ओलीले रावललाई भने – सुदूरपश्चिमको इन्चार्ज लेखराज नै हो, तपाईं उपाध्यक्षका रूपमा काम गर्नुस्-Sutra News

ओलीले रावललाई भने – सुदूरपश्चिमको इन्चार्ज लेखराज नै हो, तपाईं उपाध्यक्षका रूपमा काम गर्नुस्

आइतबार, २७ भाद्र २०७८

आइतबार, २७ भाद्र २०७८

नेकपा एकताअघि (२०७५ साल जेठ २)को अवस्थामा पार्टीलाई फर्काउने सहमतिपछि केपी शर्मा ओली नेतृत्वकै एमालेमा रहेका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका १० मध्यमार्गी नेताहरूलाई ओलीले निराश तुल्याइदिएका छन् ।



आइतवार ओलीनिवास बालकोटमा बसेको शीर्ष नेताहरूको बैठकमा ओलीले जेठ २ गतेको सांगठानिक संरचना हुबहु कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

गत असार २७ गते बसेको तत्कालीन १० सदस्यीय कार्यदलको बैठकले पार्टीलाई जेठ २ को स्थितिमा फर्काउने सहमति गरेको थियो । तर ओलीले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेका हुन् ।

नेता रावलले सहमतिबमोजिम आफूले सुदूरपश्चिमको पार्टी इन्चार्ज बनाउनुपर्ने माग राखेका थिए । ओलीले त्यसलाई अस्वीकार गरिदिए ।

बालकोट स्रोतले ओलीको भनाइ उदृत गर्दै सूत्रन्यूजसँग भन्यो – ‘लेखराज भट्टलाई हटाएर तपाईंलाई इन्चार्ज बनाउन सकिन्न । तपाईं पार्टीको उपाध्यक्षका रूपमा क्रियाशील हुनुहोस् ।’

लामो समय माधवकुमार नेपालसँग सहकार्य गरेका रावल अन्तिम अवस्थामा नेपाललाई छोडेर एमालेमै बसेका थिए । दश बुँदे सहमति हुबहु कार्यान्वयन हुने आशा गरेर ओली नेतृत्वकै एमालेमा बसेका मध्यमार्गी नेताहरू ओलीको एकलौटी शैलीबाट आजित भइसकेका छन् ।

ओलीले पूर्व माओवादी नेता लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्ज बनाएका छन् भने रामबहादुर थापालाई बागमतीको इन्चार्ज बनाएका छन् ।

पुरानो सांगठानिक संरचनाअनुसार वागमती प्रदेशकी इन्चार्ज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुनुपर्ने हो । ओलीले थापालाई हटाउन चाहेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट