मेस्सी–रोनाल्डो युगमा छोपिएका लेवान्डोस्की-Sutra News

मेस्सी–रोनाल्डो युगमा छोपिएका लेवान्डोस्की

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

क्लब फुटबलमा बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोले गरेको प्रदर्शन र पाएको सफलताले संसारका धेरै फुटबल खेलाडी छायामा परेको यथार्थ फुटबलप्रेमी माझ सर्वविधितै छ ।



यतिसम्म कि उनीहरुले राष्ट्रिय टोलीबाट विश्वकप जस्तो महान् उपाधि जितेका छन् जुन कुरा स्वयम् मेस्सी र रोनाल्डोको लागि पटकपटक ‘एका देशको कथा’ बन्दै आइरहेको छ ।

बार्सिलोनाका पूर्व खेलाडीद्वय जाभी हर्नान्डेज र आन्ड्रेस इनिएस्टा फुटबल इतिहासकै सर्वोत्कृष्ट मिडफिल्डर मानिन्छन् जसले स्पेनका लागि लगातार युरोकप, विश्वकप र पुनः युरोकप जिताएका थिए । यति सफलताको बाबजुत पनि उनीहरुले फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड ‘ब्यालोन डि आर’ जित्न सकेनन् । कारण एउटै छ, सन २०१० देखि २०१४ ताका ( हालसम्म पनि) मेस्सीले क्लब फुटबलमा गरेको उच्च प्रदर्शनले उनीहरुको त्यो सफलतालाई फितलो तुल्याइदियो । र, सधैं ‘ब्यालोडन डि’ओर’ मेस्सीले नै जिते ।

जाभी र इनिएस्टा त प्रतिनिधि पात्र मात्रै हुन । मेस्सी र रोनाल्डोका कारण काका ,रोनाल्डिन्हो, थिएरी हेनरी, कार्लोस पुयोल, क्यासिलास, रामोस, पिके, डिएगो फोर्लान लगायत धेरै खेलाडी छायामा परेका छन् भलै उनीहरूले खेल्ने पोजिसन फरक थिए । तर, टिमको लागि योगदान सधैं अद्भुत नै थियो ।

मेस्सी र रोनाल्डोको उदयपछि फुटबल नै दुई कित्तामा विभाजित भएको छ । एउटा मेस्सी कित्ता अर्को रोनाल्डो कित्ता । यतिसम्म कि फुटबलका महान् खेलाडी पेले र म्यारोडोनालाई पनि बिट मार्दै यतिखेर फुटबल विश्लेषक र समर्थकहरु मेस्सी कि रोनाल्डो भन्ने विवादमा फसिरहेका हुन्छन् ।

प्रदर्शन र उत्कृष्टताको आधारमा मेस्सी र रोनाल्डोको चर्चा तथा उनीहरू केन्द्रित विवाद स्वभाविक छ । तर, उनीहरू बिनाको फुटबल कल्पना नगर्नु र उनीहरु बाहेक पनि फुटबलमा उत्कृष्ट खेलाडी छन् है भनेर सोच्न नसक्नु मुर्खता होइन र ?

हरेक खेलाडी रोनाल्डो र मेस्सी हुन सक्दैनन् तर अरुमा पनि उत्कृष्टता र स्तर हुन्छन् जसलाई मेस्सी र रोनाल्डो भन्दा अलि माथि उठेर हेर्न सक्नुपर्छ । आज हामी त्यस्तो खेलाडीको चर्चा गर्दछौं, जो पछिल्लो समय सानदार लयमा आफुलाई मैदानमा दौडाइरहेका छन् तर पनि मेस्सी–रोनाल्डो केन्द्रित फुटबल बजारमा लगभग गुमनाम नै छन् । अर्थात्, रोबर्ट लेवान्डोस्की । 

आज अर्थात् अगस्ट २१ उनको जन्मदिन पनि हो । जन्मदिनका दिन उनको चर्चा सायद सान्दर्भिक पनि हो । रोबर्ट लेवान्डोस्की यस्तो नाम हो जसको गोल गर्ने मामिलामा फुटबल रेकर्ड निकै सानदार छ । सेप्टेम्बर २५ सन् २०१५ मा बुन्डेसलिगामा वोल्फ्सबर्गर विरुद्ध उनले ८ मिनेट ५९ सेकेन्डमा ५ गोल गरेका थिए जुन फुटबल इतिहासकै दुर्लभ रेकर्ड हो । पोल्याण्डका ९ नम्बर जर्सिधारी यी फर्वाड राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता (६१) मात्रै होइनन्, पछिल्ला वर्षहरुका माहिर र रेकर्डधारी गोलकर्तासमेत हुन् ।
robert.jpg

सन् २००९/१० मा डर्टमुन्ड आएपछि उनले क्लबलाई लगातार २ सिजन लिग टाइटल जिताउन सफल रहे भने लगातार २ सिजन दोस्रो भए। त्यसपछि ४ वर्षे डर्टमुन्ड यात्रामा पुर्णविराम लगाँउदै बुन्डेसलिगा क्लब बार्यनम्युनिखमा सामेल भए ।

त्यसपछी उनको रफ्तार यसरी अघि बढिरहेको छ कि सन् २०१४मा उनी बार्यन आएपछि टिमले आजसम्म लिगमा दोस्रो हुनु परेको छैन । १० वर्षे बुन्डेसलिगा यात्रामा उनले ८ वटा लिग उपाधी जितेका छन् जसमा उनी स्वयम् ५ पटक लिगको सर्वाधिक गोलकर्ता भएका थिए । ७ पटकको पोल्यान्ड वर्ष खेलाडी विजेता लेवान्डोस्कीले विभिन्न फरक फरक क्लबबाट कुल १९ वटा उपाधी जितेका छन् र यसक्रममा उनले ६४६ खेलमा जम्मा ४३६ गोल गरेका छन् । राष्ट्रिय टोलिका लागि ६१ गोल गरेका उनले हालसम्म आफ्नो करिअरमा कुल ४९७ गोल गरेका छन् ।

पछिल्ला ५ सिजनमा लेवान्डोस्किले आफ्नो खेल कौशल र गोल कौशललाई अझ निखार्दै ल्याएका छन् । अन्तराष्ट्रिय सरुवा बजारले निकालेको तथ्यांकअनुसार सन् २०१५ पछि हालसम्म घरेलु लिगमा उनले युभेन्टसका गोल मेसिन रोनाल्डोलाई समेत पछि पारेका छन् भने मेस्सी भन्दा थोरैले पछि छन् ।
robert lewandowski final.jpg
पछिल्ला ५ वर्षमा घरेलु लिगमा उनले १४६ गोल गरेका छन् जुन संख्या रोनाल्डोको भन्दा ७ बढी र मेस्सीको भन्दा १३ कम हो । यो अवधिमा उनले च्याम्पिएन्स लिगको गोलमा बार्सिलोनाका ‘गोल मेसिन’ मेस्सिलाई पछि पारेका छन् । जसमा उनले ४५ गोल गरेका छन् । यो संख्या मेस्सिको भन्दा ७ बढी हो भने रोनाल्डोको भन्दा १२ कम हो ।

यी दुई मुख्य लिगमा गोल गर्ने मामिलामा पछिल्ला वर्ष उनी रोनाल्डो र मेस्सी भन्दा केही कम देखिएका छैनन् । यतिसम्म कि यी दुई मुख्य लिगमा उनले पछिल्ला ५ वर्षमा १९० गोल गरेका छन् भने गोल मेसिन मेस्सी र रोनाल्डोले क्रमशः १९६ र १९१ गोल गरेका छन् ।

सन् २०१५ पछिको अवधिमा उनले कुल ११ क्लब उपाधी जितेका छन् जुन उपाधी संख्या मेस्सीको भन्दा २ बढी र रोनाल्डोको भन्दा १ कम हो । उनकै उत्कृष्ट प्रदर्शन र एक गोलको मद्दतले उनको टिम च्याम्पिएन्स लिगको फाइनलमा पुगिसकेको छ र उनलाई उपाधी संख्या बढाउने सुनौलो मौका छ ।

हाल जारी सिजनको कुरा गर्ने हो भने सम्पुर्ण प्रतियोगिताको गोल संख्यामा मेस्सी र रोनाल्डो दुबै उनको आसपास पनि छैनन् । उनले यस सिजनमा कुल ५५ गोल गरिसकेका छन् र आइतबार हुने च्याम्पिएन्स लिगमा बायर्नले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनविरुद्ध खेल्दै छन् र उनलाई अझै गोल संख्या बढाउने अवसर छ।
robert 3.jpg
उनको यो गोल संख्या यस सिजन मेस्सिको भन्दा २४ र रोनाल्डोको भन्दा १८ बढी हो। अझ धमाकेदार कुरा त यो हो कि गत हप्ता भएको च्याम्पिएन्स लिग क्वार्टरफाइनल खेलमा उनको टोली बायर्न म्युनिखलेले ‘गोल मेसिन’ मेस्सीको टिम बार्सिलोनामाथी ८–२ को सानदार जित दर्ता गराँउदै सेमिफाइनल पुगेको थियो ।

खेल जीवनभरी एउटा मात्रै रेड कार्ड र ४३ वटा पँहेलो कार्डको सामना गरेका उनी शान्त, अनुशासित र सहयोगी खेलाडीका रुपमा परिचित छन् । उनले सान्दार गोल संख्यासँगै कुल ७५ गोलका लागि पास मिलाइदिएका छन् । खेल कौशल, शारिरिक तन्दुरुस्तीका हिसाबले उनी एकदम अब्बल रहेकाले अझै उनले केही सिजन ढुक्क्ले खेल्ने छन् र गोल तथा पासको सँख्या अझै वृद्धि गर्न सक्छन् भन्ने अनुमान छ ।

पछिल्ला पाँच वर्ष अर्थात् यो मेस्सी–रोनाल्डो युगमा उनीहरुलाई नै कडा टक्कर दिइरहेका खेलाडीका रुपमा लेवान्डोस्कीको चर्चा नहुने होइन । यद्यपी उनी सधैँ गुमनाम नै रहे, मेस्सी र रोनाल्डोको छाँयामै परिरहे । किनभने फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड ‘ब्यालोन डि’ओर’मा उनी कसैको रोजाइमा परेनन् र जित्न पनि सकेनन् । यसपाली हर हिसाबले ‘ब्यालोन डि’ओर’को सबैभन्दा बलियो उम्मेदवारका रुपमा उनको चर्चा थियो । तर, दुर्भाग्य यसपाली पनि उनी यसको हकदार हुन नसक्ने भए । कारण, कोभिड–१९ का कारण यस वर्ष ‘ब्यालोडन डि’ओर’ वितरण नै नगरिने घोषणा भइसकेको छ ।

तस्बिरहरु : एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट