सरकार गठनमा सत्ता गठबन्धन र एमालको भित्रभित्रै पहल, प्रधानमन्त्री बनाउन अंकगणितको यस्तो खेल-Sutra News

सरकार गठनमा सत्ता गठबन्धन र एमालको भित्रभित्रै पहल, प्रधानमन्त्री बनाउन अंकगणितको यस्तो खेल

सोमबार, १२ मंसिर २०७९

सोमबार, १२ मंसिर २०७९

काठमाडौं– निर्वाचनको मत परिणाम आउँदै गर्दा आगामी सरकार गठनका लागि सत्ता गठबन्धन दल र नेकपा एमालेले भित्रभित्रै सशक्त पहल गरेका छन्।



गठबन्धनबाट को प्रधानमन्त्री बन्ने भन्ने विषय तय भइनसक्दा एमालेबाट भने अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताबित गरी साना दलसँग सहकार्य हुन सक्ने देखिएको छ। कसैको पनि स्पष्ट बहुमत नआएका कारण एमालेले सरकारका लागि दाबी गर्दै अघि बढ्ने उपाध्यक्ष विष्णु पौडेलले बताइसकेका छन्।

‘यहाँ बहुमत कुनै पनि दलले प्राप्त गर्न नसकेको अवस्था छ र यस्तो संसदीय संरचनाले प्रतिकुल प्रभाव पार्ने निश्चित छ’, पौडेलले भने,‘अब कुनै न कुनै रूपमा अङ्कगणितको खेल हुन्छ र यसले गर्दा अस्थिरताको चक्रव्युहमा मुलुक फस्न सक्ने जोखिम छ। एमालेले सरकार गठनमा पहल गर्नेछ।’

सत्ता गठबन्धन पनि बहुमत बनाउनका लागि छलफलमा रहेको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल चलिसकेको छ। बालुवाटारमा चलेको उक्त छलफलले सरकार गठनमा एमालेलाई बहुमत हुन नदिनका लागि रणनीति तय भएको बताइन्छ।

तर एमालेले सरकार गठनका लागि अन्य पार्टीसँग तालमेल या सम्झौता जे गर्न पनि तयार रहेको उपाध्यक्ष पौडेलले बताइसकेका छन्। तर, प्रधानमन्त्रीचाहिँ अध्यक्ष केपी शर्मा ओली नै हुने उनको कथन थियो।

यो रिपोर्ट तयार पार्दासम्म प्रत्यक्षतर्फ ५१ सिटमा जीत र ३ मा अग्रता सहित नेपाली कांग्रेस अगाडि थियो भने नेकपा एमाले ४१ सिटमा जीत र ३ मा अग्रता सहित दोस्रो दल बनेको छ।

नेकपा माओवादी १६ सिटमा जीत र १ मा अग्रता सहित तेस्रो स्थानमा छ।

एमालेबाट फुटेर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १० सिटमा जीत हासिल गरेको छ।

भिडियोमा पनि हेर्नुस्

चुनाव भएलगत्तै नेकपा एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग टेलिफोन कुराकानी गरेका थिए।

सरकार गठनमा सत्ता गठबन्धन र एमालेको तालमेलमा बहुमत नपुगेको खण्डमा नयाँ स्थापित दलको रणनीति के होला भन्ने पनि अहम् प्रश्न बनेको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो शक्तिका रुपमा उदय भएको छ भने राप्रपाले पनि राजनीतिक ताकत आर्जन गरेको छ। यी दुई दलको भूमिका कस्तो रहला भन्ने विषयले पनि आगामी सरकार गठनको समीकरणमा प्रभाव पार्ने निश्चित देखिन्छ।

यी दुई दल प्रतिपक्षमा बस्ने र कसैको बहुमत नआएको खण्डमा सत्ता गठबन्धन अनिवार्य रुपमा भत्किने खतरा पनि रहेको छ। सत्ता समीकरणमा सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी एकातिर छन् भने अर्कातिर एमाले र जसपा स्पष्ट रुपमा खुलेका छन्। एमालेसँग तालमेल गरी निर्वाचनमा सहभागी राप्रपा भने सरकारमा जाँदा एमालेसँग हुने सम्भावित आँकलन गरिए पनि उसले प्रतिपक्षमा नै बस्ने सम्भावना बलियो रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट