सुदन किराँतीको मन्त्री पद गुम्ने निश्चित, महानिर्देशक अधिकारीले समेत टेरेनन् !-Sutra News

सुदन किराँतीको मन्त्री पद गुम्ने निश्चित, महानिर्देशक अधिकारीले समेत टेरेनन् !

मंगलबार, १९ असार २०८०

मंगलबार, १९ असार २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको मन्त्री पद गुम्ने निश्चित भएको छ ।



पछिल्लो समय मन्त्री किराँतीको व्यवहारबाट आजित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै फिर्ता बोलाउने तयारी गरेपछि मन्त्री किराँतीको पद गुम्ने निश्चित भएको हो ।

आफू चर्चामा आउनका लागि जस्तोसुकै हतकण्डा अपनाउन पछि नपर्ने मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा नयाँ हवाई रुटको सम्झौता नहुने बुझेरै आफू भारत भ्रमणमा नगएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री प्रचण्ड र मन्त्री किराँतीको सम्बन्ध चिसिएको हो ।

कहिले यति समूहलाई गैरकानुनी तवरले हेलिप्याड बनाउन दिने, कहिले अर्बौं घाटामा रहेको वायुसेवा निगमलाई आफूले फाइदामा ल्याएको तथा पछिल्लो समय नेपाल नाट्य प्रतिष्ठानको जग्गा कौडीको भाउमा आफू निकट कम्पनीलाई दिलाउन लागेको जस्ता अनियमितताका विषय सार्वजनिक हुँदै आएका छन् । भलै यसको विषयमा मन्त्री किराँतीले चित्तबुझ्दो जवाफ भने दिन सकेका छैनन् ।

यसैबीचमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि मन्त्री किराँतीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउन अस्वीकार गरेका छन् । नागरिक उड्डयन प्राधिकरणको तालुकदार मन्त्री भने किराँती नै हुन् । गत असार ११ गते विभिन्न आरोप लगाउँदै मन्त्री किराँतीले महानिर्देशक भट्टराईलाई ९ बुँदे स्पष्टीकरण सोधेका थिए । सोमबार स्पष्टीकरण पेश गर्ने समय सकिंदा समेत महानिर्देशक भट्टराईले मन्त्री किराँतीले सोधेको स्पष्टीकरण नबुझाएका हुन् ।

अधिकारीले कारबाही भोग्न तयार भएको बताएका छन् । निर्धारित समयमा स्पष्टीकरण नदिएका महानिर्देशक अधिकारीले ट्वीट गर्दै प्राधिकरण स्वायत्त निकाय भएको उल्लेख गरेका छन् ।

यससँगै महानिर्देशक अधिकारी र मन्त्री किरातीबीच द्वन्द्व अझ बढ्ने देखिएको छ । अधिकारीमाथि प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय बनाउन अवरोध गरेको आरोप लागेको छ ।

मन्त्री किरातीले महानिर्देशक अधिकारीले सांसदलाई आर्थिक प्रलोभनमापारी विरुद्धमा बोल्न लगाएको बताउँदै आएका छन्। तत्कालिन उड्डयन मन्त्री प्रेम आलेले अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेका थिए । पछिल्लो समय प्रेम आले किरातीका नीतिको विपक्षमा चर्को बोल्ने गरेका छन् ।

यता प्रधानमन्त्री प्रचण्डले भने सोमबारसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने सहमति भएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जनमत पार्टीलाई दिने तयारी गरेपछि किराँतीलाई फिर्ता बोलाउने अन्तिम तयारी गरेको बताइन्छ ।

आइतबारमात्रै प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए । आइतबार भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राउतसँग आग्रह गरे ।

त्यस्तै आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा सहभागी गराउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका थिए ।

पछिल्लो समय आफूसँग रुष्ट बनेका राउतलाई फकाउन प्रधानमन्त्री प्रचण्ड लागिरहेका छन् । यता जनमतले पनि चाहेको मन्त्रालय पाए सरकारमा सहभागी जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट