरीले पनि पाएको थियो।

पछिल्लो समय नेपाली सेनाले खरिद गर्न लागेको अमेरिका निर्मित एम-१६ राइफल उसले २०५४ देखि खरिद गर्न थालेको हो। यो हतियार सबैभन्दा बढी उसले माओवादी द्वन्द्वका बेला खरिद गरेको थियो। सबै गरी उसँग एम-१६ राइफल २० हजार थान जति रहेको छ।

यसैगरी उसँग जर्मनीमा निर्मित जी-३६ राइफल केही संख्यामा रहेका छन् भने इजरायलमा निर्मित गलिल राइफल ५ हजार थानजति रहेका छन्। यी दुबै हतियार नेपाली सेनाको विशेष फौजले बोक्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट