भक्तपुरमा सुरु भयो रोपाइँ-Sutra News

भक्तपुरमा सुरु भयो रोपाइँ

शुक्रबार, १ असार २०८०

शुक्रबार, १ असार २०८०

यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।



गत जेठ ३२ गतेदेखि परेको ठूलो वर्षका कारण खेतमा पानी भरिएपछि किसानलाई यतिखेर धान रोप्ने चटारो परेको छ । जेठ महिनामा वर्षा नभएर धानको बीउ ब्याडमै मरेको र डढेपछि धानको बीउको अभाव भने भएको किसानको भनाइ छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका किसान सानुकाजी कार्कीले घामले धानको बीउ डढेर कम भए पनि रोपाइँ भने नरोकिएको बताए । उनले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई किसानले तीव्रता दिएको बताए ।
धान खेतीका लागि नभई नहुने रासायनिक मलको समेत किसानले अभाव खेपिरहनुपरेको उनले बताए । उनले भने, “पानी परेर खेतका गरा भरिएपछि किसानलाई धान रोपाइको चटारो परेको छ, यतिखेर रासायनिक मल भने आवश्यकताअनुसार पाइएको छैन, धानको बीउको अभाव रहे पनि धान रोपाइँको चटारो चलेको छ ।’
विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी परेपछि असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण नगरपालिका–९ का किसान सानुभाई गिरीले बताउँछन् ।
कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार सुरु हुने बित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् ।

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउन सक्ने बताउँछन्, कृषि प्राविधिक हरिकृष्ण नेपाल । उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताउँदै सरकारले धान रोप्न तथा हिलो सम्याउने प्रविधि सहुलियतमा ल्याउन सके किसानलाई सहज हुने र समयमै धान रोप्न सहज हुने बताए ।

भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमारी श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो धान रोपाइँ गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट