‘रजतपट’का प्रस्तोताविरुद्ध पूजाको उजुरी, ‘छुद्र टिप्पणी’ भन्दै कलाकारको खेद-Sutra News

‘रजतपट’का प्रस्तोताविरुद्ध पूजाको उजुरी, ‘छुद्र टिप्पणी’ भन्दै कलाकारको खेद

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- अभिनेत्री पूजा शर्माले ‘रजतपट’ नामक कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन्। उनले आइतबार चलचित्र कलाकार संघमा पुगेर उजुरी दिएकी हुन्।



उजुरी दिन पूजासँगै गएका निर्देशक सुदर्शन थापाले कार्यक्रम प्रस्तोता सुवेदीले सार्वजनिक कार्यक्रममा गरेको टिप्पणी खेदजनक भएकाले कारबाहीको माग गर्दै उक्त उजुरी हालिएको जानकारी दिए।

‘कार्यक्रममा उहाँले गर्नुभएको टिप्पणी पुजाप्रति मात्रै नभएर सबै कलाकारप्रति हो। त्यसैले पुजाजीले उजुरी दिनुभएको हो। अब संघले के-कस्तो कारबाही गर्छ, हेर्न बाँकी छ,’ थापाले भने।

प्रकाशले भने गत बिहीबार प्रसारण भएको आफ्नो कार्यक्रममा पूजालाई लक्षित गर्दै भनेका छन्, ‘हामीले लिएको इन्टरभ्यु काटिदिनुपर्ने? महानायिका बनाइदिनुपर्ने? त्यो पनि दारा निस्किएकालाई?’

उक्त कार्यक्रम प्रसारण भइसकेपछि शुक्रबार अभिनेत्री पूजा शर्माले आफ्नो फेसबुकमार्फत् रजतपट नामक कार्यक्रमका प्रस्तोताले आफूलाई गरेको टिप्पणीको विरोध गरेकी थिइन्।

पूजाले आफूलाई प्राइम टेलिभिजनको अन्तर्वार्तामा बोलाउँदा काट्न भनिएको फुटेजलाई नकाटेर प्रसारण गरेकाले पछिल्लोपटक रजतपटका प्रस्तोता सुवेदीले पुनः अन्तर्वार्तामा बोलाउँदा नगएपछि रिस साँधेको कुरा फेसबुकमा उल्लेख गरेकी थिइन्। 

‘अघिल्लो अन्तर्वार्ताका कारण म मानसिक तनाव झेलिरहेकाले आउँदिन भन्न नपाउने? के टेलिभिजनमा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाय छैन? ट्रोलको शिकारदेखि यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन रहनुपर्ने?,’ उनले प्रश्न गरेकी छन्।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यस विषयमा सोमबार बैठक बस्ने निर्णय भएको जानकारी दिए। ‘कलाकार संघमा उजुरी आएको छ, अब भोलि संघका पदाधिकारीबीचको बैठकले यो विषयमा छलफल गर्नेछ,’ उनले भने, ‘यदि मानहानी गरिएको हो भन्ने पुष्टि भएमा नेपालको कानुनअनुसार कारबाही गराउन संघले पीडितलाई सहयोग गर्नेछ।’

पूजाको पक्षमा कलाकार
रजतपट कार्यक्रममा पूजालाई लक्षित गरेर गरिएको टिप्पणीलाई लिएर अहिले सिनेमा क्षेत्रका कलाकार, निर्देशकलगायतले आपत्ति जनाइरहेका छन्। अभिनेता दीपकराज गिरीले पूजाको स्टाट्स आएपछि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले भन्दै आएको कुरा, यस्तै भइरहेमा इन्टरभ्यु दिनेलाई पनि डर मर्दो हुन्छ।’ उनले एकले अर्कालाई गल्ती गरोस् भन्दा पनि एकले अर्काको गल्तीलाई सच्याइदिँदा पो हामी सबैको भलो हुन्थ्यो कि भन्दै लेखेका छन्।

त्यस्तै, निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्र र चलचित्रकर्मीलाई बदनाम गर्ने अधिकार प्रकाश सुवेदीलाई नभएको उल्लेख गरेका छन्। ‘वाह् स्वघोषित् वरिष्ठ पत्रकारज्यु, तपाईँको कार्यक्रम, बोल्ने भाषा, हाउभाउलाई मान्नैपर्छ’, फेसबुकमा उनको मत छ, ‘चलचित्र क्षेत्र र चलचित्रकर्मीलाई बदनाम गर्ने अधिकार तपाईँजस्तो पत्रुकारलाई छैन। इशारामा चल्ने केही कलाकार होलान्, तर सबैलाई त्यही दृष्टिले नहेर्नुहोला।’

त्यस्तै अभिनेत्री ऋचा शर्माले फेसबुकमा स्टाटस राख्दै रजतपटको अर्थ अहिले मैलो हुँदै गएकाले यसलाई धुनुपर्ने बताएकी छन्। उनले अभिनेत्री पूजा शर्मामाथि ‘रजतपट’ नामका कार्यक्रम प्रस्तोता रहेका प्रकाश सुवेदीले गरेको टिप्पणीमाथि आफ्नो घारणा राख्दै यस्तो भनेकी हुन्।

‘मैले बुझेको रजतपटको अर्थ चलचित्रको पर्दा हो,’ उनले फेसबुकमा लेखेकी छन्, ‘तर, अहिले यो मैलो भएको छ। सायद, धुनुपर्ने अवस्था आएको छ।’ ऋचाले प्रकाश सुवेदीले बोलेका शब्द राख्दै ती शब्द सुन्दा कस्तो लाग्छ भन्ने प्रश्न गरेकी छन्।

एउटा अभिनेत्री र अभिनेत्रीभन्दा पहिला नारीको हैसियतले यो समाजमा कसरी जीउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, के लगाउने, के बोल्ने, कसरी हिँड्ने लगायतका कुरालाई लिएर बारम्बार टिप्पणी र सुझाव आइरहेको देख्दा आफूलाई आक्रोश, हिन्ता र अस्थिरताले सताइरहेको उनले बताएकी छन्।

उनी लेख्छिन्, ‘मेरो शरीरको बनावट उनीहरुले चाहेको जस्तो बनाउँदा म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउँदा म मोटी, दारा भएकी भ्यात्त परेकी हुन्छु।’ कलाकार आफ्नो परिश्रम र क्षमताले कलाकार भएको र कसैले महानायिका बनाउनु नपर्ने भन्दै ऋचाले आफ्नो धारणा राखेकी छन्। ‘कठै हाम्रो समाज र ती अग्रज भनाउँदाहरुको सोच,’ उनी भन्छिन्, ‘ती कठैका सोचबीच म कठैबरा बन्दिनँ। चन्द्रमा आफ्नो दागबीच नै सुन्दर छ।’

त्यस्तै, अभिनेत्री केकी अधिकारीले ‘रजतपट’ कार्यक्रममा प्रस्तोताले महिला कलाकारमाथि गरेको शारीरिक टिप्पणी अत्यन्तै अशोभनीय र खेदजनक भएको बताएकी छन्। ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो इतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारीरिक बनावटमाथि गर्नुभएको छुद्र टिप्पणी अत्यन्तै अशोभनीय र खेदजनक छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘उँहाले प्रयोग गर्नुभएको भाषा, प्रस्तुत गर्नुभएको उदाहरण (दो दिन कि चाँदनी) र देखाउनु भएको तुज्जुकले वास्तवमा उहाँकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको छभन्दा फरक नपर्ला।’

त्यस्तै हास्यकलाकार मनोज गजुरेलले कसैको नितान्त निजी मामिलालाई गिजोलेर समाचार बनाउनु सञ्चारकर्म नहुने टिप्पणी गरेका छन्। ‘आरआर क्याम्पसमा हामीलाई ’मास कम्युनिकेशन’ पढाउनु हुने अग्रज गुरु आदरणीय लाल देउसा राईको भनाई आज झल्झल्ती याद आइरहेको छ,’ उनले देउसको भनाई उद्धृत गर्दै लेखेका छन्, ‘समाचार सुन्नेलेमात्र हैन, भन्नेले पनि सयपटक सोचेर बोल्नुपर्छ। कसैका नितान्त निजी मामलालाई गिजोलेर न्युज बनाउनु सञ्चारकर्म हैन। शारीरिक प्रसंग बटुलेर भ्युज बढाउनु पत्रकारिता मानिँदैन। कमजोर, रोगी, महिला, केटाकेटीलाई हेपेर, हियाएर समाचार बनाउनु भनेको पत्रकारिताको भ्रष्टीकरण हो।’

यो पनि पढ्नुस्:

अभिनेत्री पूजा शर्माको प्रश्न- पत्रकारले अशिष्ट,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट