अबको प्रश्न– रवि लामिछाने कि स्वतन्त्र पार्टी?-Sutra News

अबको प्रश्न– रवि लामिछाने कि स्वतन्त्र पार्टी?

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

पत्रकारिताका सुनौला दुई दशकमा लेखनीभन्दा अर्को धन्दा नगरेको मैले  जीवनका उर्जाशील समय पत्रकारितामार्फत समाज उत्थानको कर्ममा खर्च गरेपछि यसमा प्रत्यक्ष सहभागीता जनाउने प्ल्याटफर्मबारे पनि सोच बनाएकै थिएँ।



परम्परागत राजनीतिक शक्तिसँग वैचारिक समानताका आधारमा कहिँ कतै जोडिने सुत्र खोजीरहँदा असंगती र विकृत सांगठनिक तथा व्यवाहारिक पक्षका कारण राजनीतिमा पनि निस्क्रियपन नै निको लागिरहेको थियो। यो आलेख आफैंबाट उठाउनुको एउटा अर्थचाहिँ समाजमा म जस्ता पात्र कति होलान् भन्ने पनि हो।

गत स्थानीय चुनावपछि स्वतन्त्र उम्मेदवारको एक प्रकारको उभार आयो र लौरो अभियान पनि सुरु भयो। राजनीति कुनै ब्रान्डका आधारमा जितिने र स्थापित हुने खेल होइन, कहिँ कतै खहरे भए पनि यो निरन्तर बगीरहने नदीजस्तो बनाउनका लागि स्थापित हुने मौका पाउनुपर्छ। परिवर्तनका निम्ति केही बर्षअघि जन्मिएका विवेकशील र साझा पार्टी ५ बर्षको अवधिमा धुलीसात हुनुका कारण पनि छन्। यसले एउटा कुनै स्थायी नीतिलाई अबलम्बन गरेन मात्र बेतिथिविरुद्ध बोल्यो। तर राजनीतिमा स्थापित हुनका लागि सैद्धान्तिक लाइन र त्यसमा जनतालाई आकर्षित गर्ने ताकत हुनुपर्छ।

नेपालमा राजनीतिक दल दुईथरी मानकमा छन्। पहिलो ‘मास बेस’ र दोस्रो ‘क्याडर बेस’। परम्परागत रुपमा यी दुईथरी लाइनको नेतृत्व नेपाली कांग्रेस र नेकपा एमालेले गरेको छ। धेरथोर यो शैलीमा माओवादी केन्द्र पनि छ। तर दुई दशकको बीचमा यी दलका कार्यशैली र स्वार्थवादले नेपालमा तेस्रो सैद्धान्तिक लाइनको खाँचो थियो। यसलाई स्थापित गरी यी दुवैथरी लाइनका बेतिथिलाई प्रतिस्थापन गर्नु नै छ।

अब विकल्पको शक्तिका रुपमा स्थापित हुने मौका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले मौका दिएका छन्। यी पार्टीलाई हालै सम्पन्न मतचाहिँ कुनै क्याडरबेस नभएर ‘मास बेस’ हो। नेपालको राजनीतिक समाजिक बनोट र परिवेशमा आफूले पाएको मत संरक्षण गर्न नसक्नु देखिँदै आएको छ। यो मत संरक्षणका निम्ति एउटा सैद्धान्तिक लाइनको खडेरी हुनेगर्छ।

यी मध्य पनि स्वतन्त्र पार्टीले जुन मत पाएको छ यो पार्टीको अभ्यासले पाएको पसिनाको मत नभई श्रमिकको पसिनाले सृजित मत पनि हो। तर, जे जसरी भए पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई स्थापित शक्तिका रुपमा परिचित गराउन आवश्यक छ।

नेपालमा राजनीति व्यक्तिको स्वार्थ केन्द्रमा राखेर हुने गरेको छ। व्यक्तिको पदसँग जोडिने सिद्धान्तले कुनै पार्टी स्थापित हुँदैन, यसैको प्रभाव थियो विवेकशील साझाको दुखः। त्यसैको प्रभावका आधारमा त्यो पार्टी अब विस्तारै बिलयकै लयमा हिँडिसकेको छ।

रवि लामिछानेको लोकप्रियतासँगै स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जुन मत पाएको छ यो ‘मास फ्रस्टेशन’को नतिजा हो। जिल्ला तहसम्म सांगठनिक रुपमा जरा गाडीनसकेको यो पार्टीले ल्याएको मतको सरसर्ती सर्वेक्षणले भन्छ– साक्षर क्षेत्र प्रभावित छन्। निरक्षर क्षेत्रमा यसको प्रभाव बढाउन आवश्यक छ।

अहिले सरकारमा जाने या नजाने भन्ने विषयमा बहसको विषयले यो पार्टीको आयु पनि निर्धारण गर्नेछ। जाने विषयले दलदलभित्र पुग्नेमा दुईमत छैन किनभने ठूलो जनमत लिएर परम्परावादी नै उभिएका छन्। यसबेला स्वतन्त्र पार्टी सरकारमा होइन, प्रतिपक्षमा बस्न आवश्यक छ। सत्ता गठबन्धनको सरकार बनेको खण्डमा यसको पोजिशन दोस्रो ठूलो प्रतिपक्ष हुनेछ। र, यो निक्कै प्रभावकारी योग्यता हो। यो पार्टी सदनमा बन्ने विभिन्न समितिमा सामेल हुनेछ र त्यसमार्फत आफ्ना नीति र आवाजलाई राज्यसंयन्त्रमा प्रभाव पार्न सफल हुनेछ। त्यसो हुन नसके पनि भुईँमान्छेका सवालले धक्का दिन सक्ने हैसियतमा हुनेछ।

अहिले उदाएको स्वतन्त्र पार्टीले पहिला त अस्तित्व निर्माणको अभ्यास थाल्नु अनिवार्य छ। रवि लामिछानेका सामाजिक काम र भुईँमान्छेका सवाललाई उठाएको मिहेनतले यो शक्ति निर्माण भयो। यसलाई स्थायी बनाउनका लागि पाएको जनमतलाई जोगाउने गृहकार्य अहिलेको मूल आवश्यकता हो। सदनमा पुगेकाहरूले तिनै रविले मिडियामा उठाए जस्तो भुइँमान्छेका सवाललाई निरन्तर उठाइरहनुपर्छ र अन्यले पार्टीको आयुलाई बलियो बनाउन तल्लो तहसम्म खट्नुपर्छ

मूलतः गणतन्त्रलाई दुई ठूला पार्टीहरूमा विभाजन गरेर, प्रत्येकले आफ्नो नेताको अधीनमा राखेर र एकअर्काकोविरुद्धमा ठोस उपायहरू सोचिरहने कांग्रेस र एमालेको नीतिभन्दा अलग रहने मौका पनि छ। अहिलेको आवश्यक प्रश्नचाहिँ व्यक्ति होइन पार्टी स्थापित र विस्तारको विषय छ। विस्तारले मात्र होइन यसको दीर्घकालिन अस्तित्व रक्षाको प्रश्न मूल हुनेछ।

यो पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापित गर्नका निम्ति उदारवादी हुन आवश्यक देखिन्छ। उदारवादी एक असल मानिस हो जसले मानिसहरूप्रति सभ्य व्यवहार गर्छ, लोकतान्त्रिक रूपमा कुरा गर्छ, र प्रायः आफ्नो व्यक्तिगत जीवनमा लोकतान्त्रिक हुन्छ। पार्टीका हकमा पनि यहि व्यवाहारको खाँचो छ।

रवि र स्वतन्त्र पार्टीको पार्यावाचीलाई जीवन्त राख्ने हो भने यसका नीति, सैद्धान्तिक लाइनको स्पष्टता तयार पारी सहरमा देखिएको हस्तक्षेपलाई आगामी स्थानीय तहको निर्वाचनसम्म पहाडी र हिमाली क्षेत्रमा पनि प्रभावकारी बनाउनुपर्ने हुन्छ। यसका लागि ‘मास बेस’ मात्र होइन ‘मास क्याडर बेस’ अभ्यासमार्फत स्वतन्त्र पार्टीलाई चिर र स्थायी शक्तिका रुपमा व्यवस्थापन गर्न आवश्यक छ। ठूलो जनमतले विश्वास गरेको यो वैकल्पिक शक्तिले व्यवस्थित पुँजीवादी समाजवादको सैद्धान्तिक चित्रको खाका कोर्न थाल्नुपर्छ, सदन र सरकारका विषयमा अड्किनु हुँदैन।

यो ५ बर्ष केबल सत्तालाई प्रश्न गर्ने, जनताका सवाललाई सदनमा जीवित गर्ने काममा अभ्यस्त भए आगामी निर्वाचनमा कुनै नौलो ताकत होइन, सुनौलो समयका रुपमा उदय गर्न कुनै कठिनाई हुनेछैन। अन्यथा, अहिले देखिन थालेको विवाद र विरोधको किचलोबीच अघि बढ्न कठिन हुनेछ।

एउटा धक्का दिने शक्तिका रुपमा उदय हुँदा पार्टीभित्र थिति भएका मात्र होइन, बेथिति भएका अनेक व्यक्तिका स्वार्थ जोडिन पुग्छन्। ति स्वार्थमा नभई वैचारिक स्वार्थलाई स्थापित गर्नुपर्छ। माओवादीको पहिलो उभारसँगै अवसरवादीहरूको प्रवेशले अहिले प्रचण्डको ताकत कोही न कोहीसँग टाँसिनुपर्ने अवस्थितिमा पुगेको देखिएकै छ। खासगरी ०७४ को निर्वाचनमा एमालेसँग र ०७९ को निर्वाचनमा कांग्रेससँग नजोडिएको भए अस्तित्व नै संकटमा हुने थियो।

अहिले उदाएको स्वतन्त्र पार्टीले पहिला त अस्तित्व निर्माणको अभ्यास थाल्नु अनिवार्य छ। रवि लामिछानेका सामाजिक काम र भुईँमान्छेका सवाललाई उठाएको मिहेनतले यो शक्ति निर्माण भयो। यसलाई स्थायी बनाउनका लागि पाएको जनमतलाई जोगाउने गृहकार्य अहिलेको मूल आवश्यकता हो। सदनमा पुगेकाहरूले तिनै रविले मिडियामा उठाए जस्तो भुइँमान्छेका सवाललाई निरन्तर उठाइरहनुपर्छ र अन्यले पार्टीको आयुलाई बलियो बनाउन तल्लो तहसम्म खट्नुपर्छ।

यसो गरेको खण्डमा अहिले २० जना पठाएको सदनमा आगामी निर्वाचनमा नेपाली जनताले १३८ जना पठाउनलाई कन्जुस्याँई गर्नेछैनन्। अर्काको आलोचना मात्र होइन, आफूले गर्न सक्ने मार्गचित्र कोरेर तल्लो तहसम्म बुझाउन नसकेसम्म ७० बर्षदेखि जरा गाडेर बसेका दलबाट शासन सत्ता खोस्न मुस्किल पर्नेछ। सत्ता थिति होइन, व्यक्तिको निर्णय मात्र होइन। स्वयम् रवि लामिछानेले नै एउटा प्रश्नमा घोत्लिन आवश्यक छ– रवि लामिछाने कि स्वतन्त्र पार्टी? एउटा व्यक्तिबाट स्थापित भएको दल नै इतिहासमा सैद्धान्तिक रुपमा जीवित हुन्छ। जसरी पुष्पलाल, मदन भण्डारीहरूको नाम अहिले पनि ‘अमर’ छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट