आन्तरिक उडानको जहाज राति काठमाडौंको विमानस्थलमा राख्न नपाइने-Sutra News

आन्तरिक उडानको जहाज राति काठमाडौंको विमानस्थलमा राख्न नपाइने

शनिबार, ६ माघ २०८०

शनिबार, ६ माघ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो ।



उक्त निर्णयअनुरुप वायुसेवा कम्पनीले जहाज काठमाडौंबाहिरका विमानस्थलमा राखेर काठमाडौंका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए । तर, पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौंमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौं ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी काठमाडौंबाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो ।

कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाडौंमा भीडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको बताए । “पछिल्लो समय एयरलाइन्सले कहिले प्राविधिक र कहिले मौसमको कारण देखाउँदै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न थालेपछि भीडभाड बढेकाले थप कडाइ गर्न लागिएको हो”, विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, “एयरलाइन्सहरुलाई विभिन्न ‘बेस’ तोकिएको छ, सोही अनुसार उनीहरुले जहाज रात्रि बिसान गर्नुपर्छ ।”

काठमाडौंबाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ । ती जहाजले काठमाडौंका लागि सम्बन्ध्ति गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट