ओलीका महान्यायाधिवक्ता बडालले नेपाल नेतृत्वको दललाई नेकपा (एशु) भनेपछि …-Sutra News

ओलीका महान्यायाधिवक्ता बडालले नेपाल नेतृत्वको दललाई नेकपा (एशु) भनेपछि …

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

निवर्तमान केपी ओली सरकारमा महान्यायाधिवक्ता रहेका रमेश बडालले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई क्रिश्चियन पार्टी रहेको आशयका साथ सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेखेका  छन् ।



उनले चारैतिर सेटिङ गरेर एमालेलाई किनारा लगाउन खोजिएको भन्दै नयाँ दललाई नेकपा (एशु) नाम दिएका हुन् ।

नेपाल नेतृत्वको दलको नाम नेकपा ‘एस’ हो तर उनले यसलाई बंग्याएर एशु लेखेका छन् ।

‘सेटिङ होस त यस्तो, भाद्र १ गते एमालेले चौध सांसदलाई निश्कासन गर्यो, भोलिपल्टै एमाले चोइटिन पुग्ने गरी सरकारले अध्यादेश ल्यायो, अध्यादेश विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले चार दिन लगायो, मुद्दाको पेशी हप्ता दिन पर तोकियो, फटाफट निर्वाचन आयोगले नियमावली पनी जारी गर्यो । भाद्र ९ गते आयोगले सनाखतको कर्मकाण्ड पुरा गर्यो । सोही दिन नेकपा (एशु)ले दर्ताको प्रमाणपत्र पनि पायो,’ उनले फेसबूकमा लेखेका छन् ।  

उनले यसअघि केपी ओलीले सेटिङ गर्ने गरेको भन्दै रोनाधोना भएको तर त्यतिबेला कुनै पनि निकायले ओलीलाई साथ नदिएको तर्कसमेत गरेका छन् ।

ramesh badal.JPG

पूर्व महान्यायाधिवक्ताले नै नयाँ दलको नाम तोडमरोड गरेर क्रिश्चियन भएको आशयसहित सामाजिक सञ्जालमा लेख्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेता नेपाललाई ओली पक्षीय नेता कार्यकर्ताहरूले ‘होली वाइन’ भन्दै आलोचना गर्ने गर्छन् । तर २०७५ साल मङ्सिरमा काठमाडौँमा आयोजित एसिया प्यासिफिक सम्मेलनको सह-आयोजक ओली नेतृत्वको सरकार थियो ।

आयोजक संस्था युपीएफ (युनिभर्सल पीस फेडेरेसन)को कोरियाली चर्चसँग आबद्धता छ । युपीएफलाई विश्वमा विवादित संस्थाका रूपमा लिइन्छ ।

त्यतिबेलै काठमाडौँमा होली वाइन चर्चामा थियो । उक्त सम्मेलनमा सहभागी सबैलाई होली वाइन पिलाइएको थियो । होली वाइन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसमेतले पिएको चर्चा चलेको थियो ।

oli upf.jpg

सोही विवादित क्रिश्चियन संस्थाले ओलीलाई एक लाख रुपैयाँ डलरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ पुरस्कार प्रदान गरेको थियो । विवादित संस्थाको कार्यक्रमलाई सफल पार्न राज्यको सबै संयन्त्र परिचालन गरेका ओलीकै कार्यकर्ताले नेता नेपाललाई ‘होली वाइन’ भन्दै जिस्क्याउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट