कांग्रेसको प्रश्न–अनशनकारीसँग संवाद गर्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?-Sutra News

कांग्रेसको प्रश्न–अनशनकारीसँग संवाद गर्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं– जनस्वास्थ्यको क्षेत्रमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता युवासंग वार्ता नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।



प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै युवाहरुसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

अनशनकारीसँग संवाद गर्न ढिला गरेकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ। ‘विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यही माग अघि सारेका छन् जो विगत देखि दल र संचार माध्यमहरुले उठाउंदै आएका थिए। सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन् । अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ। न सत्ता मागेका छन् न भत्ता। अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?’

कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको कांग्रेसको भनाइ छ।

‘नेपाली कांग्रेस अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोना विरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामना गर्ने ढंगले नवीन रणनीति एबम् अपेक्षित गतिका साथ कार्य गर्न सरकार समक्ष माग र सार्वजनिक अपील गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

पर्याप्त स्वास्थ्य सामग्री ब्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारबाही, समुदाय स्तरमा व्यापक पीसिआर परीक्षण, आरडिटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टाइन ब्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक ब्यवस्थाको माग आफूहरुले पहिलेदेखि नै गरे पनि सरकारले नगरेको आरोप कांग्रेसले लगाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट