प्रचण्डलाई साथमै राखेर ओलीले विज्ञलाई भने- निरोगी नेपाल निर्माणमा आयुर्वेदको ठूलो योगदान-Sutra News

प्रचण्डलाई साथमै राखेर ओलीले विज्ञलाई भने- निरोगी नेपाल निर्माणमा आयुर्वेदको ठूलो योगदान

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेद नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने स्पष्ट गरेका छन्।



कोभिड -१९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बिहीबार  बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उनले आयुर्वेदभित्रै योग पनि पर्ने बताए । उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो । ’

उनले मेशीनहरू एलोपेथिक नभएको प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए ।

आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको उल्लेख गरे ।

निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गरे। हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका बताए ।

कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराए ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए ।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा. ऋषिराम कोइराला, डा. प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष ठाकुर, प्रा. डा. डीबी रोका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा. धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्दै प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकोमा विशेष आभार र धन्यवाद ज्ञापन गरेका थिए ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराएकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गम्भिर ढंगले घच्घच्याउने काम गरेको अनुभूति राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट