नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पायो दुई मुख्य प्रशिक्षक, को-को हुन् ?-Sutra News

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पायो दुई मुख्य प्रशिक्षक, को-को हुन् ?

शुक्रबार, ६ साउन २०७९

शुक्रबार, ६ साउन २०७९

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दुइ मुख्य प्रशिक्षक पाएको छ । घरेलु फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेसँगै महिला फुटबल टोलीले दुई मुख्य प्रशिक्षक पाएको हो ।



यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चीनमा आयोजना हुने १९औं एसियन खेलकुदका लागि बालगोपाल महर्जनलाई जिम्मेवारी सुम्पिएको थियो ।

नयाँ मिति अनुसार सन् २०२३ को २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हाङझोउमा हुने प्रतियोगिताका लागि नेपाली महिला टिमले पहिलो चरणको प्रशिक्षण समाप्त भइसकेको छ र टिम अहिले विश्राममा छ ।

पहिलो पटक महिला टिम हेर्ने अवसर पाएका महर्जनले टिमलाई महिनौ यता प्रशिक्षण दिँदै आएका छन् । यता, एपीएफ फुटबल क्लब (पुरुष) का प्रशिक्षक थापाले यसअघिसमेत महिला टिम हेरेका थिए ।

चौथो संस्करणको साफ च्याम्पियनसिपमा समेत कुमारले नेपाली टिम हेरेका थिए । तर, सो प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित हुँदै पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको थियो । एउटै टिममा दुई प्रशिक्षक भएसँगै खेलाडीसमेत अन्योलमा परेका छन् । यस्तै, दुई प्रशिक्षकको ‘अन्डर’मा खेल्न गाह्रो हुने जानकार बताउँछन् ।

‘हामीसँग निकै कम समय छ । निरन्तर हेरेकोबाट अर्काे प्रशिक्षक फेरिँदा समस्या आउँछ । सुरुवाती (बालगोपाल) ले नै टिम हेरेको भए खेलाडीमा समस्या आउँदैन थियो होला । अब, नयाँ प्रशिक्षक आएपछि खेलाडीलाई समस्या भइहाल्छ नि’, महिला फुटबललाई नजिकबाट नियालिरहेका पूर्व खेलाडी भन्छन् ।

यद्यपि, उनी थापाले यसअघि नै महिला टिम हेरिसकेकाले समस्या धेरै नपर्ने बताउँछन् । ‘उहाँले (कुमार) ले यसअघि पनि महिला टिम हेर्नु भएको छ । त्यसैले समस्या नआउन पनि सक्छ । तर, त्यो उहाँमा भर पर्छ’, स्रोत भन्छ ।

यता, खेलाडीसमेत एउटा प्रशिक्षकसँग प्रशिक्षण गरिरहेको समय अर्काे प्रशिक्षकसँग काम गर्न असहज हुने बताउँछन् । ‘पक्कै पनि हामीले बालगोपाल सर (महर्जन) सँग ४० दिनजति प्रशिक्षण गरिसक्यौं । अब, कुमार सर (थापा) सँग प्रशिक्षण गर्न त गाह्रो हुन्छ । दुबै प्रशिक्षकको रणनीति बुझ्न समय लाग्छ । जसको असर नजितामा पर्न जान्छ’, राष्ट्रिय महिला टोलीकी नियमित सदस्य एक खेलाडी भन्छिन् ।

छैटौं संस्करणको साफ पुनः नेपालमा हुने तय भइसकेको छ । भदौ १३ देखि २५ सम्म हुने प्रतियोगिताका लागि एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बच्चु)को संयोजकत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

यस्तै, महिला फुटबल टोलीको व्यवस्थापनको जिम्मेवारी बिन्द्रा देवानले पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट