नेपाली फिल्म मेकर : समय हेरेर बस्छन्, जुध्न हतार गर्छन्-Sutra News

नेपाली फिल्म मेकर : समय हेरेर बस्छन्, जुध्न हतार गर्छन्

शुक्रबार, १९ माघ २०८०

शुक्रबार, १९ माघ २०८०

काठमाडाैं । आज शुक्रबार कुनै पनि नयाँ फिल्म हलमा लागेनन् । पौषको अन्तिम साता रिलिज भएका फिल्म ‘चित्रा’ र ‘पर्खी बसे तिमीलाई’ पछि कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आउन सकेका छैनन् । विगत एक महिनादेखि नेपाली हलमा हिन्दी र अंग्रेजी फिल्मको दबदबा रहेको पाइयो ।



करिब एक महिना हुन लाग्दा नयाँ नेपाली फिल्म रिलिज हुन नसकेको यो शिलशिला अझै अर्को हप्तासम्म कायम रहँदै छ । आउँदो शुक्रबारबाट भने दुई नयाँ नेपाली फिल्म ‘दयारनी’ र ‘हात्तीछाप’ रिलिज हुँदैछन् ।

नेपाली फिल्मका निर्माताहरू जाडो मौसममा फिल्म रिलिज गर्न खासै रुचाउँदैनन् । यसैले, पनि पौष महिनामा दुई फिल्म रिलिज हुँदा अन्य दिनमा रिलिज नभएका हुन सक्छन् । नेपाली फिल्म मेकरले मान्ने गरेको जाडो सिजनमा फिल्मको व्यापारमा समेत गिरावट आउने भएकाले पनि पौष महिनामा नयाँ फिल्मको अभाव हलमा देखिएको हो ।

हलमा दर्शकका लागि नयाँ फिल्म नभइरहेको अवस्थामा माघको २६ गतेबाट रिलिज हुन लागेका फिल्म दयारानी र हात्तीछापले जाडो मौसम सकिनै लाग्दाको चिसो बजारलाई कसरी तताउने हुन भन्ने धेरैको जिज्ञासा रहेको छ ।

यस दिन नेपाली क्षेत्रका व्यस्त नायक दयाहाङ राई नै मुख्य भूमिकामा रहेका दुई फिल्म रिलिज हुँदैछन् । अब एउटै कलाकारका दुई फिल्म रिलिज हुँदै गर्दा एक फिल्मलाई भने व्यापारिक हिसाबले केही हदसम्म घाटा हुने नै देखिन्छ । यसरी प्रतिस्पर्धामा फिल्म रिलिज हुने भएकाले व्यापार कस्तो होला भन्ने प्रश्न चाहिँ पहिले नै तेर्सिएको छ ।

हुन त, नेपाली फिल्म क्षेत्रका मेकरहरुको एउटै रोग पनि रहेको छ, त्यो भनेको एक अर्कासँग जुध्नुपर्ने बाध्यता । यो रोगका कारण पनि फिल्मले भने जस्तो अपेक्षित व्यापार गर्दैनन् । अब दुई फिल्मले बक्सअफिसमा कस्तो व्यापार गर्लान् त्यो रिलिज पछिका दिनले बताउने छ ।

हलमा एक महिनादेखि नेपाली फिल्म छैनन् । तिहारमा प्रदर्शन भएको फिल्म दिमाग खराब यता अन्य फिल्म रिलिज हुँदा हलमा उल्लेख्य दर्शक छैनन् । यस्तो अवस्थामा एउटै नायक मुख्य भूमिकामा रहेको दुई फिल्म रिलिज हुन लाग्दा दर्शक बाँडिने हुन्छन् ।

एकसाथ दुई फिल्म रिलिज हुँदा दर्शकलाई त रोजेर फिल्म हेर्ने मौका जुर्ला तर निर्माताका लागि त पक्कै घाटाको व्यापार न हो ।

प्रायजसो रिलिज गर्न खाली समय हेरेर बसेका मेकरहरले कति मितिमा कुनै फिल्म नलगाई बसेका हुन्छन् । हालैको यो एक महिनामा जाडो भनेर बसेका निर्माताहरू अचम्मित पार्दै धेरै विदेशी फिल्महरूले करोडौं रूपैयाँ पैसा दर्शकबाट हात पारे ।

यदि राम्रो फिल्म छ भने दर्शक चिसो तातो नभनी हल पुगेकै हुन्छन् । फिल्म बनाएर एक आपसमा जुधेर मात्रै बस्ने भन्दा एक पटक नजुधाई समयको सदुपयोग गर्न सक्दा नसोचेको प्रतिफल पाइँदो रहेछ भन्ने अवसर आउन सक्छ ।

एक महिना – घोषणा, टिजर, ट्रेलर, गीत र पोस्टरले पाए स्थान

हलमा नयाँ फिल्म रिलिज हुन नसक्दा युट्युबदेखि सामाजिक सञ्जालमा भने नयाँ फिल्मको घोषणा, नयाँ फिल्मको पोस्टर रिलिज, प्रदर्शनमा आउन लागेको फिल्मको टिजर, ट्रेलरदेखि गीतसम्मले स्थान पाए । पौषको २७ गतेदेखि यताको समयलाई हेर्दा धेरै फिल्मको टिजर, ट्रेलर, गीत र पोस्टर रिलिज भएका छन् ।

यो करिब एक महिनाको अन्तरालका दर्जन बढी फिल्मका प्रचार सामाग्री रिलिज भए । जसमा आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने फिल्मको पोस्टरसँगै टिजर गरियो भने, यसै मितिमा रिलिज हुनलागेको अर्को फिल्म ‘उपहार’को गीत र पोस्टर पनि रिलिज गरियो ।

यस्तै, नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै फिल्म ‘खुस्मा’ निर्माणको घोषणा भयो । यता, अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने फिल्म ’म्याउँ’ को प्रथम भाग घोषणा भयो । साथै, नयाँ फिल्म ‘मोदीबेनी’को यही महिना भित्रै घोषणा गरियो ।

यी सँगै, फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को फस्टलुक र टिजर सार्वजनिक गरियो । चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को गीत र पोस्टर रिलिज भयो ।

यस्तै, केही नयाँ फिल्मको घोषणा, फस्टलुक पोस्टर र ट्रेलर सार्वजनिक भए ।

फिल्म ‘खजुरे ब्रो’को घोषणा, रमित ढुंगानाको नयाँ फिल्म ‘नमेटिने घाउ’को घोषणा, माइकल चन्दको डेब्यू निर्देशन रहने फिल्म ‘राम नाम सत्य’को घोषणा, फिल्म ‘गोर्खा वारियर’को ट्रेलर, फिल्म ‘पुजार सार्की’को फस्टलुक, कृषा चौलागाईंले बनाउन लागेको फिल्म ‘पीताम्बर’ को घोषणा, फागुनको ४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जिग्री’को टिजर सार्वजनिक, फिल्म ‘युनिभर्सिटी अफ गुन्डाज्’को निर्माणसँगै पोस्टर रिलिज, यादव कुमार भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘झिल्को’को घोषणा, फिल्म ‘रक्तबीज’को निर्माण घोषणा, फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट