‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’-Sutra News

‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

काठमाडौँ, ७ फागुन । विश्वको सबैभन्दा ठूलो कागको मूर्ति काठमाडौँको गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झण्डै दुई हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा निर्माण गरेपछि त्यो हेर्न आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक दर्जनौँदेखि सयौँ जना शहीदपार्कमा कागको मूर्ति हेर्नेको संख्या बढ्दो छ ।



यो कागको मूर्ति विश्वकै ठूलो भएको कागेश्वरी मनोहरा नगरपालिका १ का वडाध्यक्ष मुकुन्द गजुरेलले बताए । उनका अनुसार १४ सय किलो बराबरको कागको मूर्ति अमेरिकामा रहेको भएपनि त्योभन्दा ठूलो अर्थात १९ सय ३२ किलोको कागको मूर्ति शहीदपार्क चिहानडाँडामा राखिएको हो । र, यो कागको मूर्ति हेर्न पछिल्लो समय काठमाडौँ उपत्यकाबाट आन्तरिक पर्यटक शहिदपार्क चिहानडाँडा पुग्ने गरेका छन् । जहाँ घुम्न तथा वनभोज खान मिल्ने गरि पार्क निर्माण गरिएको छ भने कागको मूर्ति विशेष रुपमा सजाइएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका १ नं. वडाध्यक्ष गजुरेलले शहीदपार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परिरहेको बताए ।‘विश्वको सबैभन्दा ठूलो कागको मूर्ति हामीले बनाएपछि गागलफेदीको चिहानडाँडा शहिदपार्कमा आन्तरिक पर्यटक बढिरहेका छन् । त्यसबाहेक उपत्यकाबाट नजिकै पर्ने भएकाले शहीदपार्क, कागेश्वरी महादेव मन्दिर, मणिच्युड, शिवधामको मानव निर्मित ताल हेर्ने पर्यटकको संख्या बढ्दै छ’ उनले भने ।

साथै उनले कार्यक्रममा विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी चिहानडाँडामा निर्माण गरिएको शहीदपार्क घुम्न पनि आह्वान गरे । ‘कागेश्वरीको मुख्य आकर्षण र पर्यटकीय क्षेत्रका रुपमा शहिदपार्क बनिरहेको छ । विश्वको सबैभन्दा ठूलो काग हेर्नलाई गागलफेदी शहिदपार्क जाऔँ ।’

नेपाल पर्यटन बोर्ड, बागमति प्रदेश सरकार र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा शहिदपार्क तथा कागेश्वरी महादेव मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माण गरिएको छ । शहीदपार्कमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने कागेश्वरी मन्दिरमा हिड्नेका लागि ट्रेल तथा पार्क निर्माणको काम चलिरहेको छ ।

कागेश्वरी मन्दिरमा रहेको सानो झरनाले पनि आन्तरिक पर्यटकको ध्यान तानिरहेको छ । मन्दिर पुगेका धेरै आन्तरिक पर्यटक फोटो तथा भिडियो बनाउँदै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकमा अपलोड गर्दै आएका छन् । यसले आन्तरिक पर्यटन वृद्धि गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट