पारिश्रमिकका लागि क्यानले आइसिसीलाई पठायो खेलाडीको सूची-Sutra News

पारिश्रमिकका लागि क्यानले आइसिसीलाई पठायो खेलाडीको सूची

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)लाई पठाएको छ। आइसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको नाम पठाएको हो।



सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आइसीसीलाई पठाइएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए। यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीको पारिश्रमिक आइसीसीले नै उपलब्ध गराउँदै आएको थियो। आइसीसीले खेलाडीको सूची मागे पछि क्यानले पठाएको उनले उल्लेख गरे।

आइसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत् पठाएको थियो। त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन्।

क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन श्रेणीमा विभाजन गरेको थियो। त्यही अनुसार नै २१ खेलाडीका लागि आइसीसीले पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो। सन् २०१९ मा आईसीसीले २२ खेलाडी र एक भिडियो एनालिस्टका लागि पारिश्रमिक पठाउन लागेको प्याकुरेलले जानकारी दिए। क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो।

सम्झौताअनुसार ‘ए’ श्रेणीमा रहेका खेलाडीले जनही रु ३५ हजार, ‘बी’ श्रेणीमा रहेका खेलाडीले जनही रु २५ हजार तथा ‘सी’ श्रेणीमा रहेका खेलाडीले जनही रु १५ हजार पारिश्रमिक पाउनेछन्। क्यानका अनुसार ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन्।

यस्तै बी श्रेणीमा करण केसी, शक्ति गौचन, आरिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललितसिंह भण्डारी तथा सी श्रेणीमा दिलिप नाथ, सुवास खकुरेल, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी र सागर पुन छन्। भिडियो एनालिस्टका रुपमा रमन शिवाकोटीको नाम आइसीसीलाई पठाइएको छ। यसपटक राजु रिजालको नाम थप गरिएको क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट