एसपीपी सम्झौताले मच्चायो हंगामा, साथ नपाउने भएपछि प्रधानमन्त्री नै पछि हटे-Sutra News

एसपीपी सम्झौताले मच्चायो हंगामा, साथ नपाउने भएपछि प्रधानमन्त्री नै पछि हटे

बिहिबार, २ असार २०७९

बिहिबार, २ असार २०७९

काठमाडौं – अमेरिकाले नेपाल सरकारसँग प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अहिले विवादमा परेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले हंगामा मच्चाएको धेरै समय बित्न नपाउँदै एसपीपी सम्झौताले पनि संसदमा नै हंगामा मच्चाएको छ ।



यस सम्झौतालाई लिएर सत्ता गठबन्धन दलहरु पनि पछि हटेका छन् । एसपीपी सम्झौता हुन लागेको चर्चापछि नेपाली सेना र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सामाजिक सञ्जालमा पनि चर्को विरोध भइरहेको छ ।

बुधबार दिनभर संसददेखि सामाजिक सञ्जालभरी यसको विरोध भएपछि सत्ता गठबन्धनका दलहरु लगायत नेपाली सेनाले पनि यसबारे जवाफ दिएको छ । प्रधानमन्त्री देउवाले भने राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् । सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने स्पष्ट पारेका छन् ।

यस्तै नेपाली सेनाले पनि एसपीपी सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमार्फत एसपिपि सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना रहेको बताएको छ । नेपाली सेनाको यो विज्ञप्तिपछि प्रधानमन्त्री देउवा पनि यस सम्झौताबाट पछि हट्दै मुलुकको हितविपरीत कुनै सम्झौता नगर्ने बताएका हुन् । उनले राष्ट्र हितविपरीतका काम नगर्ने र राष्ट्रको शिर निहुर्‍याउने गरीका कुनै सन्धि सम्झौतामा हस्ताक्षर नगर्ने बताए ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि विवादमा आएको यस सम्झौताको बिषयबारे बोले । उनले पनि आफूले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्‍गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न प्रधानमन्त्री देउवालाई सुझाएको बताए । यस्तै कांग्रेसकै नेता गगनबहादुर थापाले पनि यस सम्झौता बारे प्रधानमन्त्री देउवाले संसदमै आएर जवाफ दिनुपर्ने धारणा पनि राखेका थिए ।

नेकपा एमालेले पनि एसपीपी मुलुकलाई सैन्य गठबन्धनमा लैजाने प्रपन्च रहेको भन्दै यसलाई आफ्नो पार्टीले कुनै हालतमा स्वीकार नगर्ने बताएको छ । एमालेका नेता शंकर पोखरेलले प्रधानमन्त्री देउवा रक्षामन्त्रीको हैसियतमा अमेरिका जान लागेको सूचना आएको भन्दै त्यसो गरिए देशकै इज्जत र प्रतिष्ठामा दाग लाग्ने पनि बताए ।

यस्तै एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही संचारमाध्यमले दस्तावेजको कपी पनि सार्वजनिक गरे । दस्तावेजको कपी नै सार्वजनिक भएको समाचार आएपछि काठमाडौंस्थित अमेरिकी दूताबासले एसपीपी मस्यौदा भनेर सार्वजनिक भएको दस्तावेज नक्कली भएको बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट