प्रदेश -१ मा थपिए ७४ संक्रमित, तीनको मृत्यु-Sutra News

प्रदेश -१ मा थपिए ७४ संक्रमित, तीनको मृत्यु

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये सुनसरीका ४१, मोरङ र झापाका १४/१४, सङ्खुवासभाका दुई, पाँचथरका एक तथा प्रदेश बाहिरका दुई जना रहेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ।



मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेहरुमा सुनसरीको इनरुवाका छ महिला र १४ पुरुष, धरानका पाँच महिला र चार पुरुष, इटहरीका पाँच पुरुष, देवानगञ्जका दुई महिला र दुई पुरुष तथा कोशी गाउँपालिकाका तीन पुरुष रहेका छन्। त्यस्तै मोरङको विराटनगरका दुई महिला र पाँच पुरुष, लेटाङका एक महिला र दुई पुरुष, सुन्दरहरैचा र रङ्गेलीका दुई/दुई पुरुषमा संक्रमण देखिएको छ।

झापाको कमल गाउँपालिकाका दुई महिला र सात पुरुष, मेचीनगरका तीन पुरुष, हल्दीबारीका एक पुरुष, शिवसताक्षीका एक महिला, सङ्खुवासभाको पाँचखपनका एक पुरुष, खाँदबारीका एक महिला, पाँचथरको फाल्गुनन्दका एक पुरुष र प्रदेश बाहिरका एक महिलासहित दुई जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यो प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या तीन हजार १ सय ४ पुगेको छ।

तीन जनाको मृत्यु
यसैगरी पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। तीमध्ये दुई महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्युहुनेमा झापाको कमल गाउँपालिकाका एक पुरुष, मोरङको बेलबारी नगरपालिका-५ का ५६ वर्षीय महिला र सिरहा जिल्लाको लहान घर भई विराटनगर–१० बस्ने ६५ वर्षीय महिला रहेका छन्। यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । तीमध्ये प्रदेश नं १ स्थायी ठेगाना भएका २० र अन्य प्रदेशका आठ जना रहेका छन्।

यो प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। तीमध्ये कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरबाट १६, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङ आइसोलेसन केन्द्रबाट दुईजना रहेका छन्। यो प्रदेशमा अहिलेसम्म एक हजार ५१६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आज एक हजार ३ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ भने अहिलेसम्म ८५ हजार २ सय २ जनाको पिसिआर परीक्षण सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट