डा.केसीले सरकारलाई खबरदारी गर्दै भने- माग पूरा नभए फेरि पनि अनशन-Sutra News

डा.केसीले सरकारलाई खबरदारी गर्दै भने- माग पूरा नभए फेरि पनि अनशन

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आफ्नो १९ औँ सत्याग्रहका क्रममा भएका सहमति एक महिना हुन लाग्दा पनि कार्यान्वयन नभएको भन्दै सरकारलाई खबरदारी गरेका छन् ।



बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पटक–पटक विगतमा भएका सम्झौता विपरित काम गरेको भन्दै निरन्तर खवरदारी गर्नुको विकल्प नरहेको बताएका छन् ।

दुरदराजका नागरिकको स्वास्थ्यको लागि भन्दा पनि मेडिकल माफियाहरुको लागि सरकार काम गरिरहेको डा.केसीको आरोप छ । मेडिकल माफियाहरुको पक्षमा काम गर्न सरकारले चिकित्सा शिक्षा सम्बन्धी विधेयकसमेत परिवर्तन गरेको डा. केसीको भनाइ छ ।

डा.केसीले १९ औँ सत्याग्रहका क्रममा भएका सहमितको कार्यान्वयन नभए फेरि पनि सत्याग्रह बस्ने र त्यसक्रममा अन्य मागहरु पनि थपिने सरकारलाई चेतावनी दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा हालसम्म भएका उपलब्धिहरु सबैको योगदानबाट भएको भन्दै ती उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने डा.केसीको भनाइ छ ।

डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले हामीसँग निरन्तर खबरदारी गर्नुको विकल्प छैन ।

नागरिक समाज, बुद्धिजीवी लगायत सबै आम नागरिकहरुको सहयोग, समर्थन र ऐक्यवद्धता रहेकाले नै सरकारले हामीसित सम्झौता गर्न बाध्य भएको हो ।

स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा गुणस्तर र पहुँच विस्तारका दिशामा अहिलेसम्म जेजति उपलब्धि भए, हामी सबैको योगदानका कारण त्यो सम्भव भएको हो । अब ती उपलब्धिलाई संस्थागत गर्दै सरकारले हामीसित गरेको सम्झौता कार्यान्वयन गराउनु पनि हामी सबैको कर्तव्य हो।’ 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट