टोपबहादुर रायमाझी साँच्चै भारतमै लुकेका छन्?-Sutra News

टोपबहादुर रायमाझी साँच्चै भारतमै लुकेका छन्?

मंगलबार, २६ बैशाख २०८०

मंगलबार, २६ बैशाख २०८०
फाइल तस्बिर

काठमाडौँ- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद टोपबहादुर रायमाझीलाई खोज्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरिएको छ।



पक्राउ पूर्जी जारी भएपछि आफैँ सम्पर्कमा आउने बताए पनि उनी त्यसपछि फरार भएका थिए। अहिलेसम्म सम्पर्कमा नआएपछि खोजी गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरिएको छ।

त्यसैगरी रायमाझी भागेर भारत पुगेको आशंकापछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पनि परिचालन गरिएको छ। गृह स्रोतका अनुसार रायमाझी भारतको लखनउ वा गोखरपुरतिर पुगेको आशंका गरिएको छ।

गत बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेका रायमाझीले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए। तर अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार छन्।

प्रहरी स्रोतले रायमाझी रुपन्देहीको शिवनगरसम्म पुगेको देखिएको बतायो। त्यसपछि भने उनी कहाँ गए पत्तो छैन। यसैको आधारमा उनी भारत गएको आशंका गरिएको हो।

बुधबार पक्राउ पूर्जी जारी भए पनि सोमबार बितिसक्दा समेत प्रहरीले रायमाझीलाई पक्राउ गर्न सकेको छैन ।

अर्घाखाँचीको कार्यक्रम सकेर उनी त्यसै दिन राति काठमाडौं आउने तयारीमा थिए। सोहीअनुसार उनले भैरहवाबाट काठमाडौं आउनका लागि प्लेनको टिकटसमेत काटेका थिए।

तर, उनी एकाएक सम्पर्कविहीन भए । राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा गएर बसेको थियो। त्यति नै बेला रायमाझीका छोरा सन्दीप पक्राउको खबर बाहिरिएपछि उनी फरार भएका थिए ।

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। एमाले नेता रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो।

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभई नेपाली नागरिक रहेको खुलेको थियो। नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ। यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको बताइएको छ।

आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टीको केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नका लागि बैठक बस्ने भनिए पनि रायमाझीबारे पनि यो बैठकमा छलफल गर्ने तयारी अध्यक्ष केपी ओलीको छ। पार्टीभित्र रायमाझीलाई निलम्बन गरेर अघि बढ्नुपर्ने आवाज उठेपछि रायमाझीको बचाउमा लागेका ओलीलाई पनि समस्या आइलागेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट