पदाधिकारी छान्न प्रचण्डलाई सकस-Sutra News

पदाधिकारी छान्न प्रचण्डलाई सकस

शुक्रबार, २४ असार २०७९

शुक्रबार, २४ असार २०७९

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गएको पुसमा आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनमा माओवादीले केन्द्रीय सदस्यहरु मात्र टुंगो लगायो।



यसबीचमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरेको थियो । त्यसपछि छिट्टै केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउने भनिए पनि ६ महिना पुगिसकेको छ । देशको राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनको कारण बैठक बस्न ढिलाई भइरहेको थियो । आइतबार देखि काठमाडौंमा केन्द्रीय समिति बैठक बस्यो ।

बिहीबारको बैठकले पोलिटब्युरो सदस्यको नाम टुंगो लगाए पनि पदाधिकारी टुंगो लगाउन सकेन । बैठकमा प्रचण्डलाई पदाधिकारी टुंगो लगाउन सकस भयो । बिहीबार कै बैठकले पदाधिकारी टुंगो लगाउने भने पनि पोलिटब्युरो सदस्यको नामावली घोषणका क्रममा विवाद हुँदा त्यो सम्भव हुन सकेन ।

बैठकले ४१ सदस्यीय स्थायी समितिको टुंगो लगायो । बैठकमा शुरुमा अध्यक्ष प्रचण्डले १ सय २५ जना पोलिटब्युरो सदस्यको नामावली घोषणा गरेका थिए । तर नेताहरु असन्तुष्ट भएपछि ३ पटकसम्म शंसोधन गर्दै पोलिटब्युरो सदस्यको नाम घोषणा गरे ।

बैठकले १ सय २५ जना पोलिटब्युरो सदस्यमा थप गरेर १ सय ५६ जना पुर्यायो । त्यसपछि बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन गर्न गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यसँग समय मागे । उनले केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति टुंगो लागेकाले पदाधिकारी टुंगो लगाउन अब समस्या नहुने बताए ।

पदाधिकारीमा अहिले विभिन्न नेताहरुको नाम चर्चामा छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको बताइएको छ । एक नेताका अनुसार माओवादीले महासचिव र उपमहासचिवको नाम पनि टुंगो लगाइसकेको छ । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी रहने व्यवस्था छ । महाधिवेशनको समयमा महासचिवमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसालले दाबी गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट