कोरोना संक्रमित घटे कि परीक्षण दायरा ?-Sutra News

कोरोना संक्रमित घटे कि परीक्षण दायरा ?

शुक्रबार, २ साउन २०७७

शुक्रबार, २ साउन २०७७

काठमाडौं– पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ।



बिहीबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गरेका ब्रिफिङअनुसार ४ हजार ९ सय ८१ जनाको पिसिआर परीक्षणमा १ सय ६७ जनालाई कोरोना पोजेटिभ भेटिएको थियो। यसलाई सुखद् पक्ष मान्दै प्रवक्ता गौतम भन्छन्, ‘दुई हप्ताअघिसम्म टेस्ट गरेकोमा १० प्रतिशतसम्म पोजेटिभ आएको थियो। एक दिन त १६ प्रतिशतसम्म आएको थियो। अहिले घटेर २–३ प्रतिशतमा झरेको छ। यो खुसीको कुरा हो।’

उनका अनुसार काठमाडौंमा विगत ५ दिनयता ४ हजार ८ परीक्षण गरेकोमा ३ जनालाई मात्र पोजेटिभ देखिएको थियो। आजसम्मको रिपोर्टमा ३ जनामात्र संक्रमित भेटिएको छ।

यद्यपि, परीक्षणको दायरा नबढाउनाले नै संक्रमितको संख्या घट्न पुगेको जनस्वास्थ्य विद्हरुको अनुमान छ। जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘अहिलेसम्म यहाँ नै संक्रमण भएको भन्दा बाहिरबाटै संक्रमित नेपालमा आइरहेका छन्। अहिले भारतबाट आउने नेपालीको संख्यामा धेरै कमी आएको छ। संक्रमितहको संख्या घट्नुको प्रमुख कारण पनि यही हो।’

संक्रमितको संख्या घटे भनेर खुसी भइहाल्नुपर्ने अवस्था नभएको वन्त बताउँछन्। अहिले क्वारेन्टाइनमा २३ हजार ५ सय नेपाली राखिएको छ। ती उच्च जोखिममा रहेका अधिकांश कति संख्यामा संक्रमित छन् भनेर यकिन नभएको उनको बुझाइ छ।

डा. वन्त भन्छन्, ‘यदि उनीहरुको परीक्षण हुन सकेको भए संक्रमितहरुको संख्या अहिले पनि बढ्थ्यो। त्यसैले गर्दा पनि स्थिति थाहा नभएको कारण संक्रमितको संख्या घटेको हो। हामीले परीक्षणको दायरा नबढाएको कारण यस्तो देखिएको हो।’

‘आइसोलेसन’मा भएकाहरु नै निको हुँदै गएकाले पनि संक्रमित संख्या घटेको देखिएको वन्तको ठम्याइ छ। ‘अहिले पनि दैनिक झण्डै ५ हजार परीक्षण गरेका छौं,’ उनी भन्छन्, ‘ती संख्या पनि आइसोलेसनमा रहेर निको भएकाहरुको हुनसक्छ। आइसोलेनमा रहेकाहरुको परीक्षण गर्दा त नेगेटिभ नै निस्कन्छ।’

कहिले हुन्छ दैनिक १० हजार परीक्षण?

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १० गतेबाट दैनिक दुई हजारभन्दा बढी परीक्षण गर्ने प्रतिबद्धता जनाएका थिए। तर, दैनिक ५ हजार परीक्षण गर्न पनि मन्त्रालयले सकिरहेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले कूल जनसंख्याको कम्तीमा दुई प्रतिशतलाई परीक्षणको दायरामा ल्याइने उल्लेख गरेका छन्। कूल जनसंख्याको दुई प्रतिशत भनेको करिब ५ लाख भन्दामाथि परीक्षण गर्नुपर्छ।

बिहीबारसम्मको तथ्यांकअनुसार ३ लाख ३ हजार ८ सय १० जनासम्म परीक्षण भएको पाइन्छ। मन्त्रालयका प्रवक्ता डा. गौतम दैनिक १० हजारमा  पिसिआर परीक्षण गर्नसक्ने क्षमता भएको दाबी गर्छन्।

‘२७ वटा ल्याबबाट परीक्षण भइरहेको छ,’ डा. गौतमको भनाइ छ, ‘अब हामी कोरोना परीक्षण गर्ने थप ६ वटा ल्याब पनि सुरु गर्न गइरहेका छौं। अब हाम्रो दैनिक कोरोना परीक्षण क्षमता दैनकि १० हजारसम्म पुगिसकेको छ।’

तर, १० हजार क्षमता भए पनि आवश्यक परेमात्र त्यति क्षमतामा परीक्षण गर्ने डा. गौतम बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट