अवैध क्लिनिक बन्द गर्न माग-Sutra News

अवैध क्लिनिक बन्द गर्न माग

आइतबार, ९ कार्तिक २०७७

आइतबार, ९ कार्तिक २०७७

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् । शनिबार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाइम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो ।



अवैध रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालक डा.रामजीवन यादवले गलत औषधि दिँदा थापाको मृत्यु भएको उनको आफन्तको आरोप छ । सञ्चालक यादवलाई कारवाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

क्लिनिक सञ्चालक यादवलाई कारवाही नगर्दासम्म शव नबुझ्ने उनीहरुले अडान लिएका छन् । शनिबार दिउँसो बिरामी भएपछि थापालाई उपचारका लागि यादवको क्लिनिकमा भर्ना गरिएको थियो । उपचारपछि पनि थापाको अवस्था झन जटिल बनेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको जिल्ला अस्पतालमा मृत्यु भएको बिरामीका आफन्त विक्रम थापाले बताए ।

अवैध रुपमा सञ्चालित क्लिनिकका सञ्चालक डा यादवको लापरवाहीका कारण ति युवतीको मृत्यु भएको उनले आरोप लगाए । मृतक युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले अवैध रुपमा सञ्चालित डा.यादवको क्लिनिकको विषयमा छानबिन थालिएको जानकारी दिए ।

क्लिनिकका सञ्चालक डा.यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । हाल उक्त क्लिनिक बन्द गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट