आयुर्वेद अस्पतालमा हप्ता दिनमै निको भए कोरोना संक्रमित-Sutra News

आयुर्वेद अस्पतालमा हप्ता दिनमै निको भए कोरोना संक्रमित

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- आयुर्वेद अस्पतालमा भर्ना भएका कोराना भाइरस संक्रमित हप्ता दिनमै संक्रमणमुक्त भएका छन्। कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा कोरोना संक्रमितको उपचारमा उत्साहजनक परिणाम देखिएको अस्पतालले जानकारी दिएको छ।



अस्पतालका भर्ना भएका कोभिड १९ का बिरामीहरू हप्ता दिनमा संक्रमणमुक्त भइरहेको अस्पतालको कोभिड संयोजक जितेन्द्र श्रेष्ठले बताए। उनी भन्छन्, ‘हाम्रो अस्पतालमा पनि कोभिड १९ का बिरामी आउने सक्ने अनुमान गरेर छलफल गरेका थियौं। छलफलपछि स्वासप्रस्वास र रोग प्रतिरोधात्मक क्षमता बढाउने जटिबुटिको प्रयोग गरेर औषधि बनाएका थियौं।’

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई आयुर्वेद चिकित्सा पद्धतिअनुसार तयार गरिएका औषधिको सेवन गराउँदा समग्रमा सात दिनमै संक्रमण मुक्त भइरहेको श्रेष्ठ बताउँछन्। ‘कोरोना निको भएको भन्न मिल्दैन्,’ उनले भने, ‘तर बिरामी यहाँ भर्ना भएपछि उनीहरूको अवधि कम भएको छ। अरू ठाउँमा लाग्ने भन्दा यहाँ कम समयमा निको भइरहेका छन्।’

श्रेष्ठका अनुसार संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वासप्रस्वासमा सहज ल्याउने जटिबुटीको सेवन गराइएको छ। ‘दैनिक बिहान, दिउँसो र बेलुका हामीले यो सेवन गराइरहेका छौं,’ उनी भन्छन्, ‘यहाँ भर्ना हुनुभएका संक्रमित सात दिनकै हाराहारीमा निको भइरहनु भएको छ। त्यसको कारण यो उपचार पद्धति हो वा अन्य केही हो भन्ने अनुसन्धानको विषय हो।’

अस्पतालमा प्रयोग गरिएको आयुर्वेद पद्धतिको औषधि कोरोना संक्रमणको लागि प्रभावकारी देखिएको श्रेष्ठ बताउँछन्। तर, यसलाई नै कोरोना संक्रमणको औषधि भनेर अस्पतालले दाबी नगरेको उनी बताउँछन्। उनी भन्छन्, ‘यसलाई नै औषधि हो भनेका छैनौं। यसले उपचारमा प्रभावकारी भूमिका खेलेको चाहिँ हो।’

हालसम्म आयुर्वेद अस्पतालमा दुई सय ३२ जना कोरोना संक्रमित भर्ना भएका छन्। तीमध्ये १ सय १५ जनाको परीक्षण गर्दा ९७ जना संक्रमणमुक्त भएका छन्। अन्यको परीक्षण हुन बाँकी भएको श्रेष्ठ बताउँछन्। भन्छन्, ‘हालसम्म कूल १ सय १५ जनामा ९७ जना संक्रमणमुक्त भएका छन्। उनीहरूको संक्रमणमुक्त हुने अवधि समग्रमा ७ दिन रहेको छ।’

आयुर्वेद अस्पतालमा अपनाइएको उपचार पद्धतिलाई लिएर अन्य ठाउँबाट पनि यसको पहुँच पुर्‍याउनुपर्ने माग आइरहेको श्रेष्ठ बताउँछन्। उनले भने, ‘अन्य ठाउँमा भएका कोरोना संक्रमितको पनि यही पद्धतिअनुसार उपचार गराउनुपर्ने कुरा आइरहेको छ। हामी छलफल गर्दैछौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट