नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाविरुद्ध आज अभियोगपत्र दर्ता होला ?-Sutra News

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाविरुद्ध आज अभियोगपत्र दर्ता होला ?

बुधबार, १० जेष्ठ २०८०

बुधबार, १० जेष्ठ २०८०

काठमाडौं- भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई आजसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।



त्यसैले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवम् सहन्यायाधिवक्ता अचुतमणि न्यौपानेले आज (बुधबार)नै अदालतमा अभियोगपत्र दर्ता हुने सम्भावना रहेको बताएका छन् ।

‘हामीले सोमबारबाट अध्ययन सुरु गरेका थियौँ । मंगलबार अध्ययन सकेर अभियोजन तयार पार्न सुरु गरेका छौँ,’ प्रवक्ता न्यौपानेले भने ।

मुद्दामा सहन्यायाधिवक्ता नेउपानेसहितको आठजनाको समूहले अध्ययनसहित भियोजनको प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रहरीको प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ । प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको छ ।

नेउपानेका अनुसार अझै कुन कसुरमा मुद्दा अगाडि बढाउने निश्चित भएको छैन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

यस प्रकरणका योजनाकार एवम् विचौलिया केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले चैत १२ गते नै पक्राउ गरेको थियो । उनीहरूबाटै आएका बयान र भेटिएका प्रमाणका आधारमा प्रहरीले अन्य व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई पटक–पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ । आज यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ । सोही कारण सम्भव भएसम्म आज नै नत्र भोलिसम्म अभियोग पत्र दर्ता गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट