भुटानी शरणार्थी प्रकरण: खाण पक्राउ पर्दा, टोपबहादुर उपत्यकामै! मुद्दा मिलाउन आरजु सक्रिय!-Sutra News

भुटानी शरणार्थी प्रकरण: खाण पक्राउ पर्दा, टोपबहादुर उपत्यकामै! मुद्दा मिलाउन आरजु सक्रिय!

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०

काठमाडौँ- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै ठगीको अन्तहिन शृङ्खला चलाएका उच्च पदस्थ अधिकारीहरू पक्राउ पर्न थालेका छन्। बुधबार बिहान मात्रै नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ परे । यो शृङ्खला अझै जारी रहने प्रहरी उच्च स्रोतको दाबी छ ।



एमालेका सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि हच्किएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्रै होइन खाण पक्राउ परेपछि कांग्रेस संस्थापनभित्र पनि हलचल मच्चिएको छ।

मंगलबार नै खाण पक्राउ पर्न लागेको सूचना पाएका कांग्रेस सभापति शेरबहादुर देउवाले खाणलाई पक्राउ नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष लविङ गरेका थिए। तर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले शरणार्थी प्रकरणमा दोषी देखिएका कसैलाई नछाड्ने मनस्थितिमा छन्।

खाण पक्राउ पर्न लागेको सूचना बाहिरिए लगत्तै नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले मंगलबार साँझ नै प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनाराण पाण्डेलाई भेटेर खाणको नाम नलिन आग्रह गर्दै उपयुक्त समयमा यो मुद्दालाई किनारा लगाउँदै जाने आश्वासन दिएकी थिइन्। आरजु-पाण्डे भेटघाटको वातावरण भने नेपाल प्रहरीकै एक जना एआईजीले मिलाएको बताइन्छ ।

अर्कोतिर एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री रायमाझी भने पक्राउ पुर्जी जारी भएपछि उपत्यकामै रहेको बताइन्छ । रायमाझीलाई पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर जारी गरेको भए पनि उपत्यकामै लुकेर बसेको स्रोत बताउँछ । भैरहवाबाट काठमाडौ आउने फ्लाइटको टिकट क्यान्सिल गरेर स्थलमार्गमार्फत रायमाझी उपत्यका आएर आफ्नो बचाउको लविङमा लागेको समेत दाबी छ । अदालतमा मुद्दा दर्ता भएपछि सोझै अदालतमा उपस्थित हुने मनस्थितिमा रायमाझी रहेको बताइन्छ ।

अर्कोतिर, पूर्व गृहमन्त्री खाण पक्राउ परेसँगै नेपाली कांग्रेसकी नेतृ आरजु राणा, खाण पत्नी मञ्जु र नेपाली कांग्रेसकै सांसद रामहरि खतिवडा समेत प्रहरीको उच्च निगरानीमा छन्। हिरासतमा रहेका आरोपितहरूको बयानको आधारमा नेताहरू कुनै पनि बेला पक्राउ पर्न सक्ने सम्भावना छ।

भिडियोमा पनि हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट