अष्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई अझै सकस, विद्यार्थी भिसासम्बन्धि नियममा कडाइ-Sutra News

अष्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई अझै सकस, विद्यार्थी भिसासम्बन्धि नियममा कडाइ

सोमबार, २५ मंसिर २०८०

सोमबार, २५ मंसिर २०८०

काठमाडाैं । तपाईं अष्ट्रेलिया जाने सोचमा हुनुहुन्छ वा तयारी अगाडि बढाइरहनु भएको छ भने तपाईंका लागि दु:खद खबर छ । नेपाली विद्यार्थीहरूको उच्च शिक्षाको लागि सर्वाधिक रोजाईको अष्ट्रेलिया यात्रा अझै कठिन बन्ने संकेत मिलेको छ ।



विदेशी विद्यार्थीहरूलाई सहज रूपमा भिसा दिँदै आएको अष्ट्रेलियाले पछिल्लो समय भिसा सम्बन्धि नियम थप कठोर बनाउँदै लगेको छ । जसका कारण अष्ट्रेलिया जाने सपना दैनिक कन्सल्टेन्सी धाइरहेका र भाषा परीक्षाकाे तयारी गरिरहेका विद्यार्थीहरू यसको प्रत्यक्ष मारमा पर्ने संकेत देखिन थालेका छन् ।

अष्ट्रेलियाली गृहमन्त्री क्लेर ओनिलले सोमबार पत्रकार सम्मेलन नै गर्दै आगामी दुई वर्षमा आप्रवासीको आगमन आधा झार्न विदेशी विद्यार्थी र अल्पसीप भएका कामदारका लागि दिइने भिसा नियम कसिलो बनाउन लागिएको जानकारी दिएका छन् । वर्तमान अष्ट्रेलियाली सरकारले आप्रवासन प्रणालीमा व्यापक हेरफेर गर्ने प्रयास गरिरहेको छ ।

अष्ट्रेलियाली सरकारले जारी गरेको नयाँ नीतिअन्तर्गत अब विदेशी विद्यार्थीहरुले अंग्रेजी भाषा परिक्षामा उच्च अंक हासिल गर्नैपर्छ भने विद्यार्थीले अष्ट्रेलिया बसाई लम्ब्याउन दिने दोस्रो भिसा आवेदनको प्रक्रिया पनि थप कडाई गर्ने भएको छ । अष्ट्रेलियन सरकारको नयाँ रणनीतिले आप्रवासीहरूको संख्या पुनः सामन्य स्तरमा ल्याउने गृहमन्त्री ओनिलको घोषणा छ । समस्या संख्यामा मात्रै नभएको उनको जिकिर छ ।

अष्ट्रेलियाको आप्रवासन प्रणाली भाँच्चिएको भन्दै अघिल्लो हप्ता नै अष्ट्रेलियन प्रधानमन्त्री इन्थोनी अल्बानेजले आप्रवासीहरूको संख्यालाई घटाएर दिगो स्तरमा ल्याउने घोषणा गरेका थिए । सरकारले सुरु गरेको सुधारका पहलहरूले विदेशबाट आउने अष्ट्रेलिया बसाई सरेर आउने प्रवृत्तिमा दबाब सिर्जना गरिसकेकोले पनि सरकारको यो कदमबाट आप्रवासीको संख्या थप घट्ने अपेक्षा गरिएको गृहमन्त्री ओनिलको भनाइ छ । सन् २०२२-२३ मा अष्ट्रेलियामा ५ लाख १० हजार विदेशी विद्यार्थीहरू गएका थिए । यो अहिलेसम्मकै धेरै संख्या भएको अष्ट्रेलियन अध्यागमन विभागले जानकारी दिएको छ ।

सन् २०२४-२५ मा यो संख्या साँढे दुई लाख हाराहारीमा सिमित गर्ने अष्ट्रेलियन सरकारको तयारी छ । सन् २०२५-२६ सम्म भने यो संख्या अझै कम भएर कोभिडपूर्वकै स्तरमा आउने अनुमान गरिएको छ ।

कोभिड-१९ को विश्वव्यापी महामारीको समयमा सिमामा गरिएको कडाइका कारण २ वर्षसम्म अष्ट्रेलियामा विदेशी विद्यार्थी र कामदार जान पाएका थिएनन् यसैका कारण श्रम बजारमा देखिएको अभाव पूर्ति गर्न गएको वर्ष अष्ट्रेलियाले आप्रवासीको संख्या बढाएको भएपनि एक्कासि कीर्तिमानी संख्यामा आप्रवासीहरू आएपछि पहिलादेखि दबाबमा रहेको घरभाडा बजारमा थप दबाब सिर्जना भएपछि घरबारबिहीनको संख्या बढेर सरकारको टाउको दुखाई बढ्दै गएपछि आप्रवासीको संख्यामा घटाउने रणनीतिमा सरकार लागेका कारण उच्च अध्ययनको लागि नेपालीहरूको प्रमुख शैक्षिक गन्तव्य रहेको अष्ट्रेलिया यात्रा थप कठिन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट