महामारीपछि के होला नेपाली फिल्मको अवस्था ?-Sutra News

महामारीपछि के होला नेपाली फिल्मको अवस्था ?

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं- कोभिड-१९ को महामारीका कारण नेपाली सिनेमा क्षेत्र अहिले ठप्प छ। हल सञ्चालकदेखि चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राविधिकलगायत चलचित्रकर्मीहरु कोरोना महामारीको मारमा परेका छन्। केही कलाकारले म्युजिक भिडियोमा व्यस्त हुने प्रयास त गरेका थिए। तर, बिहीबारबाट जारी निषेधाज्ञाले त्यसमा पनि ‘ब्रेक’ लागेको छ।



यो महामारीपछि हरेक क्षेत्रमा परिवर्तन हुने अनुमान गरिएको छ। इतिहासलाई फर्किएर हेर्ने हो भने पनि विभिन्न समयमा मानव सभ्यतामाथि आइपरेका महामारीपछि परिवर्तनहरु भएका छन्। अहिले विश्वभर फैलिएको कोरोना महामारीपछि पनि राजनीतिक, आर्थिक, सामाजिकदेखि मानिसले बाँच्ने जीवनशैलीमा पनि परिवर्तन आउने अनुमान गरिएको छ।

मानव सभ्यतामा नै परिवर्तन आउँदा चलचित्र वा मनोरञ्जन क्षेत्रमा परिवर्तन नआउँला भन्ने हुँदैन। विश्व सिनेमालाई नै हेर्ने हो भने विभिन्न समयमा भएका ठूला घटना, चाहे त्यो प्राकृतिक होस् वा कुनै युद्धजस्ता मानव निर्मित हिंसा, यी सबैपछि चलिचित्रको निर्माणदेखि चलचित्रको कथासम्म पनि परिवर्तन आएका छन्। नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने राणाकालको अन्त्य, जनयुद्ध लगायतका विभिन्न घट्नापछि केही मात्रामा भए पनि चलचित्रको निर्माण र कथामा परिवर्तन आएको छ।

महामारीलाई नै चलचित्रको कथामा प्रस्तुत गर्ने कुरा त छँदै छ, यसले चलचित्रको निर्माणदेखि आर्थिक पाटोमा पनि परिवर्तन ल्याउने अपेक्षा गर्छन्, फिल्म निर्देशक दिपेन्द्र के. खनाल। ‘म आफू पनि परिवर्तन आउने सोचमा नै छु,’ खनाल भन्छन्, ‘यो महामारीको समयमा मानिसले थुप्रै सिनेमा हेर्न भ्याएका छन्। अन्तर्राष्ट्रिय सिनेमा हेरेपछि उनीहरुमा बेग्लै रस पुगेको छ। यसले गर्दा हामीलाई चुनौति छ। चुनौतिसँगै परिवर्तन आउँछ होला भन्ने लागेको छ।’

नेपाली चलचित्र बजारलाई हेर्ने हो भने विधुतीय प्रसारणका माध्यमहरुमा धेरै पहुँच छैन। विश्व बजारमा नेपाली सिनेमाहरुको पहुँच शून्यजस्तै छ। अहिले निर्माताको पक्षबाट सिनेमा निर्माण गर्दा चाहिने बजेटको कुरा पनि उठिरहेको छ। खनाल भन्छन्, ‘अहिलेको अवस्थामा नेपाली चलचित्रकर्मीलाई थुप्रै चुनौति छन्। कथा थुप्रै छन्, ताजा कथाहरु छन्, यसलाई प्रस्तुती गर्ने कुरादेखि चलचित्रको निर्माणमा पनि परिवर्तन आउने आशा गरेको छु मैले।’

‘नेपाली चलचित्रलाई नियालेर हामी निर्देशकहरुले आत्मसमिक्षा गर्न सकेका छौं। त्यसैले पनि केही परिवर्तन आउँछ भन्ने लागेको छ।’

यो समयले नेपाली चलचित्रको कथा भन्ने शैलीमा पनि परिवर्तन ल्याउनुपर्ने खनाल बताउँछन्। खनाल आफू पनि यही विषयमा अध्ययन गरिरहेको बताउँछन्। अहिलेको समय चलचित्रकर्मीले पनि यी कुराहरु सिक्ने/बुझ्ने समय भएको छ। ‘म आफू पनि नेपाली चलचित्रमा परिवर्तन ल्याउने कुरामा अध्ययन गरिरहेको छु,’ उनी भन्छन्, ‘पक्कै पनि अन्य चलचित्रकर्मीले पनि गरिनै रहनुभएको होला। त्यसैले केही परिवर्तन आउनेमा आशावादी छु।’

अर्कातिर, चलचित्र निर्देशक विनोद पौड्याल भने महामारीपछि नेपाली सिनेमामा कथामा परिवर्तन आएपछि ती परिवर्तनले धेरै फरकपन नल्याउने बताउँछन्।

आगामी केही समय चलचित्र क्षेत्रमा अवस्था प्रतिकुल हुने भएकाले चलचित्रको निर्माण हुन नै लामो समय लाग्ने उनको अनुमान छ। उनी भन्छन्, ‘केही समयपछि केही नयाँ सोच आउँछ भन्नेमा विश्वास छ। चलचित्र क्षेत्रका कतिपय निर्देशकहरु फिल्टर हुन्छन् र त्यहाँबाट परिवर्तन आउने आशा छ।’

रहरले चलचित्र निर्देशनमा आएकाहरु महामारीपछि फिल्टर हुने र गम्भीर भई चलचित्र निर्माण गर्नेहरुले यसलाई अघि लैजानेमा केही आशावादी रहेको बताउँछन् पौड्याल।

‘जहिले पनि ठूलो घट्नापछि त्यसले केही परिवर्तन ल्याउँछ,’ उनी भन्छन्, ‘भूकम्पपछि पनि केही परिवर्तन आएको थियो। कतै न कतै यो महामारीपछि पनि सकरात्मक परिवर्तन आउनेमा आशावादी छु।’

चलचित्र निर्देशक उज्जवल घिमिरेले महामारीपछि चलचित्र उठ्न केही समय लाग्ने र त्यसपछि केही परिवर्तन आउने अनुमान गरेका छन्। महामारीका कारण भएको लकडाउनले प्रायः चलचित्र निर्देशकदेखि दर्शकहरु सबै घरमै बसेकाले विदेशी सिनेमाहरु धेरै हेरिसकेका छन्। यसकारण पनि नेपाली चलचित्रकर्मीहरुले नेपाली सिनेमाको स्तरलाई उठाएर केही माथि लैजानुपर्ने घिमिरेको धारणा छ।

‘घरमा बस्दा दर्शकहरुले विदेशी सिनेमा बढी हेरिरहेका छन्,’ उनले भने, ‘नेपालमा बनिरहेका सिनेमा भन्दा स्तरीय सिनेमा हेरिरहेका छन्। अब दर्शकलाई हलमा फर्काउन पनि नेपाली सिनेमाको स्तर उठाउन आवश्यक छ।’

निर्देशक घिमिरे चलचित्रकर्मीहरुले पनि यो समयमा आत्ममूल्याकंन गर्न समय पाएकाले चलचित्र बनाउँदा परिवर्तन आउनेमा आशावादी रहेको बताउँछन्।

लकडाउनको बेला चलचित्रकर्मीहरुले आफ्ना सिनेमा तथा तत्कालीन समयमा बनिरहेका नेपाली सिनेमा हेर्ने मौका पाएका छन्। यो बेला नेपाली सिनेमामा भएका गल्तीहरुलाई जान्ने बुझ्ने मौका मिलेको छ। चलचित्र निर्देशक दिनेश राउत अब बन्ने सिनेमामा पहिला भएका गल्तीहरुलाई कम गराएर नयाँ शैलीसहित सिनेमा बन्नुपर्ने बताउँछन्।

‘आगामी दिनमा चलचित्र बन्दा चलचित्रकर्मीहरुले केही गम्भीर भएर चलचित्र निर्माण गर्छन् भन्ने लागेको छ,’ उनी भन्छन्, ‘चलचित्रका कथामा पनि परिवर्तन आउँला। तर, चलचित्रमा प्रस्तुती र कथ्य शैलीमा बढी परिवर्तन आउँछ भन्ने लागेको छ।’

त्यसो त यो बेलामा चलचित्रकर्मीहरुमाथि पनि चुनौति थपिएको छ। चलचित्रकर्मीहरुले दर्शकलाई हल फर्काउन सक्ने सिनेमाको निर्माण गर्न आवश्यक छ। निर्देशक राउत भन्छन्, ‘नेपाली दर्शकले यो बेला विश्व सिनेमामा पहुँच पाएका छन्। ओटीटीमार्फत् विश्व सिनेमा हेरको छन्। अब नेपाली सिनेमामा पनि त्यस्तै स्तर खोज्छन्। त्यसैले पनि चलचित्रमा परिवर्तन आउनुपर्छ।’

चलचित्र निर्माणमा केही परिवर्तन आउनेमा आफू आशावादी भएको दिनेश बताउँछन्। यो समयले चलचित्रकर्मीहरुलाई पनि विश्व सिनेमासँग साक्षातकार गर्ने समय पाएकाले नेपाली सिनेमाका कमजोरीहरु पत्ता लगाउने मौका पाएको बताउँछन्।

‘निर्देशकदेखि कलाकार सबैले यो समयमा चलचित्र हेर्न भ्याएका छन्,’ उनी भन्छन्, ‘नेपाली चलचित्रलाई नियालेर हामी निर्देशकहरुले आत्मसमिक्षा गर्न सकेका छौं। त्यसैले पनि केही परिवर्तन आउँछ भन्ने लागेको छ।’

इतिहासमा हेर्ने हो भने महामारीपछि विश्वमा सिनेमा निर्माण हुँदा महामारीले पारेको असर, त्यसको सन्दर्भलाई कथामा रुपान्तरण गरेर प्रस्तुत गर्ने गरिन्छ। कुनै घट्नाले पारेको असर र त्यो घट्नासँग जोडिएका सन्दर्भहरुलाई लिएर चलचित्रको निर्माण गर्ने प्रचलन स्थापित नै छ।

अहिले विश्वभर फैलिएको कोरोना महामारीकै कुरा गर्ने हो भने केही चलचित्रहरु यसले मानव जीवनमा पारेको असर र यसका सन्दर्भलाई लिएर निर्माण हुने घोषणा भयसकेका छन्। भारतमा राम गोपाल बर्माको लेखन तथा अगस्थ्य मञ्जुको निर्देशनमा ‘कोरोना भाइरस’ नामको चलचित्र निर्माण हुने घोषणा भइसकेको छ भने अमेरिकी निर्देशक चार्ल्स ब्याण्डले निर्देशन तथा निर्माण गरेको ‘कोरोना जोम्बिज’ नामको चलचित्रको पोष्टर रिलिज भइसकेको छ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने निर्देशक खनालले कोरोना महामारीको सन्दर्भलाई लिएर दुई सिनेमा दर्ता गरिसकेका छन्- ‘लकडाउन’ र ‘चिसो मान्छे’  । जसमा कोरोना महामारीको समयलाई प्रस्तुत गरिनेछ। खनाल भन्छन्, ‘मैले यो समयका कथालाई लिएर दुई सिनेमाको काम सुरु गरिसकेको छु। महामारी सकिएपछि सिनेमा फ्लोरमा पनि जान्छ।’

खनाल आफूले जस्तै अन्य चलचित्रकर्मीहरुले पनि यो समयलाई सिनेमामा देखाउने सोचेकोमा आशावादी भएको बताउँछन्। भन्छन्, ‘मैले जस्तै अरुले सोच्नु भएको होला। त्यसैले पनि यो समयको कथा चलचित्रमा प्रस्तुत हुन्छ।’

निर्देशक दिनेश राउत पनि नेपाली सिनेमामा निर्माण हुने कथामा महामारी आउने बताउँछन्। ‘हामीसँग कथा पहिला पनि थियो र अहिले महामारी पनि छ,’ उनी भन्छन्, ‘कथा भएरमात्रै पनि हुँदैन। सिनेमालाई कुन स्तरको बनाउने भन्ने कुरा पनि हुन्छ।’

महामारीपछि कोरोनाका कारण परेको असरलाई लिएर सिनेमा बन्दा यो समयलाई राम्रोसँग प्रस्तुत गरिनुपर्ने उनको तर्क छ। उनी भन्छन्, ‘विषय आउन साथ थुप्रै सिनेमा बनिहाल्छन्। तर, प्रस्तुतीकरणदेखि निर्माणमा कथा भन्ने शैली उस्तै पुरानै भयो भने काम छैन। विषयवस्तु मात्रै नयाँ नभएर अब शैली र प्रस्तुतीमा पनि फरकपन ल्याउन आवश्यक छ।’

महामारीपछि चलचित्रमा यो समयको कथा आएपछि प्रस्तुतीकरण र चलचित्र निर्माण गर्दा भने स्तरीय सिनेमा बन्ला भन्ने आफूलाई नलागेको निर्देशक विनोद पौड्याल बताउँछन्।

‘भूकम्पपछि पनि सिनेमा बनेका थिए, तर त्यसमा राम्रो प्रस्तुती हुन सकेन,’ उनी भन्छन्, ‘यो महामारीपछि अहिलेको विषयवस्तुलाई लिएर पनि सिनेमा निर्माण त हुनेछन्। तर, नेपाली चलचित्रकर्मीहरुले त्यसमा न्याय गर्नेछन् र स्तरीय चलचित्रको निर्माण हुनेछ भन्नेमा मलाई विश्वास छैन।’

‘महामारीपछि पहिलाको जस्तो खर्च धेरै गरेर चलचित्र बनाउने भन्ने कुरा हुँदैन। सकेसम्म कम खर्चमा कन्टेन्टमा ध्यान दिएर सिनेमा निर्माण हुनुपर्छ भन्ने मलाई लाग्छ।’

अहिले कोरोना महामारीका कारण भएका समस्याहरु सबैले भोगिरहेका छन्, भोगेकै छन्। यो कुरालाई चलचित्रमा प्रस्तुती गर्दा सतही रुपमा भएमा त्यसको कुनै अर्थ नहुने पौड्यालको बुझाई छ। उनी भन्छन्, ‘पहिलाबाटै कुनै घट्नापछि बनेका नेपाली सिनेमामा त्यो घट्नाको आश्यलाई प्रस्तुत गर्न सकिएको देखिँदैन। जनयुद्धमा पनि त्यो भएन, भुकम्पपछि पनि त्यो भएन। यसपटक पनि त्यो हुन्छ जस्तो लाग्दैन।’

कोरोनाकालपछि चलचित्र निर्माण हुँदा यो समयको कथा अत्यधिक आउनसक्ने भए पनि त्यसमा स्तरीय सिनेमा बन्नेमा आफ्नो सन्देह रहेको बताउँछन् पौड्याल।

त्यसो त चलचित्रको निर्माण पक्षले बजेटलाई सस्तो बनाउनुपर्ने कुरा पनि पछिल्लो समय उठिरहेको छ। खनाल भने त्यसमा सहमत नभएको बताउँछन्। ‘आर्थिक पाटोमा पनि कोरोनाकालले असर गरेको छ,’ उनले भने, ‘तर आर्थिक पाटोमा असर परेको भन्दैमा चलचित्रको निर्माण गर्ने लगानी नै घटाउने भन्ने होइन। चलचित्रकर्मीलाई बरु पारिश्रमिक कम दिएर लगानीलाई कम गर्न सकिन्छ। तर, चलचित्रको बजेट नै कम गरेर पर्दामा देखाउने कुरालाई पनि कम लगानीमा बनाउने गर्नुहुँदैन।’

आर्थिक पाटोमा परिवर्तन आउनुपर्ने भन्ने कुरा उठिरहँदा नेपालको सन्दर्भमा भने सानो लगानीमा राम्रो चलचित्र बनाउनेतर्फ जानुपर्ने पौड्याल बताउँछन्। भन्छन्, ‘नेपालमा लगानी धेरै गरेर चलचित्र राम्रो बन्ने होइन्। क्रिएटिभ दिमाग हुने हो भने चलचत्रिलाई सीमित लगानीमा पनि बनाउन सकिन्छ। नेपालको सन्दर्भमा यही उपयुक्त पनि हुन्छ।’

पहिलाजस्तै आर्थिकरुपमा धेरै खर्च गरेर चलचित्र बनाउने शैलीमा परिवर्तन हुने उनको विश्वास छ। उनी भन्छन्, ‘महामारीपछि पहिलाको जस्तो खर्च धेरै गरेर चलचित्र बनाउने भन्ने कुरा हुँदैन। सकेसम्म कम खर्चमा कन्टेन्टमा ध्यान दिएर सिनेमा निर्माण हुनुपर्छ भन्ने मलाई लाग्छ।’

अर्कातिर, चलचित्रको बजेटलाई नै परिवर्तन गरेर कम गर्‍यो भने सिनेमाको स्तर पनि कम हुने उनको आँकलन छ। चलचित्र बनाउन चुनौति भएकाले लगानी गर्ने मानिस पनि अन्योलमा छन्। तर, चुनौति भएकै बेलामा अवसर पनि हुने बताउँछन् खनाल। भन्छन्, ‘सजिलोमा जसले पनि गरिरहेका हुन्छन्। अफ्ठ्यारोमा नै गरेर चलचित्रमा फरकपन ल्याउनुपर्ने आवश्यकता भएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट