तीन कम्पनीका कोरोनाविरुद्धको खोप नेपालमा परीक्षण हुँदै-Sutra News

तीन कम्पनीका कोरोनाविरुद्धको खोप नेपालमा परीक्षण हुँदै

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं–खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ।



नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ।

परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले भने, ‘हङ सीले चिनियाँ कम्पनीमा कार्यरत एक हजार जनामा खोप लगाउने प्रस्ताव गरेको छ, उसको प्रस्तावमा सम्भाव्यता र स्वास्थ्य प्रोटोकलबारे परिषद्ले अध्ययन गरिरहेको छ।’

खोप विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाबमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने हुन्छ। रुसी खोप उत्पादकले समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष प्रस्ताव राखेको परिषद्का सदस्य सचिव डा.ज्ञवालीले जानकारी दिए।

रुसी राजदूत एलेक्सै नोभिकभले स्वास्थ्य मन्त्रालयसँग पहिलो चरणको छलफलसमेत गर्नुभएको छ। डा.ज्ञवालीले थपे, ‘मन्त्रालयले खोप अध्ययनबारे जिम्मेवारी आज (सोमबार) मात्रै दिएको छ, अझै तदारुकताका साथ सम्भाव्यता अध्ययन र छलफल अगाडि बढ्नेछ।’

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेकासँग विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालका अनुसन्धानकर्ता तथा चिकित्सकीय टोलीले वेबिनारमा खोपको परीक्षणबारे छलफल गरेको छ। अक्सफोर्ड विश्वविद्यालयले छिट्टै नै परीक्षणबारे अद्यावधिक जानकारी गराउने प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट