कुन उमेर समूहका व्यक्ति कति घण्टा सुत्नुपर्छ ?-Sutra News

कुन उमेर समूहका व्यक्ति कति घण्टा सुत्नुपर्छ ?

मंगलबार, ५ भाद्र २०८०

मंगलबार, ५ भाद्र २०८०

निन्द्रा जीवनको आधारभूत आवश्यकता हो । जीवन धान्नका लागि जति महत्व पोषिलो खाना, स्वच्छ पानी र ताजा श्वासको छ त्यति नै महत्व मिठो, गहिरो र पर्याप्त निन्द्राको पनि छ । गर्भास्थ भ्रूण होस वा नवजात शिशु, दुधे बालक होस् वा लक्का जवान तन्देरी, तिल–चामले अधबैशे होस वा पिण्ड खान ठिक्क परेका बुढीमाउ निन्द्रा सबै र सधैका लागि प्राथमिक आवश्यकता हो ।



मिठो निन्द्राले मनलाई शक्ति, शरीरलाई पुनर्ताजगी र स्फूर्ति दिन्छ भने शरीरका हरेक प्रणलीहरूलाई बलियो बनाउँदछ । तर यी फाइदाहरू प्राप्त गर्न हामीले लिएको निन्द्रा मिठो र गहिरोका साथसाथ पर्याप्त पनि हुन आवश्यक छ ।

ठिक मात्रामा नसुतिएको निन्द्राले शारीरिक, मानसिक एवम् भावनात्मक स्वास्थ्यलाई चौपट बनाउनुका साथै एकाग्रता, स्मृति, लय, ध्यान, रचनात्मकता र बोध क्षमतालाई समेत गडबड गरिदिन्छ । यसर्थ, हर कसैले पर्याप्त मात्रामा निदाउन अत्यन्त आवश्यक छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले सिफारिस गरे अनुरूप हरेक उमेर समुहका व्यक्तिले निम्नानुसारको न्यूनतम निन्द्रा लिन आवश्यक छ ।

कुन उमेर समूहकाले कति सुत्ने ?

निन्द्राको आवश्यकता र महत्वका आधारमा सुत्ने समयलाई नौ उमेर समूहहरूमा विभाजन गरिएको छ । यस तालीकामा प्रत्येक समूहका स्वस्थ व्यक्तिहरूका लागि रातिको निन्द्राको न्युनतम अवधिको सिफारिस गरिएको छ र कतिपय अवस्थामा, सिफारिस गरिएको दायराभन्दा एक घण्टा बढी वा कम सुत्नु व्यक्तिको परिस्थितिको आधारमा स्वीकार्य हुन सक्छ ।

– नवजात शिशु तीन महिनासम्मकाले १४ देखि १७ घण्टा सुत्नुपर्छ ।

– तीन देखि १२ महिना १२ देखि १६ घण्टा सुत्नुपर्छ ।

– दुधे बालक एकदेखि दुई वर्षकाले ११ देखि १४ घण्टा सुत्नुपर्छ ।

– तीन वर्षदेखि पाँच वर्षका बालकले १० देखि १३ घण्टा सुत्नुपर्छ ।

– छदेखि १२ वर्षसम्मका बालकले नौदेखि १२ घण्टा सुत्नुपर्छ ।

– १३ देखि १९ वर्षका युवा उमेरकाले आठदेखि १० घण्टा सुत्नुपर्छ ।

– २० देखि ६० वर्ष उमेरका वयस्कले न्यूनतम सात घण्टा सुत्नुपर्छ ।

– ६१ देखि ६५ वर्षसम्मका बृद्धले सातदेखि नौ घण्टा सुत्नुपर्छ ।

– वयोवृद्ध ६६ देखिमाथिका सातदेखि आठ घण्टा सत्नुपर्छ ।

उल्लेखित जानकारी अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका आधारमा तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट