देशका मुख्य चुनौती मध्ये बेरोजगारीपछि ‘Cost of Capital’-Sutra News

देशका मुख्य चुनौती मध्ये बेरोजगारीपछि ‘Cost of Capital’

मंगलबार, २ फाल्गुन २०७९

मंगलबार, २ फाल्गुन २०७९

नारायण गाउँले । देशका मुख्य चुनौती मध्ये बेरोजगारीपछि ‘Cost of Capital’ अर्थात् व्यावहारिक भाषामा ऋणको ब्याजदर निकै महँगो हुनु पनि एक हो । रोजगारी छैन । विकल्प भनेको कुनै नयाँ बिजनेश सुरु गर्नु हो । एउटा स्टार्ट-अप आइडिया या बिजनेसलाई ठूला ऋणदाताले पत्याउँदैनन् । उसले व्यक्ति र अनेक वित्तीय संस्थाबाट १५-२०% सम्म चर्को ब्याजमा लगानी (ऋण) जुटाउन बाध्य हुन्छ । त्यति चर्को ब्याजका लागि पनि थप कमिशन दिनुपर्ने घटना सुनिन्छन् ।



शहर या लक्षित उपभोक्तालाई ध्यानमा राखेर बनाइएका सस्तो र सुलभ ‘डेडिकेटेड इन्ड्रस्ट्रियल एरिया’ छैनन् । जग्गा छोइनसक्नु छ । कस्ट त्यसै बढ्यो । सड़क होस् या हवाइ, जल होस् या भूमिगत, पूर्वाधार पनि गतिला छैनन् । रेल, मेट्रो, बस, ट्ऱ्याम जस्ता सार्वजनिक यातायातको सुविधा सर्वत्र छैन । व्यवसायलाई एउटा गाड़ी या मोटरसाइकिल मात्रै चाहियो भने पनि २००% जति कर तिर्नुपर्ने हुन्छ । ऊर्जाको सुलभता र विश्वसनीयता पनि छैन ।

दक्ष जनशक्ति बाहिर जाने स्पर्धामा छ । अल्पदक्ष या अदक्ष जनशक्तिलाई आवश्यक सिप, ज्ञान र अनुभव प्रदान गर्न समय र पैसा दुबै खर्च हुन्छ । अझ अलिकति दक्ष बन्नेबित्तिकै ऊ नेपालको सामान्य कम्पनीमा किन अड्कियोस् र ! सम्बन्धित सरकारी निकायहरू बाधा पुऱ्याउन, खोचे थाप्न या हलो अड्काउन नभई उल्टो सहयोग र सहजीकरणका लागि हुन् भन्ने त त्यहाँका कर्मचारीलाई पनि थाहा छैन । अब यी सबै कुरा जोड्दा एउटा नयाँ बिजनेशका लागि क्यापिटलको मूल्य थेग्नै नसक्ने स्तरको बन्दो रहेछ । अझ त्यसमाथि बजारको अध्ययन-अनुसन्धान र नवप्रवर्तनको संस्कार हामीसँग नभएकाले एउटा बिजनेश उभिएको देख्ने बित्तिकै उस्तै प्रकृतिका दर्जन बढ़ी बिजनेश त्यहीँ शुरू हुन्छन् ।

स्वदेशी उत्पादन बढाउने त भन्छौँ । तर २०% चर्को ब्याजमा ऋण लिएपछि एउटा उत्पादन अन्य कुनै पनि लागत नजोड्दै २०% महँगो हुने भयो । त्यसमा २०% मात्रै मुनाफा जोड्ने हो भने त्यो उत्पादन ४०% महँगो हुन्छ । कच्चा पदार्थदेखि उत्पादन, जनशक्तिदेखि मार्केटिंगसम्मका मुख्य ‘कस्ट’ त जोडेकै छैन । स्थानीय निकायदेखि सङ्घीय सरकारसम्मले कदम कदममा टेबल मुनिदेखि टेबल माथिबाट लिने कर पनि जोड्नुहोस् । अब त्यो उत्पादनले विदेशी उत्पादनसँग कसरी प्रतिष्पर्धा गर्ने ? ठिक्कको नाफासहित सय रुपियाँ पर्ने वस्तुलाई स्वदेशी भएकैले आम नागरिकले किन २०० तिर्ने ? र कहिलेसम्म तिर्ने ? बजारमा १०० रुपियाँमा पाइनुपर्ने उत्पादन १५० मा बेच्दासमेत नाफा नहुने भएपछि व्यवसायीले के गरोस् ?

प्रेम प्रसाद आचार्यहरूले के गरून् ? जुम्लाको स्याउ नबिकेकोमा हामीलाई खेद त लाग्छ, तर काश्मीरबाट ट्रेन, ट्रक, पानी जहाज र बस हुँदै १५-२० दिनमा काठमाडौं आउने स्याउभन्दा जुम्लाको स्याउ महँगो किन हुन्छ भन्नेतिर हाम्रो ध्यान पुग्दैन । तेल, चामल, गहुँ, दाल र दूध जस्ता दैनिक उपभोग्य र देशमैं प्रशस्त उत्पादन हुने वस्तु पनि युरोप अमेरिकाभन्दा महँगो मूल्यमा किन्न हामी बाध्य छौं, किन ? तैपनि किसानले उचित बजार र मूल्य नपाएर सड़कमा पोखेको समाचार पनि हामीकहाँ नै सुनिन्छ ।

देशमा कसरी अनुसन्धान, आविष्कार, र नवप्रवर्तनलाई अगाडि बढाउन सकिन्छ, कसरी नयाँ स्टार्टअपहरूलाई उत्प्रेरित र भरथेग गर्न सकिन्छ भनेर संसदमा बहस हुँदैन । त्यहाँ भाषण हुन्छ । आफ्नो आत्मप्रसंशा र एकअर्का प्रति कटाक्ष हुन्छ । जबकि तिनको फूलटाइम काम नै भएका नीतिनियम र कानुनको गम्भीर अध्ययन र आवश्यक सुधारको पहल गर्नु हो । नभएका कानुनहरू यथाशक्य छिटो निर्माण गर्नु हो ।

ब्याजदरको मुख्य कारण अनियन्त्रित मूल्यवृद्धि हो । त्यसलाई नियन्त्रण गर्ने उपाय देशको मुद्दा बन्दैन । मान्छे चरम निराश र पीड़ित भएर आत्मदाह गर्ने हदसम्म पुग्दासमेत हामीलाई त्यो एउटा समाचार भन्दा बढ़ी लाग्दैन । हाम्रा प्राथमिकता, हाम्रा मुद्दा र हाम्रो चासो अलग छ । हाम्रा लागि व्यक्ति मुद्दा हो । प्रचण्ड मुद्दा हो । ओली या देउबा मुद्दा हो । नभए रवि लामिछाने या बालेन मुद्दा हो । व्यक्तिको व्यक्तित्व मुद्दा हो । विषय मुद्दा होइन । देश मुद्दा होइन । आफ्नै परिवारको कष्टकर नागरिक जीवन पनि कुनै मुद्दा होइन ।खासमा हामी नागरिक होइनौँ । फगत् जिन्दाबाद र मुर्दाबाद हौँ ! कोही अलि पुराना जिन्दाबाद, कोही अलि नयाँ जिन्दाबाद ! तात्त्विक रूपमा हामी एउटै हौँ !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट