लोक दोहोरी कलाकारलाई यो तीजमा छैन आम्दानीको कोशेली-Sutra News

लोक दोहोरी कलाकारलाई यो तीजमा छैन आम्दानीको कोशेली

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

लोक दोहोरी गायिका सुनिता दुलालले यो वर्षको तिजका लागि ६–७ वटा स्टेज कार्यक्रमको कन्ट्याक्ट गरिसकेकी थिईन् । अघिल्लो वर्षबाटै यसपालिको तीजका लागि विभिन्न ठाउँमा स्टेज कार्यक्रम गर्न उनलाई ‘अफर’ आएका थिए । आएकामध्ये केहीलाई उनले ‘हुन्छ’ भनेर ‘कन्ट्रयाक्ट’ पनि गरिसकेकी थिईन् ।



तर, विश्वभर फैलिएको कोभिड १९ को महामारीका कारण हुने भनिएका कार्यक्रमहरु भएनन् । सुनिता भन्छिन्, ‘कन्ट्रयाक्ट भएका कार्यक्रमहरु पनि रोक्नुपर्ने भयो । यसपालिको अवस्था नै त्यस्तै भयो । कार्यक्रम गर्न सक्ने परिस्थिति पनि रहेन ।’

आम्दानीको मुख्य स्रोत रहेको स्टेज कार्यक्रम नभएपछि कमाई हुने कुरै भएन । सुनिताले संस्कृतिलाई निरन्तरता दिन यो वर्ष पनि केही तीजका गीत भने सार्वजनिक गरिन् । उनले केही हप्ता अघि एउटा र दुई दिनअघि एउटा गरी यो वर्ष दुई वटा तीजको गीत आफैंले निकालिन् । भन्छिन्, ‘पहिला यो सिजनमा गीत पनि थुप्रै रेकर्ड हुन्थ्यो । स्टेजमा कार्यक्रम पनि भ्याई नभ्याई हुनथ्यो । तर, यस पटक कोभिडले गर्दा स्टेज कार्यक्रम शुन्य भयो । गीतहरु पनि पहिलाको भन्दा निकै कम मात्रै निकाल्न पाईयो ।’

लोक गायनमा सक्रियहरुमध्ये धेरैको अवस्था सुनिताको जस्तै छ । अन्य लोक गायक–गायिकाहरुले पनि ‘कन्ट्रयाक्ट’ गरिसकेका कार्यक्रमहरु स्थगीत गर्नुपरेको छ ।

त्यसो त, लोकदोहोरी गायनमा सक्रिय रहेका कलाकारहरुको लागि तीज आम्दानी हुने मुख्य सिजनमै पर्छ । वर्षभरिमा अत्याधिक संख्यामा गीत गाउन पाउने, स्टेज कार्यक्रम पनि सोही मात्रामा हुने समय नै तीजको समय हो ।

तर, यस वर्ष त्यो समय त आयो, परिस्थिति भने फरक भईदियो । अरु बेलाको जस्तो न गीत नै अत्याधिक संख्यामा निकाल्न सक्ने अवस्था रह्यो, न स्टेजकै कार्यक्रमहरु हुने अवस्था भयो । लोक गीतको क्षेत्रमा सक्रिय रहेकाहरुलाई महामारीका कारण आर्थिक रुपमा निकै असर गरेको उनीहरु बताउँछन् ।

‘हरेक वर्ष तीजमा विभिन्न कार्यक्रम हुन्थे । त्यसमा व्यस्त भईन्थ्यो । तर, यो वर्ष कोभिडको कारण त्यो हुन सकेन ।’

लोकदोहोरी गायिका राधिका हमाल महामारीका कारण विश्व नै आक्रान्त भएको बेला लोक गायकगायिका मात्रै नभएर सबै समस्यामा परेको बताउँछिन् । यस वर्ष हमालले एक दर्जन जति तीज विशेष गीतहरु रेकर्ड गरेकी छिन् । युट्युबमार्फत् ती गीतहरु सार्वजनिक भईसकेका छन् । राधिकालाई यो वर्ष यत्ति गीत रेकर्ड गराउन पाउनु पनि भाग्य भएजस्तै लागेको छ । उनी भन्छिन्, ‘गीतहरु नै रेकर्ड गर्न नपाईएला भन्ने थियो । तर, यो स्थितिमा यति गीत रेकर्ड गर्न पाउनु पनि भाग्य जस्तै भयो ।’

गीत रेकर्ड गरेर संस्कृतिलाई निरन्तरता दिन पाएकोमा हमालले चित्त बुझाएकी छन् । ‘अहिले विश्वभरकै सबै मान्छे नै नाजुक अवस्थाबाट गुज्रिरहेका छन्’ उनी भन्छिन्, ‘यस्तो बेला हाम्रो बारेमा मात्रै सोचेर पनि हुँदैन । संस्कृतिलाई निरन्तरता दिन गीत रेकर्ड गराएका छौं ।’

हमालले यो वर्ष स्वदेश तथा विदेशका विभिन्न ठाउँमा फिक्स गरिएका कार्यक्रमहरुमा पनि जान पाईनन् । कमाईको मुख्य स्रोत तिजकै कार्यक्रम हुन नपाउँदा कमाई शुन्य भएको उनी बताउँछिन् । ‘यस पटक सबैजना घरभित्रै भईयो । पहिलाको जस्तो कार्यक्रम गर्न सक्ने अवस्था नै भएन’ उनी भन्छिन्, ‘केही गित गाएर युट्युबमा राखियो । तर, आम्दानी शुन्य जस्तै छ ।’

त्यस्तै गायिका पूर्णकला बिसीले तीज गीत व्यक्तिगत तवरमा निकालिन् । स्टेजमा चढेर गीत गाएपछि भएको कमाईले नै आफ्नो दैनिकी चलाउनु पर्ने भएकाले यो वर्ष निकै मारमा परेको उनी बताउँछिन् । भन्छिन्, ‘कमाई नहुँदा यस पटक हामीलाई निकै गाह्रो परेको छ ।’

स्टुडियोमा गएर केही गीत रेकर्ड त गराएकी छिन् पूर्णकलाले । तर, त्यसबाट हुने आम्दानी निकै थोरै छ । ‘मुख्य आम्दानीको स्रोत तीजमा हुने कार्यक्रमहरु हुन्थे, तर यस वर्ष केही कार्यक्रम भएनन्’ उनले भनिन्, ‘वर्षभरिमा हुने मुख्य आम्दानी नै नभएपछि अप्ठेरो पर्ने पक्का छ ।’

चाँडो भन्दा चाँडो अहिलेको महामारीबाट मुक्त भईयोस् भन्ने चाहना राखेकी छिन् पूर्णकलाले । ‘अरुहरुलाई झैँ लोक कलाकारहरुलाई पनि यसले असर गरेको छ, अझैं कहिलेसम्म यस्तो हुने हो थाहा छैन’ उनको कामना छ, ‘यो महामारीबाट मुक्त भएर छिटो भन्दा छिटो स्टेजमा फर्किन पाईयोस् ।’

अर्की लोक गायिका मञ्जु पौड्यालले यस वर्ष आफ्नो आवाजमा एउटा गीत र अरु लोक गायकसँग मिलेर केही गीत रेकर्ड गराइन् । तर, अन्य वर्षको जस्तो रमाईलो र रोचक यस वर्षको तीज भएन । उनी भन्छिन्, ‘हरेक वर्ष तीजमा विभिन्न कार्यक्रम हुन्थे । त्यसमा व्यस्त भईन्थ्यो । तर, यो वर्ष कोभिडको कारण त्यो हुन सकेन ।’

तीजका अवसरमा स्टेजका कार्यक्रमबाट हुने आम्दानी वर्षभरिमा हुने मुख्य आम्दानीको स्रोत थियो, पौड्यालको लागि । हरेक वर्ष तीजको समयमा उनी सांगीतिक यात्राका रुपमा विभिन्न देश पुग्थिन् । तीजको कोशेली लिएर कम्तिमा चार वटा देश पुग्थिन् उनी ।

ती कार्यक्रमबाट हुने आम्दानीले उनलाई वर्षभरिलाई पुग्थ्यो । तर, यस वर्ष न कार्यक्रम हुन सके, न पहिलाको जस्तो संख्यामा गीत नै उत्पादन भयो । मञ्जु भन्छिन्, ‘अघिल्ला वर्षहरुमा तीजको समयमा हुने आम्दानी नै मेरो कमाईको मुख्य स्रोत थियो । तर, यो वर्ष कार्यक्रमहरु नहुँदा आर्थिक रुपमा निकै असर गरेको छ ।’

‘कोभिड–१९ को महामारी त ढिलोचाँडो अन्त्य होला । तर, यसले पारेको असरबाट उम्किन हामी लोककलाकारलाई केही वर्ष लाग्न सक्छ ।’

यस वर्ष आफ्नो सोलो गीत निकाल्ने कि ननिकाल्ने भन्ने कुराको दोधारमा थिईन् मञ्जु । लोक गीतका लागि भिडियो बनाउँदा सरकारले तय गरेको मापदण्ड कायम गर्नुपर्ने हुन्छ । अर्थात्, भौतिक दुरी कायम गर्नुपर्ने हुन्छ । कलाकारहरुबीच भौतिक दुरी कायम गरेर सुटिङ गर्दा त्यो ‘भिजुअल’ आकर्षक हुँदैन ।

‘गीत नै पो ननिकाल्ने हो कि भन्ने लागेको थियो, तर भौतिक दुरीप्रति सचेत भएर सुरक्षित रुपमा गीत निकालियो’ यसरी गीत निकालेपनि त्यसबाट आर्थिक लाभ हुनेमा उनी विश्वस्त छैनन् । जस्तो कि, उनी भन्छिन्, ‘गीतबाट हुने आम्दानी कति नै पो हुन्छ र ? अहिलेसम्म आम्दानी सुन्य छ । यो स्थितिबाट निस्किन अझैं कति समय लाग्ने हो, थाहा छैन ।’

तीज पहिलाको जस्तो रोचक नभएपनि मञ्जुले यसवर्ष ‘भर्चुअल’ माध्यमबाट भने तीज मनाएकी छिन् । शुक्रबार दिउँसो सम्पर्क गर्दा उनले विभिन्न चार वटा देशमा भएका नेपालीहरुसँग ‘भिडियो कल’ मार्फत् तीज मनाईसकेकी थिईन् । भन्छिन्, ‘भर्चुअल माध्यमबाट तीज मनाएँ । तर, पहिलाको जस्तो रमझम र रोचक हुन पाएन ।’

तीजकै गीत मार्फत् स्रोता–दर्शक माझ परिचित लोक गायिका रमिला न्यौपानेले यस वर्ष एउटा मात्रै गीत निकालिन् । पशुपति शर्मासँग मिलेर यो वर्ष उनको आवाजमा एउटा मात्रै गीत सार्वजनिक भयो । अन्य कलाकारजस्तै उनीपनि यो तीजमा कतै जान पाइनन् ।

गीत निकालेपछि हुने स्टेज कार्यक्रम नै आम्दानीको मुख्य स्रोत हुने बताउँदै उनी भन्छिन्, ‘यस्ता कार्यक्रम यस वर्ष हुन नपाउँदा हामी कलाकारहरु निकै मारमा परेका छौं ।’ रमिलाका भनाईमा, कोभिड–१९ का कारण सम्पूर्ण क्षेत्र मारमा परेको छ । तर, बढी मारमा चाहिँ लोक कलाकारहरु परेका छन् ।

यो असरले कलाकारहरुको जीवनमा दीर्घकालसम्म प्रभाव पार्ने बताउँछिन् उनी । भन्छिन्, ‘कोभिड–१९ को महामारी त ढिलोचाँडो अन्त्य होला । तर, यसले पारेको असरबाट उम्किन हामी लोककलाकारलाई केही वर्ष लाग्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट