हुम्लामा समुदायस्तरमै फैलियो कोरोना संक्रमण-Sutra News

हुम्लामा समुदायस्तरमै फैलियो कोरोना संक्रमण

बुधबार, ३ मंसिर २०७७

बुधबार, ३ मंसिर २०७७

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ ।



पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको हो ।

गाउँपालिकाको अन्य वडामा संक्रमण नदेखिएको भए पनि वडा नं ४ को प्रत्येक गाउँमा कोरोना संक्रमित भेटिनुका साथै उच्च जोखिममा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

सोमबारसम्म ५३ जना रहेको कोरोना संक्रमितको संख्या मंगलबार ५९ जनाको एन्टिजेनबाट परीक्षण गर्दा तीन थपिएसँगै कोरोना संक्रमितको संख्या नाम्खा गाउँपालिकामा ५६ पुगेको फडेराले बताए । गाउँपालिकाले आवतजावत बन्द गर्दै सिल गरेको भए पनि संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।

पहिलो दिन चार, दोस्रो दिन आठ, तेस्रो र चौथो दिन कात्तिक २९ गते १५ गरी मंसिर १ गते सोमबार २६ जना कोरोना पोजेटिभ देखिएको थियो भने मंगलबार थप तीन जनामा संक्रमित देखिएको हो । हिमपातपछि बिहान, बेलुका र रातिको समयमा तापक्रम माइनसमा पुगेसँगै प्रकोपलाई नियन्त्रणमा लिन नसक्दा वडा नं ४ को समुदायस्तरमा प्रवेश गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

यस्तै दुई कोरोना संक्रमितलाई महँगो हवाईभाडा रु १०/१० लाख तिरेर हेलिकोप्टरमार्फत काठमाडौं उद्धार गरिएको छ । नाम्खाको याल्वाङ जिल्लाबाट चिकित्सकको टोली खटिएको भए पनि यो महामारीलाई नियन्त्रणमा लिन नसकिएको बताइएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

उत्तरी क्षेत्रमा देखिएको कोरोना प्रकोप नियन्त्रणमा जिल्लाका नियमनकारी निकाय नै मौन बसिरहेका छन् । याल्वाङमा दैनिक कोरोना संक्रमित बढ्दै गए पनि जिल्लाका जनप्रतिनिधि र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै बजारमा आलोचना गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट