उद्यमी निर्देशकको स्वरोजगार बनाउने कथा ‘तीनपाते’-Sutra News

उद्यमी निर्देशकको स्वरोजगार बनाउने कथा ‘तीनपाते’

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- उनी चार कक्षा पढ्दै थिए, जतिबेला बुबा अचानक वैदेशिक रोजगारीका लागि मलेसिया उडे । बाल्यकालमै आफूबाट टाढिएका बुबा घर फर्किएलान् भनेर बाटो हेरिरहे । हेर्दाहेर्दै, महिना बिते, वर्ष बिते । बितेका समयले बुबा नहुनुको पीडा पनि महसुस गराए । विस्तारै स्मृतिबाट बुबाको आकृति धमिलिँदै गयो । ‘कस्ता थिए बुबा ?’ उनले बिर्सिसकेका थिए ।



यसरी बुबाको पर्खाइमा आधा दशक नै बित्यो ।

उनी कक्षा १२ पढ्दै थिए । एकदिन अचानक खबर पाए– बुबा घर फर्किनुभयो । वर्षौंपछि बुबालाई आँखा सामुन्य पाउँदा परिवारमा खुसी फर्कियो, तर उनी त्यो खुसीमा भिजेनन् । ‘सानैमा देखेको बुबालाई वर्षौंपछि देख्दा सम्झना नै धमिलिएको थियो । उस्तो खुसी भइनँ,’ उनी सुनाउँछन् ।

आफ्नो बुबा त फर्किए । तर उनले यो पनि देखेका छन्– गाउँमा धेरैका बुबा आजसम्म घर फर्किएका छैनन् ।
यही कारण बाल्यकालमै उनले एउटा प्रण गरे– विदेश नजाने ।

त्यही भएर उद्यमशीलता रोजे र सिर्जनशील बने । यही सिर्जनशील सोचले उनलाई आज व्यवसायीमात्र बनाएन, कुशल निर्देशकसमेत बनायो । २६ वर्षीय नवीन चौहान तिनै निर्देशक हुन्, जसले विदेश जानेहरूको लहरबाट पञ्छिएर स्वदेशमै सपना देख्न र उमार्न थाले ।

ऋण तिर्नुपर्ने व्यक्तिहरूबाट प्रहार सहनुपर्ने बाध्यता आइलाग्यो । ‘पैसा तिर्न बाँकी हुन्थ्यो । चिनेको मान्छेले भन्थे– तैँले त फलानोको ऋण तिरेको रैनछस् नि भनेर । यो मनोविज्ञानले दुःखी बनाउँदो रहेछ’
०००

यतिबेला नवीन चर्चामा छन् । त्यही चर्चाले उनलाई नयाँ परिचयसमेत दिलाएको छ– म्युजिक भिडियोमा कथा भन्ने निर्देशक ।

नवीन हरेक कुरामा नयाँपन र मौलिकताको खोजी गर्छन् । यही खोजीको क्रममा उनले भर्खरै एउटा प्रोजेक्ट सिध्याए– तीनपाते । १० मिनेट ११ सेकेण्डको म्युजिकल फिल्म ‘तीनपाते’ अधिकांश दर्शक र स्रोताका लागि मनप्रिय भएको छ । सामाजिक सञ्जाल र टिकटकमा छाएको छ । सकारात्मक प्रतिक्रियाले उनको फेसबुकका भित्ता भरिएका छन् । चौहान भन्छन्, ‘नसोचेका प्रतिक्रिया आइरहेका छन् । असीमित खुसी लागेको छ ।’
हुन त यसअघि पनि उनको चर्चा कम थिएन । ‘के माया लाग्छ र’ गीति भिडियोको युट्य्युब भ्युज नै एक करोड नाघिसकेको छ । निर्देशकीय क्षमताको प्रशंसा पनि भरपुर पाएका थिए । त्यसअिघको लुकिछिपी र बटौली गीतबाट पनि लोकप्रियता संगालेका थिए नवीनले ।

यद्यपि, ‘तीनपाते’को अगाडि आफ्ना अघिल्ला प्रोजेक्टहरु गौण राख्छन् उनी ।
किन ?

‘तीनपाते’मा एउटा स्वरोजगार व्यक्तिको कथा छ । उद्यम गरेर कसरी मान्छे सफल र सम्पन्न बन्न सक्छ भन्ने सम्भावनाको कथा छ । कृषि क्रान्तिको कथा छ ।
उनी भन्छन्, ‘यी सबैलाई समेटिएको तीनपातेमा मैले आफ्नै कथा भनेको छु ।’

जब भूकम्पले भत्कियो सपना

स्नातक पढिरहेको बेला नवीनसँग कुनै रोजगार थिएन । उनका धेरैजसो साथीहरू विदेशिएका थिए । अब उनीसँग पनि दुई विकल्पमात्र थिए– कि यतै केही गर्ने, कि विदेशिने ।

तर, उनलाई नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो । त्यसकारण पनि उनले प्रण गरेबमोजिम विदेश जाने सोच राखेनन् । जागिर नभएपछि उनले काठमाडौंमा अभावको जिन्दगी बाँचे । अर्थविनाको जीवनको ‘अर्थ’ थाहा पाए । ‘आम्दानी नभएपछि काठमाडौंको जीवनयापन कम कस्टकर हुँदैन । ‘मैले थुप्रै कष्टहरु त्यो समय भोगेँ,’ उनी सुनाउँछन् ।

त्यसपछि उनले स्वरोजगार बन्ने प्रयत्न गरे । प्रशस्त सम्भावनाको खोजी गरे । खोजीको क्रममै हो, साथीहरूसँग मिलेर व्यवसाय सुरु गरेको । ०७१ सालबाट लोकन्थलीस्थि ‘कोसेली नेपाल’ नामक कम्पनी सञ्चालन गरे नवीनले । कम्पनीमार्फत् उनीहरूले अर्गानिक ‘ग्रीन टी’ र गुन्द्रुकको मार्केटिङ गर्न थाले । व्यवसायले विस्तारै ‘पिकअप’ लिँदै थियो । तर, ०७२ वैशाख १२ को भूकम्पले उनीहरूको व्यवसायी सपनामा ठूलो धक्का लाग्यो । नचिताएको कुरो भइदियो । निकै पीडादायी क्षण त्यतिबेला थियो, जतिबेला उनको कम्पनी बन्द हुन पुग्यो ।

कम्पनी बन्द भएपछि उनले थुप्रै समस्याहरूको सामना गर्नुपर्‍यो । कम्पनी सञ्चालन गर्दा उनले ऋण लिएका थिए । त्यो ऋण चुकाउन नपाइ कपनी बन्द भयो । ऋण तिर्नुपर्ने व्यक्तिहरूबाट प्रहार सहनुपर्ने बाध्यता आइलाग्यो । ‘पैसा तिर्न बाँकी हुन्थ्यो । चिनेको मान्छेले भन्थे– तैँले त फलानोको ऋण तिरेको रैनछस् नि भनेर । यो मनोविज्ञानले दुःखी बनाउँदो रहेछ,’ उनी सम्झन्छन् ।

उनले त्यो अवस्थालाई सामना गरे । आफूलाई विश्वास गरे । ‘कसैले तातो रिस गरेर मरेर भए नि पैसा तिरेर देखाउँछु भन्ने मनस्थिति बनाउँछन् । त्यसरी कति विदेशिएको पनि देखेँ । तर, मैले यस्तो गर्नुहुँदैन भन्ने ठाने । स्वविवेकले काम गरे,’ उनी सुनाउँछन् ।

Tinpate nabin chauhan4.jpgछुर्पीले बदलेको जीवन
भूकम्पले कम्पनी बन्द भएपछि नवीनले नयाँ यात्रा तय गरे । त्यो थियो– साथीभाइ मिलेर खोलिएका थिएटरमा उनले व्यवस्थापन र पर्दापछाडि बसेर काम गरे ।
थिएटरमा काम गर्दैगर्दा एकजना दाजुले उनलाई काम अह¥याए, ‘तिमी त इलामतिरको मान्छे । मेरो दिदी मुम्बई बस्नुहुन्छ । त्यहाँ छुर्पी चाहिएको थियो, तिमीले व्यवस्था गर्नुपर्‍यो ।’

त्यसपछि उनले दाजुले भनेबमोजिम काम गरे । इलामबाट छुर्पी मगाइदिए । संयोगबस, छुर्पीमा एक जना व्यक्तिले अनुसन्धान गरिरहेका रहेछन् । ‘उहाँ मैले छुर्पी व्यवस्था गरेको थाहा पाएपछि म भएको ठाउँमा आउनुभयो । छुर्पीबारे अनुसन्धान गरौं भन्नुभयो । त्यतिबेलासम्म छुर्पीबारे केही थाहा थिएन । तैपनि गफ दिएँ,’ उनी सम्झन्छन् ।

विदेशमा छुर्पीको ठूलो बजार छ भन्ने कुरा नवीनलाई थाहा थिएन । उनै व्यक्तिमार्फत् त्यो कुरा ज्ञात भयो उनलाई । त्यसपछि नवीनले ६÷७ महिना छुर्पीको अनुसन्धान गरे । त्यो अनुसन्धानले ठूलै बल पु¥यायो उनलाई । र, त्यसपछि सुरु भयो– छुर्पी व्यवसाय । भिडियोमा उही छुर्पीको कथा छ । भिडियोमा प्रमुख पात्र रहेका मिलन खत्री छुर्पी व्यवसायको साझेदार हुन् । उनी इलाममै बस्छन् ।

‘हामीले उद्यमशीलतालाई पनि प्रोमोट गरौं, छुर्पीबारे प्रचार पनि गरौं भनेर पनि यो गीत बनायौं,’ उनी भन्छन् ।
छुर्पीबाट व्यवसायले नवीनलाई सन्तुष्टि दिएको छ । स्वदेशमै बसेर आफूलाई मनग्गे आम्दानी गर्न सकिएको बताँछन् उनी ।

‘तीनपाते’ कन्सेप्ट
नवीनले एक समय आफूलाई अयोग्य मेकर घोषणा गरे र यो क्षेत्रबाटै टाढिए । केही वर्षअघि सर्ट फिल्महरूमा काम गरेका नवीन आफ्नै कामबाट सन्तुष्ट हुन सकेनन् । त्यही असन्तुष्टिको कारण उनी दुई वर्ष यस क्षेत्रबाटै टाढिए । त्यहीताका हो उनी छुर्पी व्यवसायमा लागेको । ‘म मेकर हुन नसके पनि व्यवसायी त हुन सक्छु नि,’ त्यही सोचले व्यवसायमा लागेँ । तर, व्यवसाय गर्दै गएपछि उनी कला क्षेत्रसँग नियास्रिन थाले ।

यही नियास्रो मेटाउन नवीन र अकिंतबाबु अधिकारी मिलेर खोले ‘आर्टमाण्डु’ । सुरुमा नवीन यसको व्यवस्थापक थिए । त्यही क्रममा आर्टमाण्डुबाट ‘सम्झना’लाई भन्ने गीत निर्माण गर्नुथियो । उनीहरूले धेरै निर्देशकलाई आग्रह गरे । तर सबैसँग समझदारी हुन सकेन । त्यसपछि अकिंतले नवीनलाई नै निर्देशकको जिम्मेवारी दिए ।

नवीनलाई लाग्छ– सम्पन्नता भनेको पैसाले तौलिने कुरा होइन । आफ्नै माटोमा अडिन सक्नु पनि सम्पन्नताको सूचक हो । त्यसैले उनी आफ्नै माटोमा आफ्नै बाहुले उभिन चाहन्छन् । त्यही माटोमा उभिन उनी सिर्जनशील र उद्यमशील बरोबर हुन्छन् ।

सुरुमा आत्तिएका नवीनले पछि आँट गरे र भिडियो निर्देशन गरे । त्यो भिडियोको प्रतिक्रिया र प्रशंसाले नवीनलाई पुनः कला क्षेत्रमा निरन्तरता दिलायो । त्यसयता गरेका बटौली, लुकिछिपी, के माया लाग्छ र पछिको प्रोजेक्ट हो तीनपाते ।

तीनपातेमा उनले गरेको साधना तारिफयोग्य छ ।
अघिल्लो साल, असोजतिर । उनले भिजुअल कन्सेप्ट तयार गरे । भिडियोको कन्सेप्टअनुसारको शब्द चाहिएको थियो उनलाई । कथामा बाल्यकाल, बजार, संघर्ष, वैदेशिक रोजगार अनि स्वदेशी उद्यमले दिलाएको सम्पन्नताको कुरा शब्दमा समेट्नु थियो । यस्तो किसिमको शब्दको अपेक्षा नवीनले गीतकार हर्क साउदसँग गर्नसक्थे । उनले यही कुरा हर्कलाई सुनाए । हर्कले यो गीत लेख्न तीन महिना लगाए । हर्कले पहिलो ड्राफ्ट भोलिपल्टै लगेर बुझाए ।

नवीनलाई चित्त बुझेन । उनले कन्भिन्स गर्दै भने हर्कलाई, ‘दाइ यस्तो हैन, यसलाई अझै परिमार्जन गर्नुस् ।
हर्कले समय लगाएरै फेरि मिहेनत गरे । तीन महिनामा दुवै मिलेर गीतलाई फाइनल गरे ।

इलामको कथा भनिरहेका थिए उनले । उनलाई पूर्वेली भाका ल्याउनु थियो । उनले गायक सुजन चापागाईँकोे कम्पोज सुनेका थिए । त्यो आवाज निकै मन परेको थियो । उनले एकदिन सुजनलाई बोलाए, भिडियोबारे पनि भने । १० वटा ठेट पूर्वेली भाका दिए । सुजनले पनि तीन महिनै लगाए । गायिका विद्या तिवारीलाई पनि त्यसैगरी भिडियो थिम सुनाए र गीतमा तयारी गर्न लगाए । विद्याले ५ महिना जति लगाइन् ।

गीत रेकर्ड भयो । त्यसपछि सुटिङको लागि इलाम उनीहरू गए । ‘एउटा फिल्म गर्नका लागि जति स्रोत र पुँजी चाहिन्छ, हाम्रोमा त्यति नै प्रयोग भएको थियो,’ नवीन सुनाउँछन् ।
इलाममा सुटिङ गर्ने क्रममा स्थानीय संस्कृति र पर्यटनलाई पनि प्रबर्द्धन गरेका छन् उनले । ‘तीनपाते भनेको चियाको पात हो, हाम्रो उद्देश्य स्थानीय पर्यटलाई पनि उकास्नु हो,’ उनी भन्छन् ।
०००

नवीनलाई लाग्छ– सम्पन्नता भनेको पैसाले तौलिने कुरा होइन । आफ्नै माटोमा अडिन सक्नु पनि सम्पन्नताको सूचक हो । त्यसैले उनी आफ्नै माटोमा आफ्नै बाहुले उभिन चाहन्छन् । त्यही माटोमा उभिन उनी सिर्जनशील र उद्यमशील बरोबर हुन्छन् ।

त्यसकारण विदेशसँग सधैं तर्कन्छन्, विदेशी रवाफ देखाउनेसँग पनि तर्कन्छन् । ‘वैदेशिक रोजगारीले नै हामीलाई भर्चुअल बनाएको छ र हामीले हाम्रो अर्गानिकता गुमाएका छौं, ’ उनी सुनाउँछन्, ‘विदेश मोहले हामीले मौलिक सुगन्ध गुमाएका छौं ।’

त्यसैले नवीनको एउटै कामना छ– जे गरौँ यही माटोमा उभिएर गरौं । यहाँ सपना छ, त्यसलाई पूरा गर्ने सामर्थ्य पनि छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट