यस्तो छ उपनिर्वाचनको अंकगणित : एमालेकै जनप्रतिनिधि भन्छन् – बादललाई जिताउन सकिन्न !-Sutra News

यस्तो छ उपनिर्वाचनको अंकगणित : एमालेकै जनप्रतिनिधि भन्छन् – बादललाई जिताउन सकिन्न !

बुधबार, ५ जेष्ठ २०७८

बुधबार, ५ जेष्ठ २०७८

गृहमन्त्रीसमेत रहेका एमाले नेता रामबहादुर थापा ‘बादल’ले नेकपा माओवादी केन्द्रको कारवाहीपछि राष्ट्रिय सभा सदस्यको पद गुमाए । त्यही रिक्त एक पदमा बिहीवार उपनिर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेले पुनः बादललाई नै उम्मेदवार बनाएको छ भने एमालेकै माधवकुमार नेपाल पक्षबाट अर्का उम्मेवार खिमलाल देवकोटा पनि मैदानमा छन् ।



एमालेको नेपाल पक्ष, कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवारका रूपमा देवकोटालाई प्रस्तुत गरिएको छ । उपनिर्वाचनको एक दिनअघि जितहारको विषयमा नेपाली राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार एक अपील जारी गर्दै बादललाई नै जिताउन आग्रह गरेका छन् । यसअघि महासचिव ईश्वर पोखरेलले विज्ञप्तिमार्फत एमालेका जनप्रतिनिधिहरूलाई बादललाई नै भोट हाल्न निर्देशन दिएका थिए ।

माओवादी केन्द्र र कांग्रेस दुवै दलले साझा उम्मेदवारका रूपमा खडा गरिएका देवकोटालाई मत हाल्न आफ्ना पार्टीका निर्वाचित मेयर/उपमेयर र प्रदेश सभा सांसदहरूलाई निर्देशन दिएका छन् । वागमती प्रदेशमा एमाले एक्लै बहुमतमा छ । कांग्रेस, माओवादी र अन्य दलहरूको गठबन्धन बन्दासमेत बहुमत पुग्दैन । सहज रूपमा हेर्दा बादलले बाजी मार्ने देखिन्छ । तर एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले ‘फ्लोर क्रस’ गर्ने सम्भावना अत्याधिक रहेको छ ।

बादलले बाजी मार्नेमा शंका

सूत्र न्यूजले केही जनप्रतिनिधिहरूसँग उपनिर्वाचन कसको पोल्टामा जान सक्ला भनेर प्रश्न गरेको थियो । एमालेकै कतिपय प्रमुख/उपप्रमुखले बादललाई भोट दिन नसकिने स्पष्ट पारेका छन् । ‘चुनाव चिह्न मात्र भनेर हुँदैन, संघीयता र गणतन्त्र नै धरापमा पार्ने प्रवृत्तिका विरुद्ध हाम्रो मत जान्छ,’ देवकोटालाई मत हाल्ने संकेत गर्दै घुमाउरो भाषामा एमालेबाट निर्वाचित एक गाउँपालिका अध्यक्षले भने ।

उनले नाम उल्लेख नगर्ने शर्तमा बादलविरुद्ध गठबन्धन बनेको र गठबन्धनकै उम्मेवार देवकोटाले राष्ट्रिय सभा सदस्यमा जित्ने दाबीसमेत गरे । उनले आफ्नो जिल्ला रामेछापमा रहेका सबै जनप्रतिनिधिहरूबीच बादललाई हराउने सहमति भएकोसमेत खुलासा गरे ।

रामेछापको मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले पनि उही आशयको कुरा दोहोर्याए । ‘हामीलाई पार्टीबाट आधिकारिक निर्देशन अहिलेसम्म आएको छैन । हामी जनप्रतिनिधिहरू अनौपचारिक छलफलमै छौं । सूर्य चुनाव चिह्न भनेर मात्र हुँदैन, व्यक्तिका राम्रा नराम्रा कुराहरू हेरेर भोट हाल्नुपर्छ भन्ने मेरो मान्यता छ,’ बस्नेतले भने ।

त्यस्तै वागमती प्रदेश सभा सदस्य बलराम पौडेलले पार्टीको निर्देशन मान्ने बताए । उनी कांग्रेसबाट निर्वाचित सांसद हुन् । ‘कांग्रेसले आधिकारिक रूपमा खिमलाल देवकोटालाई मत हाल्ने निर्देशन जारी गरिसकेको छ,’ उनले भने, ‘पार्टी अनुशासन त मान्नै पर्यो ।’

उनले कांग्रेसबाट निर्वाचित वागमती प्रदेशका मेयर/उपमेयर र प्रदेश सांसदहरू सबैले देवकोटालाई नै मत दिने दाबीसमेत गरे ।

त्यस्तै वागमती प्रदेशका अर्का सांसद युवराज दुलाल ‘शरद’ले पनि देवकोटाको पक्षमा माहोल बनिरहेको दाबी गरेका छन् ।

उनले सूत्रन्यूजसँग भने, ‘हामीले कारवाही गरिसकेको व्यक्तिलाई मत दिने कुरा हुँदैन । हाम्रो प्रदेश कमिटीले पनि आधिकारिक रूपमा देवकोटालाई नै मत हाल्न निर्देशन गरिसकेको छ । पार्टी अध्यक्षले पनि निर्देशन जारी गर्नुभएको छ । अहिले माहोल देवकोटाको पक्षमै छ । एमालेका अधिकांश जनप्रतिनिधिहरूले पनि देवकोटालाई नै मत हाल्ने बताइसक्नुभएको छ ।’

सूत्रन्यूजले एमालेबाट निर्वाचित थप एक दर्जन जनप्रतिनिधिहरूलाई कसलाई भोट हाल्नुहुन्छ भनेर सोधेको थियो । उक्त प्रश्नमा अधिकांशले बादललाई मत नहाल्ने बताएका छन् ।

बादललाई भोट नहाल्नेलाई कारवाही गर्ने चेतावनी !

राप्ती नगरपालिकाकी मेयर प्रभा बराल भने पार्टीको आधिकारिक उम्मेदवारलाई मत हाल्नुपर्ने बताउँछिन् । सूत्रन्यूजसँग कुरा गर्दै बरालले भनिन्, ‘पार्टीले आधिकारिक रूपमा रामबहादुर थापालाई उठाएको हो । उहाँलाई नै भोट हाल्न निर्देशन गरिसकेको अवस्थामा यो/उ भन्न जरूरी छैन ।’

बरालले बादलकै पक्षमा माहोल बन्दै गइरहेको दाबीसमेत गरिन् । ‘कांग्रेसबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरूले पनि बादललाई नै भोट हाल्नेसमेत मैले बुझेकी छु,’ उनले भनिन् ।

त्यस्तै ओलीनिकट एक प्रदेश सांसदले पार्टीको आधिकारिक निर्देशन नमान्ने जनप्रतिनिधि कारवाहीमा पर्ने चेतावनी दिए । ‘अहिले पार्टीको आधिकारिक उम्मेदवारलाई मत नदिई अर्कैलाई दिने भनेर जसरी हल्ला चलाइएको छ, पार्टीलाई धोका दिने सबै कारवाहीमा पर्नुपर्छ । हामी कारवाही गर्छौं ।’

यद्यपी राष्ट्रिय सभाको उपनिर्वाचनमा बन्द रूपमा मत हाल्ने व्यवस्था हुने भएकाले कसले कता मत हाल्यो भन्ने थाहा चाहिँ हुँदैन । केन्द्रमा ओली र नेपालबीच सहमतिको प्रयास भइरहेको अवस्थामा कारवाही हुने सम्भावना पनि कम देखिन्छ ।

जब माधवले बादललाई निराश बनाएर फर्काए

आफूलाई समर्थन गर्न आग्रह गर्दै बादल मंगलवार नेपालनिवास कोटेश्वर पुगेका थिए । उनले निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह त गरे तर नेता नेपालले उनलाई निराश बनाएर फर्काए ।

स्रोतका अनुसार नेता नेपालले बादललाई सहयोग गर्न नसकिने बताएका थिए । ‘माधव कमरेडले तपाईंलाई सहयोग गर्न सक्दैनौं भनेर बादललाई फिर्ता गरिदिनु भएको हो,’ नेपालनिकट एक नेताले सूत्र न्यूजसँग भने ।

बादलले आफू सूर्य चिह्नको उम्मेदवार भएको भन्दै नेता नेपाललाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा नेता नेपालले आफूहरूले पहिल्यै अर्को उम्मेदवार उठाएको बताएपछि बादल कोटेश्वरबाट खालि हात फर्केका हुन् ।

यस्तो छ उपनिर्वाचनको अंकगणित

वागमती प्रदेशसभामा १ सय १० सांसदहरू छन् । प्रत्येक सांसदको मतभार ४८ हुन्छ । त्यस्तै १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्या २ सय ३८ छ । पालिकाको प्रमुख र उपप्रमुख दुवैको समान अथवा १८ मतभार हुन्छ ।

एमाले एकजुट हुने हो भने उपनिर्वाचनमा बादलको जित पक्का देखिन्छ । एमालेविरुद्ध अन्य सबै पार्टीको गठबन्धन बनेपनि बहुमत हुँदैन । तर नेता नेपाल पक्षका जनप्रतिनिधिहरूले स्पष्ट रूपमा भन्दै आएका छन्, ‘बादललाई भोट दिन सकिन्न ।’

वागमती प्रदेशमा नेपाल समूहमा १३ प्रदेश सांसद रहेको अनुमान गरिएको छ । त्यस्तै एमालेका पालिका प्रमुख र उपप्रमुखको संख्या १ सय ३३ मध्ये नेपाल समूहबाट बादललाई भोट जाने सम्भावना कम छ । जबकी एमाले सांसद र पालिकाका प्रतिनिधिहरूको संयुक्त मत ५ हजार ८२ हुन्छ । त्यसमध्ये नेपाल समूहले देवकोटालाई मत दिँदा बादलको जित असम्भव देखिन्छ ।

माओवादी केन्द्रको जम्मा मत्भार १ हजार ६ सय ९८ छ भने कांग्रेसको जम्मा मतभार २ हजार २ सय ८० छ । दुवै दलको संयुक्त मतभार ३ हजार ९ सय ७८ हुन्छ । त्यस्तै नेपाल समूहको मतभार २५ सय भन्दा बढी रहेको दाबी गरिएको छ । कांग्रेस, माओवादी र एमालेको नेपाल समूह मिल्दा देवकोटाले जित हासिल गर्न सक्छन् ।

राप्रपाले भने ओली समूहका उम्मेदवार बादललाई नै मत दिन आफ्ना जनप्रतिनिधिहरूलाई निर्देशन दिइसकेको छ । त्यस्तै विवेकशील साझाले पनि ओलीका उम्मेदवारलाई मत नदिने बताएको छ ।

भिडियोमा पनि हेर्नुस्-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट