बालकोटमा ओलीको ठट्टा- आज जेरीसहित बैठक बसियो, भोलि तितेकरेली-Sutra News

बालकोटमा ओलीको ठट्टा- आज जेरीसहित बैठक बसियो, भोलि तितेकरेली

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौं– पार्टीभित्रको जारी विवाद टुंग्याउन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सोमबारको बैठक पनि निष्कर्षविहीन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अचानक आफ्नो निवास बालकोट पुगे।



बिहान बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चलेको विवाद टुंग्याउन प्रचण्डसँग छलफल गरेका थिए। तर, बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

दिउँसो पौने एक बजे पत्नी राधिका शाक्यसहित बालकोट पुगेका ओलीले करिब आधा घण्टा समय बिताए र ठट्टा गरे। ठट्टाको विषय जारी नेकपा विवादमा शृंखलाबद्धरुपमा चलेका असफल बैठक थियो।

बालकोट पुगेका ओलीलाई उनकै निवासमा बसिरहेका पूर्वमन्त्री एवं नेकपा नेता गोकुल बास्कोटा र भक्तपुरकै नेकपा सांसद महेश बस्नेतले प्रचण्डसँग भएको बैठबारे सोधे-  पार्टीको कुरा के भयो ? ओलीले ठट्टा गर्दै भने- तात्‍तातो जेरी खाइयो।

दुबै जनाले फेरि सोधे- जेरी मिठो थियो ? ओलीले जवाफ फर्काए- अँ जेरी, जेरीजस्तै मिठो थियो।

‘जेरी मिठो भएको भए टुगिंहाल्यो नि,’ बास्कोटाले थपे। ओलीले यतिमात्रै भने- हेरम। ओलीले प्रचण्डसँगको वार्ता खासै उत्साहाजनक नभएको संकेत गरेपछि बास्कोटाले  भने- त्यसो भए भोलिको बैठकमा तितेकरेली खाने।

ओलीले फेरि सोधे- के भनेको त्यस्तो ? बास्कोटाले भने- आफैँ बुझ्नुहोस्।

पार्टीभित्रको समस्यालाई लिएर ओलीले आइतबार पनि प्रचण्डसँग छलफल गरेका थिए। हिजोको दुई नेताहरुबीचको बैठकबारे सिंहदरबारमा पत्रकारहरुलाई ‘ब्रिफिङ’ गर्दै नेता सुवास नेम्वाङले बैठक सकरात्मक भएको संकेतमा भनेका थिए- ‘आजको छलफल ‘ग्रिन टी’सहित भएको थियो। भोलिको बैठक जेरीसहित बस्ने भएको छ।’

Kp oli balkot_3.jpg

ग्रिन टी र जेरीबारे नेम्वाङको भनाइले सार्वजनिक बृत्तमा निकै चर्चा पाएपछि ओलीले पनि जेरीको प्रसँग निकाल्दै पार्टीभित्रको विवादबारे कुरा गरेका हुन्।

धेरैपछि आफ्नो निवास पुगेका ओलीले त्यहाँ करिब आधा घण्टा बिताएका थिए। त्यहाँ केही समय पार्टीका कार्यकर्तासँग गफिएपछि उनले कोरोनाविरुद्ध भक्तपुर जिल्ला प्रशासनले चालेका कदमबारे जानकारी लिएका थिए।

निवासबाट बालुवाटार फर्किनै लाग्दा उनको घरमा बसिरहेका पूर्वमन्त्री गोकुल बास्कोटाले सोधेका थिए-  स्थायीरुपमा घर कहिले फर्किनुहुन्छ? ओेलीको जवाफ थियो- अढाई वर्षपछि आउनुपर्ला।

ओली निवास छोड्दै बास्कोटा

अहिले ओली निवासमा नेता गोकुल बास्कोटा बासिरहेका छन्। बास्कोटाले आफ्नो घरको निर्माण सकिन लागेको भन्दै एक-डेढ महिनाभित्रै बालकोट निवास छोड्ने बताए।

घरको हेरचाह गरिदिनुभएकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभएन भन्ने सूत्रन्यूजको प्रश्नमा बास्कोटाले भने- धन्यवाद मलाई के भन्नुपर्‍यो र। मेरो घरको निर्माण सकिन लागेको छ। एक महिना जतिमा  सरिहाल्छु।’

Kp oli balkot_1.jpg

Kp oli balkot_4.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट