महिलाको वेदना पोख्ने आस्थाको नयाँ गीत ‘फाट्यो नि माइतीको चिनो’-Sutra News

महिलाको वेदना पोख्ने आस्थाको नयाँ गीत ‘फाट्यो नि माइतीको चिनो’

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

‘फाट्यो नि माइतीको चिनो
फाट्यो पछ्यौरीको कुना’
नेपालीमा एउटा उखान छ– माइतीको भनेपछि कुकुर पनि प्यारो ! यसको तात्पर्य हो जन्मघर र जन्मघरसँग जोडिएका हरेक कुरासँग नारीको स्नेह हुन्छ । दुई दशकअघिको समय, जतिबेला सञ्चार र यातयातको पहुँचमा सहजता थिएन । त्यतिबेला विवाहित छोरी न चाहेको समय माइत जान पाउँथिन्, न महिनौं पुग्दासम्म बा–आमासँग स्नेह साट्न पाउँथिन् । एउटी नारीको यो बाध्यात्मक अवस्था त्यो समय त थियो नै । तर, अहिले पनि उस्तै छ आम नारीको यो बाध्यात्मक अवस्था ।



गायिका आस्था राउतको आवाज रहेको ‘फाट्यो नि माइतीको चिनो’ले एउटी महिलाको माइतीसँगको सम्बन्धबारे मात्र बोल्दैन, एक्ली नारीले भोग्ने गरेको दुर्व्यवहार र उनको मनोदशाबारे उत्खनन् गरेको छ ।

सुरेश अधिकारीको शब्द/संगीत रहेको गीतलाई दृश्यमा उतारेका छन् शान थापाले । दृश्यमा कलाकार दिया मास्केको जीवन्त अभिनयले एउटी दुःखी नारीको चरित्रलाई यथार्थ चित्रण गरेको छ । ‘केही गीत मनको कलेजी मै बस्छन । यी साधारण हुन्छन्, साधारण जीवनकै दुःखसुख ,उकालीओराली भित्रबाट नै जन्मन्छन् र हुर्कन्छन्,’ दिया भन्छिन्, ‘‘फाट्यो माइतीको चिनोले’ मलाई उतै गाउँघरको परिवेश र चेलीबेटीको दैनिकीसँग जोडेको छ ।’ 

संगीतका विकृति/विसंगतीमाथि सधैँ खरो टिप्पणी राख्दै आइरहेकी आस्थाले महिलाको वेदना पोख्ने गीत तीजको उपहार स्वरुप ल्याएको बताइन् । ‘यो गीतमार्फत बुवा तथा दाजुभाईहरुले आफ्नो चेलीहरुको मनोभावनालाई अझै नजिकबाट बुझ्न र चिन्न सक्नुहुनेछ भन्ने अपेक्षा राखेको छु,’ उनले भनेकी छिन् ।

गीत हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट