प्रतिष्ठानले आयोजना गरेको लोकदोहोरी महोत्सवमै रामजी खाँडलाई वेवास्ता गरिएपछि…-Sutra News

प्रतिष्ठानले आयोजना गरेको लोकदोहोरी महोत्सवमै रामजी खाँडलाई वेवास्ता गरिएपछि…

बिहिबार, २५ असोज २०८०

बिहिबार, २५ असोज २०८०

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गोरखा शाखाको आयोजनामा यही असोज २४ गतेदेखि बृहत लोकदोहोरी महोत्सव सुरु भएको छ । असोज २३ गतेदेखि सुरु हुने भनिएको महोत्सव इजरायल हमलामा ज्यान घुमाएका विद्यार्थीहरुको सम्झनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेसँगै एक दिनपछिबाट सुरु भएको हो ।



प्रतिष्ठानको गोरखा शाखामा रही हाल प्रदेश वा केन्द्रमा रहेका सवै कलाकारहरु सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय लोकदोहोरी कलाकारहरु सबैलाई निमन्त्रणा गरिएको छ । साथै, महोत्सव सम्पन्न गर्नका लागि प्रतिष्ठानअन्तर्गत देश तथा विदेशमा रहेका ७७ वटै शाखासँग सहकार्य गरिएको छ ।

सबै शाखासँग सहकार्य गर्ने र स्थानीयदेखि राष्ट्रिय कलाकारहरु सबैलाई महोत्सवमा समेटेने भनिएपनि केन्द्रिय प्रथम उपाध्यक्षसमेत रहेका लोकदोहोरी गायक रामजी खाँडलाई भने बोलाइको छैन । महोत्सवमा निमन्त्रणा गरिएका सबै कलाकारहरुको फोटोसहितको ब्यानर बनाइएको छ तर, त्यसमा रामझी खाँड भने छैनन् । आफूलाई वेवास्ता गरिएपछि खाँडले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् ।

उक्त महोत्सवमा बोलाइएका सबै कलाकारहरुको फोटोसहितको ब्यानर आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै उनले आफूप्रति किन पूर्वाग्रह राखिएको होला भन्दै प्रश्न गरेका छन् ।

“राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गोरखाको आयोजनामा प्रतिष्ठानको आफ्नै भवन निर्माणार्थ बृहत लोकदोहोरी महोत्सव गोरखा सबै मिलेर सफल पारौ भन्ने उद्देश्यका साथ कार्यक्रम भइरहेको छ । केन्द्रीय प्रथम उपाध्यक्षको हैसियतले नैतिक भौतिक र आर्थिकरुपमा सहयोग गर्ने अवसरबाट म भने बन्चित भएँ या गराउनु भयो त्यसमा दुःखी छु”, उनले फेसबुक पेजमा लेखेका छन्,  “तपाईहरुप्रति मेरो कुनै पुर्वाग्रह छैन, मप्रति पुर्वाग्रह नराख्नु हुन आयोजक, संयोजक सबैलाई अनुरोध छ ।”

उता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गोरखा शाखाका अध्यक्ष हरीराम परीयारले भने नियतबश उनलाई छुटाईको नभई विशेषत गोर्खाली कलाकारलाई प्राथमिकता दिइएको र एउटै कार्यक्रममा सबै कलाकारहरुलाई समेट्न नसकिने भएकाले यस महोत्सवमा छुटेका अन्य कलाकारहरुलाई भने आगामी कार्यक्रमहरुमा समेटिने बताएका छन् । तथापी, खाँडलाई नसमेटिएप्रति अन्य कलाकारले पनि असन्तुष्टि जाहेर गरेका छन् ।

उक्त महोत्सव कात्तिक ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा गोरखा तारा प्रतियोगिता, अन्तरपालिका स्तरीय दोहोरी गीत प्रतियोगिता तथा राष्ट्रियस्तरको दोहोरी गीत प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट